|

झापा : पछिल्लो पटक झापा क्षेत्र नं.५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद केपी शर्मा ओली बहुदलीय व्यवस्था पछिको संसदीय अभ्यासको शुरुवातदेखि नै शक्तिमा उदाएका नेता हुन्।

२०४८ को निर्वाचन देखिनै उनीलगातार यहाँबाट निर्वाचित हुँदै आए। पहिलो संविधानसभाको निर्वाचनमा पराजय भए पनि उनी केन्द्रिय राजनीति र शक्तिको केन्द्र भागमानै रहे। पहिलो पटक सांसदमा निर्वाचित भए पछि उनले झापाका चोक चोकमा गरेको भाषणको एउटा शव्दावली अझै प्रचलित छ ‘अब रतुवाको पाता फर्काइन्छ।’ 

रतुवा उनको गृहनगर दमकको पूर्वी भागबाट बग्ने खोला हो। यो हिउँदमा सुक्छ तर वर्षायाममा असाध्यै पीर गर्छ। हरेक वर्ष डुवान र कटानको समस्या निम्त्याउँछ। तर अझै सम्म पनि यसको पूर्ण नियन्त्रण नभएको भन्दै उनका आलोचकले ‘खोई त रतुवाको पाता फर्काएको’ पनि भन्ने गरेका छन्। तर करिव यो तीन दशकको अवधिमा रतुवा खोलाले गर्ने क्षति धेरै हदसम्म नियन्त्रणमा आएको छ। जसका प्रमाणका रुपमा देखिन्छन्, पुल आसपासमा नै हुने गरेको खेती र बिगतमा पानी बग्ने जमिनमा नै बनेका कंक्रिट संरचनाहरू। 

पहिलो पटक प्रधानमन्त्री बनेसँगै ओलीले आफ्नो गृहनगर र गृह क्षेत्रमा अधिक मात्रामा बजेटकेन्द्रित गरेको भन्दै आलोचना पनि भयो। राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी रहने वृहत आकारका योजना आफ्नै गृह क्षेत्रमा ल्याउँदा आलोचना खेपेका ओलीको गृहनगर यिनै आयोजना र योजनाका कारण अहिले मेची र कोशीको ‘ट्रान्जिट सिटी’को रुपमा विकास भइरहेको छ। 

यसरी जोडियो पूर्वोत्तर मोरङ  

दमकको उत्तर तर्फ चुरेसँग जोडिएको भू-भाग छ। यस्तै पश्चिममा मावाखोलाले मोरङसँग छुट्याएको छ भने पूर्वतर्फ रतुवा खोलाले झापा र इलामसँग अलग गरेको छ। यस्तै उत्तर तर्फ पनि इलाम नै जोडिन्छ। दमक भन्दा पुरानो बजारको रुपमा रहेको दमकसँग जोडिएको मोरङको मधुमल्ला अहिलेसम्म ग्रामीण बजारको रुपमा सीमित छ। तर मधुमल्ला भन्दापछि उदाएको दमक अहिले मेची र कोशीकै औद्योगिक, व्यवसायिक ‘चावी शहर की सिटी’ को रुपमा विकास भइरहेको छ। 

दमकलाई यो अवस्थामा ल्याउने मुख्य दुई ठूला पूर्वाधारका आयोजना भनेका दमकलाई मोरङसँग जोड्ने मावा पुल र दमक देखि पाँचथर जोड्ने दमक-चिसापानी–रवी सडक हुन्। यी मध्ये पुलको ओलीले उद्घाटन गरिसकेका छन् भने दमकदेखि पाँचथर जोड्ने सडकको पनि कालोपत्रे शिलान्यास भएको छ। यी दुई योजानाले पहाडसँग प्रत्यक्ष रुपमा दमकलाई जोडेको छ। यसको अवसर नजिकका जिल्लाबासीले पनि लिने थालेका छन्। 

दमक भन्दा दशकौं पुरानो बजार मधुमल्लालाई मुकाम बनाएको मोरङ मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले भने,‘मावामा पुल बनेपछि मिक्लाजुङ्बासीलाई मात्र होइन पूर्वी मोरङ र इलामका बासिन्दाको आर्थिकस्तर उकास्न समेत प्रत्यक्ष फाइदा पुग्ने छ।’ 

मोरङ् र इलाममा फल्ने कृषि उपजको सहज बजार व्यवस्थापनका लागि यो पुल उपयोगी बन्ने उनको भनाई छ। २५० मिटर लामो र साढे १० मिटर चौडाइको यो पुल ३० करोड २२ लाख ९१ हजार रुपैयाँको लागतमा बनेको हो। 

तीन चौथाइ बाटो छोटियो

पाँचथरको रविका बासिन्दालाई आफ्नो करेसामा फलेको स्कुस, आलु बेच्न राँकेबजार हुँदै इलाम घुमेर झापा पुग्न १७८ किलोमिटर दूरी पार गर्नु पर्थ्यो। 
समय पनि एक दिन वित्थ्यो। अब आफ्ना कृषि उपज बेच्न होस् वा उपचारका लागि झापा पुग्न ४७ किलोमिटर मात्र तय गर्नुपर्छ। गत वर्ष नै दमक-चिसापानी-रवि सडकको ट्र्याक खुलेपछि इलाम र दक्षिणी पाँचथरका बासिन्दाको सुविस्ता शुरु भएको बताउँछन्। 

इलामको तत्कालीन बाँझो गाविसका अध्यक्ष किरणकुमार राईले भने,'यस सडकको कालोपत्रे योजनाको पनि तीन प्याकेजमा ठेक्का लागि सकेको छ। काम शुरु भइरहेको छ।' 

सडक कालोपत्रे बनेपछि दमकको विकासको फाइदा इलाम र चुलाचुलीबासीले पनि लिन सक्ने उनको आशा छ। उनले भने, ‘दक्षिणी पाँचथर र पश्चिम इलामका बासिन्दाको जीवन र दैनिकी नै झापामा निर्भर छ। दैनिक उपभोग्य वस्तुदेखि उच्च शिक्षा अध्ययन् र उपचारका लागि झापा नआई हुँदैन। यसमा पनि दमक र रवि कालोपत्रेले जोडियो भने विकासका उपयोगका लागि हामीले झापाबासी भन्दा फरक महशुस गर्नु नपर्ला।’

थपिँदै योजना

भौतिक पूर्वाधारका दृष्टिकोणले दमकले आसपासको भूगोललाई आफ्नोनजिक पारेसँगै राष्ट्रिय महत्वका योजना थपिने क्रम पनि जारी छ। ६५ अर्व रुपैयाँ लागत अनुमान गरिएको औद्योगिक पार्क दमकसँगै जोडिएर निर्माणको प्रक्रियामा छ। दमक नगरपालिका प्रमुख रोमनाथ ओलीका विचारमा यो पार्क सञ्चालनमा आएपछि दमक मात्र नभई झापा नै औद्योगिक क्षेत्रको रुपमा विकास हुने विश्वास छ।

यहाँका उद्योग सञ्चालनमा आउँदा रोजगारीमार्फत नै ठूलो संख्यामा स्थानीयले प्रत्यक्ष फाइदा लिने र स्थानीयको जीवन स्तरमा पनि फाइदा पुग्ने उनको अपेक्षा छ। यस्तै दमकलाई मदन भण्डारी चुरे राष्ट्रिय राजमार्गसँग समेत जोडिने भए पछि यसको ‘कनेक्टिभिटी’ अझै बढ्ने छ।

यसको संकेत ४ फागुनमा दमकमा भएको सभामा संवोधनका क्रममा प्रधानमन्त्री ओलीले नै बताई सकेका छन्। त्यहाँ उनले भने, ‘हामीले पूर्वतर्फ सिम्ले जोड्ने पक्की पुल बनायौं। अलिक मास्तिर चुलाचुली (इलाम) सँग जोड्ने बन्छ। पश्चिममा मधुमल्ला (मोरङ) जोडिसक्यो। अब यही ठाउँमा मदन भण्डारी राष्ट्रिय राजमार्ग पनि आएर जोडिँदैछ।’ 

करिव २ अर्व रुपैयाँको लागतमा दमकमा भ्यु टावर समेत निर्माण हुँदैछ। यसले नगरलाई पर्यटकीय शहरको रुपमा स्थापित गराउन सघाउ पुर्‍याउने दमक ३ का वडाध्यक्ष नविन बरालले बताए। यस्तै सोही वडामा संसारकै अग्लो बुद्धको मूर्तिसहितको पार्क समेत बनाउने यस अघिनै घोषणा भइसकेको छ। यी वृहत योजनाले दमकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायसँग जोड्दै लगेको बरालले बताए। 

संघीय सरकारले वृहत योजना सञ्चालन गरेसँगै नगरले सहरी सुदृढीकरण तथा मानवीय संसाधनको विकासमा जोड दिएको नगर प्रवक्ता गीता अधिकारीको भनाई छ। नगर उपप्रमुख समेत रहेकी उनले भनिन् ‘दमकले सिंगो प्रदेश १ लाई नै आफुमा जोडिरहेको छ। त्यसैले यसलाई व्यवस्थित शहरको रुपमा विकास गर्नु आवश्यकता र चुनौती दुवै हो। यसका लागि नगरले आफ्ना योजनाको प्राथमिकता निर्धारण गरिसकेको छ।’

छिमेकीको अपेक्षा

दमकमा धमाधम विकासका संरचनाहरू निर्माण हुने क्रम बढेसँगै छिमेकी स्थानीय सरकारको अपेक्षा पनि दमकसँग बढेको छ। दमकलाई सवल र समृद्ध बनाउने क्रमसँगै छिमेकी स्थानीय तहमा पनि विकासको अवसर पुर्‍याउन खाँचो रहेको दमकसँगै जोडिएको इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए। उनले त प्रधानमन्त्री सहभागी भएकै कार्यक्रममा भने, ‘प्रधानमन्त्री ओलीले रतुवाको पाता फर्काउने भन्नु भएको थियो। फर्किदै पनि गएको छ। तर यो क्रम चुलाचुलीतर्फ पनि गरी दिनु पर्‍यो। चुलाचुलीबासी अझै रतुवाको कटानबाट पीडित छन्।’

फरक जिल्ला र फरक स्थानीय सरकारको प्रमुख भए पनि उनी घरदेखि गाउँपालिका कार्यालय पुग्न दिनहुँ दमकको बाटो भएर धाउँछन्। कतिपय स-साना खोला र होलीमा समेत पुल नहुँदा झापाका दुई वटा फरक स्थानीय सरकार दमक र कमल छिचोलेर चुलालुचीको पश्चिमी भागका बासिन्दा गाउँपालिका कार्यालयसम्म पुग्ने गरेका छन्।

यस्तै दमकसँगै जोडिएको झापाको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले दमक वृहत शहर भएको र यहाँ खपत हुने कृषि उपजको बजारीकरणलाई व्यवस्थापन गर्न सके छिमेकका गाउँपालिकाका किसानले पनि फाइदा लिन सक्ने बताइन्। 

कमल कृषिका लागि उर्वर क्षेत्र भएको र यहाँ अर्गानिक तथा जैविक खेतीले प्राथमिकता पाएको भन्दै मानव स्वास्थ्यका लागि उपयोगी उपजको बजार सुनिश्चित गर्न सके दमकसँग नजिकका ठाउँका किसानको जीवनस्तरमा पनि सुधार ल्याउन सकिने उनको अपेक्षा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.