|

सुनेथेँ,
हरेक युवामा एउटा कवि मर्छ

सोचिरहेछु, 
मेरो यौवनसँगै मरेको कवि  मेरो छोरामा बाँचोस्
मेरो छोरा कवि भइरहोस् ।

जिस्क्याइरहे अक्षरहरूले एकापसमा गुजुल्टिएर 
एकान्तबासमा घोत्लिएर रंगीन कल्पनामा डुबे पनि
लेखिएन,    
रक्सीमा मातिएर पनि छचल्किएन
चुरोटको कसमा तानिएर पनि फुरेन कविता ।

बन्दैन रहेछ कविता शब्दलाई हरफहरूमा बुनेर
कलम भाँचिदोरहेछ
कागज लतपतिदोँरहेछ 
बैंसको कवि मरिसकेपछि नलेखिँदोरहेछ कविता ।

आँसु मरुभूमिमा मृगतृष्णा टल्किँदोरहेछ
हाँसो मसानमा खरानी उड्दोरहेछ
घाम अवचेतनको पातालमा चिसिँदोरहेछ
पानी हिमपहिरोमा चट्टान घोच्दोरहेछ 
हुरी पनि विनास देखेर ठिंग उभिँदोरहेछ
बतासको झन् के कुरा असिना हिर्काउँदोरहेछ 
कविता प्रकट हुनु भनेको,
क्षितिजमा लिस्‍नु अड्याएर आकाश उक्लनुरहेछ ।

विगत हल्लिरह्यो
आगत धमिलिरह्यो
मन र मस्तिष्क बाझिरहे।

नलेखिँदोरहेछ कविता बैंसको कवि मरिसकेपछि।

ज्ञानको सागरमा डुबुल्की लगाउनुरहेछ 
अनुभवको खानी खोतल्नुरहेछ
जीवनको लक्ष्य भेट्टाउनु रहेछ।
कविता सिर्जनु भनेको
कोइला तिखारेर हिरा बनाउनु रहेछ।

चाहन्छु,
मेरो यौवनसँगै मरेको कवि  मेरो छोरामा बाँचोस्
मेरो छोरो कवि भइरहोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.