|

बागलुङ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बागलुङ नगरपालिका-७ कालीमाटी घर भएका ४० वर्षीय लालबहादुर नेपालीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

२४ दिनअघि पक्राउ परेर हिरासतमा रहेका नेपालीले ध्वंसात्मक गतिविधिमा नलाग्ने, स्वतन्त्र भएर कृषि तथा पशुपालन गरेर बस्ने प्रतिबद्धता जनाएपछि प्रशासनले उनलाई ६ हजार धरौटीमा रिहाई गरेको हो।

बिहीबार प्रशासनमा आयोजित कार्यक्रममा नेपालीले पार्टी परित्याग गरेर स्वतन्त्र बस्ने प्रतिबद्धतासहितको विज्ञप्ति प्रकाशितसमेत गरेका छन्। उनले उक्त विज्ञप्तिसहित प्रशासनले तयार पारेको पत्रमा पनि हस्ताक्षर गरेका छन्। २०७५ सालको फागुनदेखि सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई प्रतिवन्ध लगाएको थियो।

उनले अबदेखि प्रचलित कानून र नेपालको संविधानविपरीतका काम नगर्ने बताएका छन्। उनलाई तारेखमा छाडिएको प्रशासनले जनाएको छ। प्रशासनमा आएकी नेपालीकी श्रीमती गीता नेपाली र दाइहरू जीतबहादुर परियार र दलबहादुर दमैले पनि पारिवारिक रूपमा अन्य क्रियाकलपमा लाग्न नदिने गरी बुझेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.