|

काठमाडौं : एक ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ। भारतको बामर लरी एन्ड कम्पनी लिमिटेडले उत्पादन गर्दै आएको लुब्रिकेन्ट नेपालमा कन्काई आयल सप्लायर्सले लुब्रिकेन्ट औपचारिक रूपमा भित्र्याएको हो।

बिहीबार एक कार्यक्रमबीच बामर लरी एन्ड कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले संयुक्त रूपमा बामरोल लुब्रिकेन्ट सार्वजनिक गरेका हुन्।

सो अवसरमा बेनर्जी र सिंहले बामरोल लुब्रिकेन्टको प्राविधिक पक्ष र यसको गुणस्तरीयता तथा भारतलगायतका देशमा यसको बजारको अवस्था वारेमा जानकारी प्रदान गरेका थिए।

बेनर्जीले ग्रुप टु बेस आयलबाट बनेका लुब्रिकेन्ट र ग्रिज भएका तथा कमिन्स यूएसए र भल्वो स्विडेनबाट प्रमाणित भएकाले बामरोल लुब्रिकेन्ट आफैँमा गुणस्तरीय र प्रतिष्ठित भएको बताए। उनले यी लुब्रिकेन्ट तथा ग्रिजमा १० विशेषता भएका डेकाट्रोल टेक्नोलोजी प्रयोग गरिएको बताए। सिंहले यो वर्षभित्रै नेपालका सबै रिटेल पसल र मेकानिक्स वर्कसपहरूमा बामरोल लुब्रिकेन्ट उपलब्ध हुने बताए।

कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयलले गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउने चाहनाअनुसार नै बामरोल रोजेको बताए। उनले नेपाली अटोमोबाइल व्यवसायी, मेकानिक्स र गाडी धनीहरूको सेवामा सदैव समर्पित रहेको स्मरण गराउँदै आगामी दिनमा समेत सबैको साथ रहने अपेक्षा गरे।

बामर लरी एन्ड कम्पनीको स्थापना सन् १८६७ को फेब्रुअरी १ मा भएको थियो। स्कटल्यान्डका जर्ज स्टेफन बामर र अलेक्जेर लरीले सो कम्पनीको स्थापना गरेका थिए। लुब्रिकेन्ट र ग्रिजका साथै ट्राभल एन्ड भ्याकेसन, इन्डष्ट्रियल प्याकेजिङ, लजिस्टिक सर्भिस आदि विभिन्न क्षेत्रमा यो कम्पनीका उत्पादन उपलब्ध छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.