|

काठमाडौं :  सुन्धाराकी लक्की रिजाल हतारमा थिइन्। उनलाई लाजिम्पाटबाट थापाथली जानुपर्ने  थियो। काठमाडौंको बढ्दो सवारी चापले बढाएको जाममा थिइन्। गन्तब्य पुग्नुपर्ने दबाबसँगै उनले छिटो पुग्ने साधनका रुमा ट्याक्सीलाई रोजिन्।

बा २ ज ४०७१ नम्बरको ट्याक्सी आयो, हातले इशारा गरिन्। एकै ट्याक्सीमा लगेज पछाडि राखे उनीसहित पाँचजना चढे। 

थापथाली पुगेपछि चालक नवीन सिग्देललाई भाडा तिरेर उनी आफ्नो काममा लागिन्। अर्का यात्रु बोकेर नयाँबानेश्वरतिर हुइँकिए उनी। हतारको शहर हो काठमाडौं, कोही फुर्सदिला भेटिँदैनन्। हतारैहतारमा मानिसले धेरै कुरा छुटाउँछ, कसैले गन्तब्य कसैले साथी कसैले समय। यो हतारको यात्रा केही न केही भेटिन्छ। ट्याक्सी चालक सिग्देलले नयाँ यात्रु भेटे। थापाथलीमा उत्रिएकी लक्की त्यसदिन अनलक्की बनिन्। आफ्नो लगेज उनले ट्याक्सीमै छुटाइन्।

 कथा यहीँनेर आएर जोडिन्छ। लगेज हराएपछि लक्कीले तत्कालै छुटेको सामान खोजिदिन  प्रहरी गुहारिन्। सिग्देल बानेश्वरमा यात्रु छोडेर बसुन्धरातिर लागिसकेका थिए। बसुन्धरा पुगेर उनको ट्याक्सी रोकियो।

त्यही बेला उनले ट्याक्सी सफा गरे। तर लक्कीले सुन्धाराबाट चढ्दा राखेको लगेज त्यहीँ भेटियो। लगेज देखेपछि उनी आत्तिए। 'यो लगेज देखेपछि सिधै प्रहरीलाई फोन गरिहालेँ,' उनले सुनाए। नवीनले ट्राफिक हट लाइन १०३ मा जानकारी गराई खोजतलास शाखामा सामान बुझाएका थिए।

त्यो लगेजमा के थियो। उनलाई चासो थिएन। तर लगेज छुटेपछि सम्बन्धित व्यक्तीलाई बुझाउनुपर्ने आफ्नो कर्तव्य ठाने।

त्यतिबेलासम्म प्रहरीले पनि सामानको खोजी गर्न सिसिक्यामराको निगरानीबाट अनुसन्धान गर्दै थियो। ट्याक्सी चालकले नै लगेज भेट्टाएको खबर गरेपछि प्रहरीलाई सहज भयो।

उनी स्वयम् ट्राफिक महाशाखा रामशाहपथ आए। अनि लगेज त्यहीँ बुझाए। अब लक्की यहाँनेर साँच्चिकै लक्की ठहरिइन्। हराएको लगेज ट्याक्सी चालक नवीनले त्यहीँ ल्याइदिएका थिए। त्यसपछि लक्कीले चालकको इमानको प्रशसंसा गर्दै एउटा सुनको सिक्री उपहार दिइन्।

लगेजलाई खोलेर उनले हेरेनन्। 'समाचार पढेर लगेजभित्र के रहेछ थाहा पाएँ', उनी खिस्स हाँस्दै भन्छन्, 'समाचारमा पढे अनुसार लगेजमा अन्दाजी १३ तोला बराबरको सुनको गरगहना, ल्यापटप, महत्वपुर्ण मेडिकलको कागजपत्र र लत्ता कपडा रहेछन्।'

घटनापछि उनी सामाजिक सञ्जालमा छाएका छन्। तर उनी भने यसलाई खासै नौलो मान्दैनन्।  ट्याक्सी चलाएको २ वर्षको अवधिमा  धेरै यात्रुको सामान ट्याक्सीमा छुटेका छन्। उनले सुरक्षित फिर्ता गरेका पनि छन्। 'कसैको भुलवस् छुटेका सामान फिर्ता गर्नु हाम्रो दायित्व हो। आफ्नो सामान हराउँदा जस्तो तनाव हुन्छ। अरुको सामान हराउँदा  त्यस्तै तनावबाट गुज्रिरहेका हुन्छन् नी', उनी थप्छन्, 'म चाहन्छु कसैको सामान पनि कतै नछुटोस्। नहराओस्।' 

यो घटनाको केही दिनपछि पंक्तिकारले फोन गर्दा सिग्देल कुनै यात्रुलाई गन्तव्यमा पुर्‍याउन एयरपोर्ट जाँदै रहेछन्। उनलाई पंक्तिकारले भेट्ने इच्छा गरेपछि एयरपोर्ट आउन आग्रह गरे। एयरपोर्ट पुग्नेबितिक्कै उनले यात्रु भेट्टाए। पंक्तिकारलाई सगैँ यात्रा गर्न अनुरोध गरे। त्यसपश्चात तिनै इमानी चालकसँग केही घण्टाका लागि काठमाडौं चक्कर लगाउन निस्किएँ।

एअरपोर्ट गौशाला पुगिरहदाँ उनी हासिरहेँ। अनि सुरु गरे जीवनको कथा।

उनी १७ वर्षको उमेर  बर्दियाबाट काठमाडौं आएका हुन्। काठमाडौं आउनुको एउटै उद्देश्य थियो पैसा कमाउने। त्यतिबेलासम्म उनले उच्च माध्यामिक शिक्षा पार गरिसकेका थिए। बुबाआमा किसानी गर्थे। तीन सन्तानमध्ये घरको जेठो सन्तान उनी। बढ्दो महँगी र भाइबैनी पढाउनुपर्ने थोरबहुत जिम्मेवारी थियो उनमा। उनी भन्छन्, 'काठमाडौंमा पैसा कमाउन आएको थिएँ। त्यसबेला घरको जिम्मेवारी बहन गर्ने अवस्था त आइसकेको थिएन। तर समयले जिम्मेवारबोध हुनुपर्छ भन्ने सिकाउँदै थियो।'

उनी प्रहरीमा भर्ती हुन चाहन्थे। प्रहरीको काम गर्ने शैली र उनीहरूले निर्वाह गरेको जिम्मेवारीबाट उनी लोभिन्थे। तर प्रहरी हुन सकेनन्। बाध्यता र नियतिले प्रहरी हुन नसके पनि प्रहरी देख्दा आज पनि आफ्नो मनको कुनामा रहेको मृत सपना ब्युँझिरहन्छ। गाडी बालुवाटार हुँदै अगाडी बढ्यो। प्रहरी हुन नपाए पनि निजामती कर्मचारी हुने सपना बोकेर उनले लोकसेवा पढे। त्यसमा पनि उनी सफल भएनन्।

काठमाडौंमा सुरुवाती चरणमा उनी चाउमिन फ्याक्ट्रीमा काम गरे। त्यहाँ एक वर्ष काम गरेपछि उनले सोलार कम्पनीमा  तीन वर्ष काम गरे। त्यहीबीचमा ब्याचलर पढे। 

केही महिना बेरोजगार भएर बसे। युट्युवमै हेरेर ट्याक्सी चलाउने सैद्धान्तिक सिप सिके। अन्तत: उनी काठमाडौं सहरमा ट्याक्सी चालक बने।

उनी दैनिक साहुलाई १५ सय रुपैयाँ बुझाउँछन्। मासिक ३५ हजार हाराहारी कमाउँछन्। उनको लक्ष्य ठूलो छैन। भाइ एमबिबिएस तयारिमा लागेका छन्। बैनी लोकसेवाको तयारीमा छिन्। 'बैनी निजामती कर्मचारी बनोस्। भाइ डाक्टर बनोस्। मेरो दबाबमा होइन नी। उनीहरूको आफ्नै रहरमा बनुन्।' त्यसपछि उनको अनुहारमा उर्जा देखियो।

उनले आफ्नो विगतका पत्र पल्टाउँदै गए। यात्रु ग्राण्डी हस्पिटल झरिन्। पुन: अर्की यात्रु सातदोबाटोका लागि ट्याक्सीमा चढिन्। ट्याक्सीको रफतार बढ्यो। एकोहोरो सडकतर्फ हेरिरहेका उनले काठमाडौंमा  सवारी चाप बढिरहेको बताए।

चाकललाई समाजले हेर्ने दृष्टिकोणले भने कहिलेकाही खिन्न हुने बताउँछन् उनी। यहाँ एकजनाले गल्ती गर्छन्। दोष पुरै चालकमाथि लगाउने गरिन्छ।

चालकहरूको पनि स्वाभिमान हुन्छ। इज्जत हुन्छ। पेशालाई सम्मान दिनुपर्ने उनको बुझाई छ। 'यहाँ गल्ती नगर्ने व्यक्ती को होला। कहिलेकाही नियतीले पनि मान्छेले झुक्किएर गल्ती गरिहाल्छ नी।'

बसुन्धरातर्फ ट्याक्सी आउँदै थियो। एकछिन ट्याक्सी जाममा पर्‍यो। ट्रफिकले सवारी जाम खुलाउदै थिए। ट्राफिकले मुस्कानसहित अगाडी बढ्न निर्देशन दिए। उनी अगाडी बढे। 'हेर्नुस मुस्कानसहितको सेवा हो त्यो।' ट्राफिकतिर नजर डुलाउँदै उनी बोले।

ट्राफिक प्रहरी र चालकको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ। तर यहाँ उल्टो भइरहेको छ। ट्राफिक देख्नेबितिक्कै चालकको मुड खराब भइहाल्छ। चालक देखे ट्राफिकको हाकिमी पारा उच्च बिन्दुमा पुग्छ। यस कुरामा भने सिग्देल खराबी सबैमा भएको बताउँछन्। 'यहाँ प्रवृती खराब हो। केही व्यक्तीको खराबीलाई सिगो पेशासँग जोड्नुहुदैँन। यहाँ कोही कसैलाई अप्ट्यारो पर्नेबितिक्कै गुहार्ने प्रहरीलाई नै हो।'

कुराको बिट मार्ने समय भइसकेको थियो। उनले अब जीवनको लक्ष्य सुनाउन भ्याए। 'देशको राजनितिले नागरिकलाई निर्देशित गर्छ। सरकार चालकमैत्री भइदिए। जीवन स्टेयरिङ घुमाएर जानेछ। नत्र विदेश जानको लागि पासपोर्ट तयारी अवस्थामा छ।'

सिग्देलले वसुन्धराबाट महाराजगंज लागे। पंक्तिकार यो शहरको ईमान्दार चालकसँग बिताएको रोचक दुई घण्टा यात्रा सम्झदैँ कार्यालय लाग्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.