|

बागलुङ : नारायणस्थानमा रहेको बलेवा विमानस्थल शुक्रवारदेखि पक्की धावनमार्ग निर्माणको काम थालिएको छ।

बागलुङ नगरपालिका-१४ का अध्यक्ष चक्रबहादुर खत्रीले एक कार्यक्रमकाबीच पक्की धावनमार्ग निर्माणको शिलान्यास गरे। उनले बर्षौंदेखि रोकिएको बलेवा विमानस्थल दिगो रूपमा संचालनको लागि बाटो खुलेको समेत बताए।

गत वर्ष बलेवा विमानस्थल संचालनमा ल्याइएको थियो। तर, उक्त विमानस्थलसम्म पुग्ने सडक र विमानस्थलसमेत कच्ची भएकोले उडान प्रभावित थियो। पानी परेपछि उडान रोकिएको थियो। वर्षातमा कालीगण्डकी करिडोर हिलाम्मे भएकोले सवारी साधन पुग्न नसकेपछि उडानको औचित्य नभई रोकिएको हो।

अहिले भने मालढुंगादेखि कुश्मीसेरा जाने सडकको पानी ट्यांकीसम्म कालोपत्रे गर्ने काम भइरहेको छ। करिडोरले पनि आगामी वर्ष पक्की बनाउन तयारी गरेकोले मैदानसमेत पक्की बनेपछि जहाज संचालन सहज हुने बताइएको हो।

नेपाल नागरिक उड्ययन प्राधिकरणको ७ करोड बजेटमा ७ सय मीटर लामो र २३ मीटर चौडा मैदान कालोपत्रे गरिने खत्रीले जानकारी दिए। त्यसका लागि बलेवामा बुल्डोजर पनि पुगेको छ। बुल्डोजरले पक्की धावनमार्गको काम हुने खण्डलाई खनेर गहिरो बनाएपछि ढुंगा गिटी बिच्याउने र कालोपत्रे गर्ने काम पनि सुरु हुन्छ।

काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिले यो मैदान निर्माण गर्ने जिम्मा पाएको हो। ७ करोड लागतमा आगामी दशैंसम्ममा काम सक्ने गरी जिम्मा लिएको ठेकेदार कम्पनीले बताएको छ।

खत्रीले पनि एक वर्षमा काम सक्नेगरी जिम्मा लिएकोले छिटै काम हुने बताए। २०४९/०५० सालमा बागलुङ पोखरा राजमार्ग बनेपछि यहाँ जहाज आउन छाडेको थियो। पटकपटक नेताहरुले जहाज ल्याएर बसालेपनि नियमित उडान भने भएको थिएन। सडकको स्तरउन्नति गर्ने र नियमित उडानको ग्यारेन्टी भएमा यहाँ नियमित जहाज चल्न सक्ने स्थानीयको बुझाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.