कृषकले बीउ आलु पनि उठाउन सकेनन्

|

कञ्चनपुर : कञ्चनपुरमा आलुको उत्पादनमा यो वर्ष ३० प्रतिशतले गिरावट आएको छ। हिउँदे झरी र डढुवा रोगको संक्रमणका कारण आलुको उत्पादनमा गिरावट आएको हो। व्यावसायिक रूपमा आलु खेती गर्दै आएका किसानले लागत खर्चसमेत उठाउन सकेका छैनन्।

आलुका दाना लाग्ने बेलादेखि नै आलुका बोटहरू मरेपछि आलुको उत्पादनमा कमी आएको कृषकले बताएका छन्। व्यावसायिक रूपमा आलु खेती गर्दै आएका शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका किसान लक्ष्मण चौधरीले १० कठ्ठा जग्गामा मुस्किलले एक बोरी मात्रै आलु उत्पादन भएको बताए।

'आलुका दाना लाग्ने क्रममै लगातार वर्षा भएपछि बोटहरू मर्न थालेका थिए,' उनले भने, ‘वर्षा हटेपछि डढुवा लागेकाले सबै आलु बालीमै नोक्सनी भयो।’ दश कठ्ठा जग्गामा आलु खेतीका लागि रोपिएको बीउसमेत उत्पादन नभएको उनले बताए।

'बीउ मात्रै पाँच बोरी रोपिएकोमा त्यो पनि उत्पादन भएको छैन,' उनले भने, ‘गत वर्ष मात्रै ३० क्विन्टल आलु उत्पादन भएको थियो। यस वर्ष एक बोरी पनि आलु उत्पादन भएको छैन।’

मल, किटनाशक र सिँचाइको खर्चसमेत उठाउन नसकिएको उनको भनाइ छ। अर्का किसान सीताराम चौधरीले बारीमा रोपेको आलु पूरै नोक्सान भएपछि घरकै तरकारीका लागि आलु भारतबाट खरिद गर्नुपर्ने अवस्था आएको बताए। 

बेलौरीको सिंहपुरका किसान रामआश्रय रानाले समेत खेतमा लगाएको आलुका बोट नै मरेपछि आलुको उत्पादन लिन नसकेको बताए।  ‘आलुका बोटमा दाना नै नलागेपछि खन्नका लागि खेतमै गएको छैन’ उनले भने। 

आलुको उत्पादनमा ह्रास आएपछि बजारमा आलुको मूल्यमा बढोत्तरी भएको छ। तरकारी व्यवसायीहरूका अनुसार स्थानीय किसानले उत्पादन गर्ने आलु बजारमा थोरै मात्रै आएपछि भारतीय आलुमा निर्भर रहनु परेको छ। भारतीय व्यापारीले मनोमानी रूपमा मूल्यवृद्धि गरी आलु बिक्री गर्दै आएका छन्। जसबाट उपभोत्तक्ता मार्कामा परेका छन्।

जिल्लाका बेलौरी, पुर्नवास, बेदकोट, शुक्लाफाँटा र भीमदत्त नगरपालिका आलु खेती हुने गरेको छ। पानी जम्ने चिम्टाइलो माटो भएको जग्गामा लगाइएको आलु खेती र परम्परागत रूपमा लगाइएको आलु खेतीमा वर्षा र डढुवा रोगले नोक्सानी पुर्‍याएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए।

वर्षा र डढुवा रोगका कारण प्रतिहेक्टर चार मेट्रिक टन आलुको उत्पादनमा ह्रास आएको उनले बताए। आलुको उत्पादनमा ३० प्रतिशतले ह्रास आएको उनको भनाइ छ।

उनका अनुसार जिल्लामा चार हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ। जसको उत्पादन २० हजार मेट्रिक टन हुने गरेको छ। उत्पादनमा ह्रास आएपछि यस वर्ष आलुको उत्पादन १४ हजार मेट्रिक टन रहेको छ। उनका अनुसार प्रति हेक्टर आलुको उत्पादन १३ मेट्रिक टन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.