|

पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका-७ पालुङका स्थानीयलाई घण्टौँ समय लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ। स्थानीय सरकार आएपछि पुर्खौंदेखिको बाध्यता अन्त्य भएको भन्दै स्थानीय खुसी भएका छन्।

गाउँपालिकाको आर्थिक सहयोगमा घरघरमा खानेपानीको धारा पुगेको हो। स्थानीय निकायको निर्वाचन भएपछिको पहिलो आर्थिक वर्षबाट पालुङमा खानेपानी आयोजनाको काम थालिएको थियो। निरन्तरको सक्रियताले करिब दुइ वर्षमा घरघरमा पानीको धारा आएको चुर्पुकधारा लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष बमबहादुर अर्घालीले बताए।

उनका अनुसार यसअघि यहाँका स्थानीयले घण्टौ लगाएर खोलाबाट पानी बोकेर खानुपर्ने बाध्यता थियो। यो खानेपानी आयोजनाबाट ६५ घरधुरी लाभान्वित भएका छन्। रिब्दीकोट गाउँपालिकाको विकटमा रहेको पालुङमा जनजाती समुदाय अन्तर्गत मगरहरुको बस्ती मात्र रहेको छ।

आफू विवाह गरेर आएदेखि नै एक घण्टाको बाटो हिँडेर पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीय ६० वर्षीया रमी गाहाले बताइन्। ‘घरभन्दा तलतिर आँखाको नजरले नभेट्ने खोला देखाउदै’ उनले भनिन् ‘एक घण्टा लगाएर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता थियो। अहिले घरमै धारा आएको छ। बुढेसकालमा घरमा पानीको धारा आउँदा ठूलो राहतको महसुस भएको छ।’

सोही वडास्थित चउरका ५० वर्षीय पोखबहादुर गाहाले बिहान ४ बज्दा कुवामा पानी लिन जानु परेको बाध्यता सुनाए। ‘डेढ घण्टामा कुवामा पुगिन्थ्यो’ उनले भने, 'कुवामा पानी नभएर कुनुपर्ने बाध्यता थियो। अहिले घर अगाडि पानीको धारा आउँदा खुसी लागेको छ।’ टाढाबाट पानी बोक्ने काम सकेर साहुको घरमा मजदुरी गर्न जानुपर्ने अवस्था हटेको उनले बताए। 

चुर्पुकधारा लिफ्टिङ खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले धाराबाट पानी खसालेर शुक्रबार उद्घाटन गरेका छन्। यहाँको खानेपानी समस्या रहेको पहिचान गरेर आफू निर्वाचित भएको वर्षदेखि नै बजेट विनियोजन गरेर काम थालेको उनले बताए। ‘एक घर, एक धारा’ अभियानअन्तर्गत सिंगो गाउँपालीकामा खानेपानीका आयोजनाहरु सञ्चालन भइरहेको अध्यक्ष जिसीले बताए। उनका अनुसार खानेपानीको बढी समस्या रहेको रिब्दीकोटको तीनवटा वडा मध्य वडा नम्बर ६ ठिमुरेको ढुस्टुङ, वडा नम्बर ७ पालुङैनादीको पालुङ र वडा नम्बर ८ फेकमा खानेपानीको आयोजनाहरु सम्पन्न भइसकेका छन्।

मानव जीवनमा अति आवश्यक पर्ने खानेपानी, विकासका पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर गाउँपालिकाले वजेट विनियोजन गर्दै आएको अध्यक्ष जिसीले बताए। घरमा भएको धाराको पानी करेसाबारीमा प्रयोग गरेर तरकारीमा समेत आत्मनिर्भर बन्न उनले आग्रह गरे।

घरमा धारा आएसँगै यहाँका महिलालाई दैनीक काममा सहज भएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनालले बताइन्। पानी बोक्नुपर्ने अवस्थाबाट बचत भएको समयलाई अबदेखि जीविकोपार्जन र सामाजिक काममा लगानी गर्न उनले सुझाव दिइन्।

एक करोड ५ हजार ४ सय २६ रुपैयाँ लगानीमा चुर्पुकधारा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालले बताए। संघ र प्रदेशको समपुरक बजेट र गाउँपालिकाले विनियोजन गरेको बजेटले यो आयोजना निर्माण कार्य सम्पन्न भएको हो।

कूल खर्चमध्ये उपभोक्ताले १४ लाख ५८ हजार बराबराको श्रमदान गरेका छन्। यहाँका उपभोक्ताले सक्रिय भएर निरन्तर काम गरेकाले छोटो समयमा यो खानेपानी आयोजना सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए।

ट्यांकी वरीपरी घेराबार गर्न, पानीको मूलसम्म पुग्ने मोटरबाटो स्तरोन्नती गर्न, घरघरमा व्यवस्थीत धारा बनाउन र मर्मत संभार कोष स्थापना गर्ने काम अझै बाँकी रहेको उपभोक्ता समितिका सचिव केहरसिं गाहाले बताए।

यो काम सम्पन्न गर्न उपभोक्ता सक्रिय भएर लागेको उनले बताए। यसअघि यहाँका उपभोक्ताले पाइप जडानलगायतका कामको लागि ६० दिन श्रमदान गरेका थिए। अधिकांश महिलाको सहभागितामा यो खानेपानी आयोजनाको काम सम्पन्न भएको सचिव गाहाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.