|

बर्दिया : नेपाल भ्रमण वर्ष २०२० सफल पार्ने लक्ष्यसहित बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकरद्वारामा पहिलो प्रकृति संरक्षण तथा रमाइलोका लागि दौड प्रतियोगिता भएको छ।

नेपाली सेनाको श्री ४ नम्बर बाहिनी अड्डा नेपालगंज बाँकेको आयोजना तथा बर्दिया निकुञ्ज सुरक्षार्थ शिव दल गणको आतिथ्यतामा भएको प्रतियोगितामा २१ किलोमिटर दौड, १० किलोमिटर पुरुष तथा महिला दौड र ५० वर्ष उमेर माथिका लागि पाँच किलोमिटर दौड प्रतियोगिता भएको हो।

२१ किलोमिटर दौड प्रतियोगितामा नेपाली सेनाका अमल्दार खगेन्द्र भाट प्रथम, सिपाही जितेन्द्र दनुवार द्वितीय र सुवास कार्की तृतीय भए। विजेता प्रथम, द्वितीय र तृतीयले क्रमश: ५० हजार, ३० हजार र २० हजारसहित प्रमाणपत्र प्राप्त गरेका शिव दल गणका निमित्त गणपती सेनानी विशाल नरसिंह अधिकारीले बताए।

प्रथम हुन सफल खगेन्द्र भाटले २१ किलोमिटरको दौड १ घण्टा ५ मिनेट ४८ सेकेण्डमा पार गर्नु भएको थियो भने द्वितीय हुन सफल जितेन्द्र दनुवारले १ घण्टा ७ मिनेट २ सेकेण्डमा र तृतीय हुन सफल सुवास कार्कीले १ घण्टा ७ मिनेट ४ सेकेण्डमा दौड पार गरेका थिए। 

यसैगरी, १० किलोमिटर पुरुष दौड प्रतियोगितामा नन्दनाथ योगी प्रथम, माधव कुमार चौधरी द्वितीय र ओमप्रसाद रोकाय तृतीय भए। महिलातर्फ शिवुकुमारी थारू प्रथम, अन्जु थारू द्वितीय र कञ्चन चौधरी तृतीय भएका थिए। १० किलोमिटर दौड प्रतियोगिताका विजेतालाई क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो।

यस्तै, ५० वर्ष उमेर माथिका लागि भएको ५ किलोमिटर दौड प्रतियोगितामा पठनिया थारू प्रथम, चक्रबहादुर थारू द्वितीय र नारायण पाण्डे तृतीय भए। विजेताहरूले क्रमश: ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितात्मक दौडसँगै रमाइलोका लागि रमाइलो दौड र रमाइलो साइकल रेस पनि भएको थियो।

‘अन्धोपनको नाटक नगर, दयालु व्यवहार गर’ भन्ने नारा सहित ‘प्रकृति संरक्षणका लागि दौड, रमाइलोका लागि दौड तथा नागरिकमैत्री सेना’ भन्ने उद्देश्यका साथ दौड प्रतियोगिता आयोजना गरिएको श्री ४ नम्बर बाहिनी अड्डा नेपालगंज बाँकेका बाहिनीपति सहायक रथी (जर्नेल) शुरेसकुमार बानियाँले जानकारी दिए।

हरेक वर्ष शिवरात्रिका दिनमा पर्ने नेपाली सेनाको दिवसको अवसर पारी सनिबार आयोजना गरिएको कार्यक्रममा नेपाली सेना र नागरिक बीचको सम्बन्ध विस्तार, प्रकृति संरक्षण र नेपाल भ्रमण वर्ष सफल पार्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.