विद्यार्थीलाई शैक्षिक सामाग्री, वृद्धवृद्धालाई न्यानो कपडा

|

तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईमा आइतवारका लागि सार्वजनिक बिदा दिइएको छ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री ओली आजै हेलिकोप्टरबाट आठराईको सल्लेस्थित पुर्ख्यौली घर पुग्दैछन्।

तेह्रथुमबाट बसाइँ सरेर झापा गएपछि विक्री गरेको पुर्ख्यौली घर ओलीले पुन: किनेर मर्मत गराइसकेका छन्। 'प्रधानमन्त्री जन्मदिन मनाउन आउने भएपछि गाउँपालिकामा आइतबारका लागि स्थानीय बिदा दिएका छौं,’अध्यक्ष लिम्बूले भने। 

प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्न चोकमा स्वागतद्वार बनाइएको छ। सल्लेको इवास्थित जन्मघरबाट आइतवार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

मदनको घर जोड्ने सडक शिलान्यास

त्यसक्रममा प्रधानमन्त्रीले ताप्लेजुङको ढुंगेसाँघुस्थित नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको घरसम्म जाने सडक पनि शिलान्यास गर्दैछन्। 

उनले तेह्रथुमको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने छन्। त्यही क्रममा उनले जन्मघरमै आयोजित कार्यक्रममा नेपाल बैंकको शाखा कार्यालय उद्घाटन पनि गर्नेछन्। 

प्रधानमन्त्री ओलीले सडक शिलान्याससहित विकासका अन्य कामको शिलान्यास गर्न गाउँपालिका आएने भएपछि स्थानीय बिदा दिने निर्णय गरिएको लिम्बुले बताए। 

विद्यार्थीलाई शैक्षिक सामाग्री

प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन दिइसकेको छ। 

जन्मदिनमै आठराईस्थित २ हजार विद्यार्थीलाई प्रधानमन्त्रीको तस्बिर र हस्ताक्षरसहितको डायरी, कलम बाँडिनेछ। त्यसैगरी स्थानीय २ सय जना वृद्धवृद्धालाई न्यानो कपडा पनि गरिने गाउँपालिका अध्यक्ष लिम्बुले बताए। 

आठराईमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिकसहित दुईवटा क्याम्पस र नौवटा माविसहित ५८ विद्यालय छन्। 

प्रधानमन्त्री ओलीले जन्मघर जानुअघि छिमेकी जिल्ला पाँचथरको कुम्यायक गाउँपालिकास्थित तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट लगिएको खानेपानी आयोजनाको उद्घाटन गर्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.