चोक चोकमा स्वागतद्वार, चार मन्त्री साथै

|

तेह्रथुम : प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईस्थित इवाको घर सजाइएको छ। 

६९ औँ जन्मदिन मनाउने क्रममा ओली आइतवारै हेलिकोप्टरबाट तेह्रथुम पुग्दैछन्। उनले आइतवार बिहानै बालुवाटारमा पत्नी राधिकासहितको उपस्थितिमा जन्मिदनको उत्सव सुरु गरे।

उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुलाबको माला लगाइदिएर जन्मदिनको शुभकामना दिए। उता ओलीको जन्म जिल्लामा उनको जन्मदिन मनाउन आठराई गाउँपालिकाले आज स्थानीय बिदा दिएको जानकारी अध्यक्ष मानबहादुर लिम्बुले दिएका छन्।

झापा बसाइँ सर्ने क्रममा पहिले बेचेर एकबर्ष अगाडि साढे आठलाखमा आफैंले किनेको पुर्ख्यौली घरमा जन्मदिन मनाउन ओली पुग्ने भएपछि स्थानीय र उनका बालसखाहरु स्वागतका लागि उत्साहपूर्वक कुरिरहेका छन्। ओली आउने भएपछि घरै अगाडि हेलिप्याड बनाइएको छ। 

'प्रधानमन्त्री जन्मदिन मनाउन आउने भएपछि गाउँपालिकामा आइतबारका लागि स्थानीय बिदा दिएका छौं,’अध्यक्ष लिम्बूले भने।

प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्‍न चोकमा स्वागतद्वार बनाइएको छ। इवास्थित जन्मघरबाट आइतवार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

त्यसअघि उनले छिमेकी जिल्ला पाँचथरको कुम्यायक गाउँपालिकास्थित तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट लगिएको खानेपानी आयोजनाको उद्घाटन गर्नेछन्। 

जन्मदिन मनाउने क्रममै ओलीले आफ्नो जन्मथलो तेह्रथुम जाँदै उनले तेह्रथुमको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित तत्कालिन एमाले महासचिव मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने छन्। 

ओलीले आजै स्थानीय २ हजार विद्यार्थीलाई प्रधानमन्त्रीको तस्बिर र हस्ताक्षरसहितको डायरी, कलमसहितको शैक्षिक सामग्री दिने भएका छन्। प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई उपस्थित हुन निर्देशन दिइसकेको छ।  

त्यसैगरी स्थानीय २ सय वृद्धवृद्धालाई न्यानो कपडा पनि गरिने गाउँपालिका अध्यक्ष लिम्बुले बताए। आठराईमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिकसहित दुईवटा क्याम्पस र नौवटा माविसहित ५८ विद्यालय छन्।  

प्रधानमन्त्रीको कार्यक्रममा उपनेता सुभाष नेम्वाङ सहित खानेपानी मन्त्री विना मगर खानेपानी योजना उद्घाटन भएकोले भौतिक योजना मन्त्री बसन्त नेम्वाङ सडक उद्घाटन र पाँचथर आफ्नो जिल्ला भएकोले कानुन मन्त्री भानु ढकाल तेह्रथुमका पुराना बासिन्दा भएकोले र पर्यटन मन्त्री योगेश भट्टराई आफ्नो मन्त्रालयको काममा उतै भएकोले सहभागी हुदैछन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.