|

सल्यान : जिल्ला कारागार सल्यानमा चारजना बालबालिकाले आमाबुवासँगे कैदी जीवन बिताउन बाध्य भएका छन्। बिद्यालयले जाने उमेरका बालबालिकाको जिम्मा लिने मान्छे कोही नभएपछि आमा बुवासँगै कैदी जीवन बिताउन बाध्य भएका हुन्। 

जिल्लाको बागचौर नगरपालिका ७ कोटबाराका एक दम्पतीका तीन सन्तानले बिनाकारणै कारागारमा बस्नुपर्ने बाध्यता भएपछि विद्यालय जान समेत वन्चित भएका छन्। 

विद्यालय जाने उमेरकी ६ वर्षीया चेतना रावत उनकी ४ वर्षीया बहिनी वर्षा रावत र  ३ वर्षका भाइ हिक्मत रावत र बागचौर नगरपालिका १२ बाँफुखोला निवासी लोकबहादुर डाँगी र दिलमाया डाँगीका ९ महिने छोरा दिपेश डाँगी पनि कारागारमा अभिभावकसँग बस्दै आएका छन्। 

अभिभावकले गरेको गल्तीको सजाय भोग्ने क्रममा सन्तानको जिम्मा लिने कोही नभएपछि हाल चार जना बालबालिका जिल्ला कारागारमा राख्नुपर्ने बाध्यता रहेको जिल्ला कारागारका सल्यानले जनाएको छ। दुई वर्ष भन्दा माथिका बालबालिकालाई जेलभित्र राख्न नपाइने कानुनी व्यवस्था भए पनि अभिभावकलाई छोड्न नमान्दा र आफन्तले लिन नआउँदा कारागारमा राख्नुपर्ने बाध्यता रहेको कारागार सल्यानका जेलर बलबहादुर केसीले बताए। 

कारागारमा रहेका बालबालीकाले पढने इच्छा राखेपछि अहिले एकजना कैदी महिलाले कारागारभित्रै पढाउन थालेकी छन्। बिहान बेलुका ती बालबालिकालाई कैदी सलिना गहतराजले पढाउने गरेकी हुन्।

बालबालिकालाई कुनै बालगृहमा राख्न सकिने भए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेको जेलर केसीको भनाई। यसअघि कारागारमा रहेका ४ बालबालिकालाई केन्द्रीय बाल कल्याण समितिको जिम्मा लगाइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.