|

  • भुपाल थापा-

कपिलवस्तु : चराचुरुङ्गीको प्रमुख बासस्थान रहेको सीमसार क्षेत्र कपिलवस्तुको जगदीशपुरमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ। माघ २१ र २२ गते नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल जगदिशपुरलाई लक्षित गरी उत्सव गर्न लागिएको हो।

लाटोकोसेरो संरक्षणका लागि “प्रकृतिका साथीहरु” र जगदिशपुर जलासय बहुसरोकार मञ्चको संयुक्त आयोजनामा छैठौं लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। सन् २०१२ मा धादिङबाट सुरु भएको उत्सव यसअघि चितवन, नवलपरासीको अमलटारी, गोरखाको बारपाक र कास्कीको सिक्लेसमा गरिएको थियो। लाटोकोसेरो उत्सव अमेरिका, इटाली र नेपालमा मात्रै हुंदै आएको छ ।

“लाटोकोशेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं” भन्ने नारा सहित आयोजना गरिने उत्सवमा लाटोकोशसेरो तथा हुचिलको संरक्षण, फोटो तथा वृतचित्र प्रदर्शनी, रोबोर्ट लाटोकोसेरोको प्रदर्शनी, परम्परागत खेलहरुको प्रवर्द्धन, निशुल्क स्वास्थ्य शिविर लगायतको कार्यक्रमहरु सञ्चालन गरिने उत्सव आयोजक समितिका संयोजक अब्दुल रसिद खाँले जानकारी दिए। नेपालमा ८ सय ८७ जातिका चराचुरुंगी पाइनेमा २२ प्रजातीका लाटोकोसेरोहरु रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

के हुन्छ उत्सवमा?

माघ २१ गते पहिलो दिन चरा अवलोकन प्रतियोगिता, प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरो सम्बन्धी लघु म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेल रस्सी तान्ने, चिक्का र कुस्ती खेल तथा धारिलो हतियारमा चढेर नाच्ने गडासा नाच देखाइनेछ। स्थानीय लोपोन्मुख अहिरउवा, धोविहवा र कहरवा नाच तथा थारु, मगर समुदायका नाचहरु प्रर्दशन गरिने छ। राती लाटोकोसेरोको महत्व दर्शाउने भिडियो प्रदर्शनी गरिने आयोजकको भनाइ छ।

उत्सवको दोस्रो दिन संरक्षण, संस्कृति तथा लाटाकोसेरोको अन्य सामग्री सम्बन्धी प्रदर्शन गरिनेछ। उत्सवलाई जीवन्त बनाउन लाटोकोसेरो सम्बन्धी सास्ंकृतिक कार्यक्रम गरिनेछ। वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीले लाटोकोसेरो संरक्षण सम्बन्धी नाटक तथा वन्यजन्तु सम्बन्धी नाच समेत प्रर्दशन गर्ने आयोजकले जानकारी दिएको छ। उत्सवमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरुको प्रदर्शनी समेत गरिने छ।

गहुँको छ्वाली, चुरा तथा माटोबाट बनाइएका लाटोकासेरो समेत प्रदर्शनीमा राखिनेछन्। ८ वटा लाटोकोसेरोको आवाज सुन्न मिल्ने व्यवस्था मिलाइएको छ। उत्सवमा सहभागी इच्छुकले अनुहार वा नङमा निःशुल्क लाटोकोसेरो तथा हुचीलको पेण्टिङ गर्ने व्यवस्था छ। उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिने छ।

लाटोकोसेरो उत्सव आयोजक उपसमिति संयोजक अब्दुल रसिद खाँले सरकारी निकायबाट पनि सहयोगको प्रतिबद्धता पाएपछि उत्साहित भएर अघि बढेको बताए। उत्सवलाई सफल बनाउन खाँको संयोजकत्वमा ५६ सदस्यीय समिति समेत गठन गरिएको छ। स्थानीयको सहभागितामा निकै उल्लास आएको छ, प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले भने “यसले ओझेलमा परेको जगदीशपुरको चरा र पर्यापर्यटन विकासमा दरिलो दिगो टेवा पुग्छ।”  

उत्सवको अन्तिम दिन संरक्षणका क्षेत्रमा योगदान दिने ३ जना नेपाली र १ जना बिदेशी गरी ४ जना संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार समेत प्रदान गरिने छ। जनही २५ हजार र ताम्रपत्र प्रदान सम्मान गरिने छ। चराविद डा. हेमसागर बराल, पत्रकार कृष्णमणि बराल, प्राध्यापक भरतराज सुब्बा, बेलायती क्यारोल इनस्किप र टीम इनस्किपलाई सम्मानित गरिने खाँले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.