|

डडेल्धुराः सिमराको नव जन जागृति क्लब नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्ड कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आइतबार भएको तेस्रो खेलमा फराकिलो जित हात पार्दै जन जागृति क्लब अन्तिम आठमा पुगेको हो। 

सुदूरपश्चिम ११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको सर्वाधिक धनराशीको गोल्डकपको तेस्रो दिन भएको खेलमा नवजागृति युवा क्लबले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।

नव जन जागृतिको जितमा विवेक चौधरीले ह्याट्रिक गरे। एक गोल सागर चौधरीको नाममा रह्यो। पहिलो हाफमा मदन भण्डारीसँग गोलरहित बराबरी खेलेको जन जागृतिले दोस्रो हाफमा भने लगातार गोल गर्‍यो। खेलको ५२ औं मिनेटमा सागरले गोल गर्दै टोलीलाई अग्रता दिलाए। मदन भण्डारी स्पोर्टसका गोलरक्षक विशाल सुनुवार अगाडि बढेको फाइदा उठाउँदै सागरले सहज गोल गरे। 

खेलको ५९औं मिनेटमा विवेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। मदन भण्डारीका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दाको फाइदा विवेकले उठाए। खेलको ७२ औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै जन जागृतिलाई ३–० को अग्रता दिलाए।त्यसपछि खेलको ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै विवेकले ह्याट्रिक पूरा गर्दै टोलीलाई ४–० को फराकिलो जित दिलाए।

मदन भण्डारी स्पोर्टसका गोलरक्षक विशाल सुनुवारले फल गरेपछि पाइएको पेनाल्टीलाई विवेकले गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। मदन भण्डारी स्पोर्टस एकेडेमीले भने पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न सकेन। खेलको ३५ औं मिनेटमा जन जागृतिका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पाएको पेनाल्टीमा मदन भण्डारीका कप्ता अशिम गुरुङ गोल गर्न चुके। उसको प्रहार जन जागृतिका गोलरक्षक दिलमनि चौधरीले बचाएका थिए।

प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका जन जागृतिका विवेक चौधरी खेलको म्यान अफ दि म्याच चुनिए। उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे। अब सेमिफाइनल प्रवेशका लागि जन जागृतिले थ्री स्टार क्लबको सामना गर्नेछ।

थ्री स्टारले पहिलो चरणमा वाई पाएको छ। प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार गोर्खा ब्वाइज रुपन्देही र सुनौलो संगम वुटबलबीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ। सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.