|

जनकपुरधाम : धनुषामा दुर्घटना न्यूनीकरण गर्न चुनौती देखिएको छ। दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सचेतना अभियान चलाए पनि प्रभावकारी देखिएको छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षको सात महिनामा विभिन्न सवारी दुर्घटनामा ३५ जनाको ज्यान गुमाएका छन्। तथ्यांकले हरेक महिना ५ जनाले ज्यान गुमाइरहेको देखिन्छ। विगतमा पनि हरेक वर्ष ६० जनाले दुर्घटनामा ज्यान गुमाए। अहिले पनि त्यही दुर्घटनामा ज्यान गुमाउनेको अनुपात त्यही छ।

ट्राफिकको तथ्यांकअनुसार विभिन्न सवारी दुर्घटनामा साउनमा ६ जना, भदौंमा ४ जना, असोजमा ३ जना, कार्तिकमा ६ जना, मंसिरमा ७ जना, पुसमा ५ जना र माघमा ३ जनाले ज्यान गुमाएका छन्। यस्तै, फागुनमा पनि हालसम्म १ जनाको ज्यान गएको छ। सात महिनामा करिब ५० जना गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी इन्चार्ज तथा प्रहरी निरीक्षक पशुराम घिमिरेले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको संख्या अधिक रहेको बताए।  उनका अनुसार करिब ७० प्रतिशत व्यक्तिको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने गरेको छ। मापसे गरी सवारी चलाउने, हेलमेट नलगाउने, तीन जना चढ्ने र तीव्र गतिमा चलाउने जस्ता कारण मोटरसाइकल अत्यधिक दुर्घटनामा हुने गर्छ।

यस्तै, ट्याक्टर दुर्घटनामा पनि ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ। ट्याक्टर कृषि प्रयोजनका लागि मात्र प्रयोग गर्ने सवारी हो। तर ट्याक्टरमा समेत यात्रु बोक्ने चलन छ। विशेषगरी मेला र धार्मिक कार्यक्रममा गाउँघरका व्यक्ति ट्याक्टर भाडा गरेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गलत प्रवृत्ति देखिएको ट्राफिक प्रहरी बताउँछन्।

ट्याक्टरमा यात्रु ओसार्न नहुने भन्दै गाउँगाउँमा गएर सचेतनामूलक कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। उनले ट्याक्टरमा यात्रु बोक्दा कारबाही सँगसँगै स्थानीय तहमा पुगेर जनप्रतिनिधिसँग सहकार्य गरी ट्याक्टर दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरिरहेको समेत बताए। चेतनाको अभाव र थोरै पैसा लाग्ने भनेर गाउँघरमा ट्याक्टर भाडा गर्ने चलन बढ्नुले दुर्घटना हुने गरेको उनको भनाइ छ।

मापस चेकजाँच सुरु

पछिल्लो समय जनकपुरधाममा मापसे गरी सवारी चलाउने प्रवृत्ति बढेको छ। विगत केही दिनदेखि ट्राफिक प्रहरीले मापसे चेकजाँच अभियान पनि थालेको हो। विगत चार दिनमै करिब ६० जना मापसे गरी सवारी चलाउने व्यक्ति कारबाहीमा परेका छन्।

प्रहरी निरीक्षक घिमिरेले ठाउँ परिवर्तन गरी नियमित रूपमा मापसे चेकजाँच सुरु गरिएको जानकारी दिए। उनले मापसे गरी सवारी चलाउनेमा बढी पढेलेखेका व्यक्ति पक्राउ पर्ने गरेको सुनाए। उनले भने, ‘मापसे गरी सवारी चलाउनेलाई नियन्त्रणमा लिएर १ घण्टाको ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कक्षा दिएर मात्र छाड्ने गरेका छौं।’

यस्तै, जनकपुरधाममा छाडा चौपायाका कारणसमेत दुर्घटना भइरहेको भन्दै ट्राफिक प्रहरीले छाडा चौपाया नियन्त्रणमा लिएरसमेत कारबाही थालेको छ। चार दिनमा करिब दुई दर्जन छाडा चौपायालाई निन्यत्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।

जनकपुरमा छाडा चौपायाको आतंक

जनकपुरमा छाडा चौपायाको आतंक देखिन्छ। जसले गर्दा पटक–पटक दुर्घटना भइरहेको छ। छाडा चौपाया आतंक मच्चाएको गुनासोपछि ट्राफिक प्रहरीले कारबाही अभियान चलाएको छ।

प्रहरी निरीक्षक घिमिरेले जनकपुरको सडकबाट तीन दिनमा करिब ३ दर्जन बढी छाडा चौपायालाई नियन्त्रणमा लिएर कारबाही गरिएको बताए। उनले भने, ‘जनकपुरधाम उपमहानगरको सहकार्यमा छाडा चौपाया नियन्त्रण अभियान चलाएका छौं। चार/पाँच दिनमै छाडा चौपायाको आतंक धेरै कन्ट्रोल भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.