|

पाल्पा : पाल्पा व्यापार संघले दमकडामा आयोजना गरेको ‘पाल्पा महोत्सव’ सकिएको छ। जिल्ला सदरमुकाम तानसेनस्थित मदनपोखराको दमकडामा फागुन १ देखि ११ सम्म सञ्चालन भएको महोत्सव आइतबार सकिएको हो।

महोत्सवको अन्तिम दिनसम्म एक लाख १० हजार दर्शकले अवलोकन गरेका छन्। संघले राखेको लक्ष्यभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए। दश दिनसम्म चलेको महोत्सवमा चार करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ।

पाल्पाको स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो। ‘पाल्पाको कृषि, पर्यटन, साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको बजारीकरण गर्न सहज होस् भनेर महोत्सव आयोजना गरेका थियौं,’ अध्यक्ष पोखरेलले भने, ‘सोही उद्देश्य अनुरुप महोत्सव सफल भएको छ। ग्रामीण भेगमा आयोजना गरिएको महोत्सवलाई भव्य र सभ्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सबै प्रति हार्दिक धन्यवाद दिन चाहन्छु।’ महोत्सवबाट भएको नाफाको रकमले पाल्पाको पर्यटन र पर्यटकीय स्थलको बारेमा जानकारी दिने डेस्क स्थापना गर्ने उनले बताए।

महोत्सवमा कृषि ज्ञान केन्द्र, पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, पाल्पा, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, दमकडाको महिला समूह, उखुको खुदो, फलामबाट बनाइएका कृषि औजारका स्टल, ऊनजन्य वस्तुबाट बनेका टोपी, स्वीटर, गलबन्दी, मौरीको गोलासहितको स्टल आकर्षक बनेको थियो।

यस्तै, निस्दी गाउँपालिकास्थित काउलेडाँडाको अम्रिसोबाट बनेका कुचो, रिब्दीकोट गाउँपालिकाको पर्यटनसम्बन्धी जानकारी दिने डिस्प्ले बोर्ड, दमकडा नमुना मावि र रिभर भ्याली माविका विद्यार्थीले तयार गरेको भविष्यको माडी उपत्यकाको नमुनासमेत आकर्षक बनेको स्टल संयोजक कमल ढकालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.