|

  • रमेश पराजुली 

सिन्धुपाल्चोक : बराम्ची–७ कि घण्टमाया रिसाल गाउँकै मिहिनेती महिलामध्ये एक हुन्। उनले डकर्मी पेशाबाट जीविकोपार्जन गर्ने सोच बनाएकी छन्। हाल उनी डकर्मी तालिम लिइरहेकी छन्।

नमूना घर निर्माण गरिरहेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘गाउँमा सबैले घर बनाउन थालेपछि महिला डकर्मीले काम पाएका छन्।’ तर, गाउँघरमा महिलालाई हेप्‍ने र खिज्याउने गरेको गुनासो उनले पोखिन्। 

बराम्चीकी पद्मलक्ष्मी घिमिरेले पनि डकर्मी पेशा नै रोजेकी छन्। ‘पहिला पुरुष डकर्मीले काम गरेको हेरेर बसिन्थ्यो। अहिले आफै सिपालु भइयो,’ उनले खुसी हुँदै भनिन्। हगामकी माईली तामाङले डकर्मी काम गरेर घर खर्च चलाउन सक्ने अनुभव सुनाइन्।

यस्तै, हगाम–४ की फूलमाया तामाङलाई घरको गारो कसरी लगाउने भन्नेबारे राम्रो ज्ञान छ। भूकम्प प्रतिरोधात्मक गारोको ढुंगा मिलाउने र मसला घोल्ने सीपमा पोख्त उनी छिमेकीको घर निर्माणमा लागेकी छन्। ‘हामी महिला केहीमा पनि कम छैनौं,’ उनले भनिन्, ‘बरु पुरुषभन्दा लामो समयसम्म महिलाले काम गर्न सक्छन्।’ 

फूलमायाका श्रीमान् नसाको रोगले थलिएको धेरै भयो। घर धान्ने जिम्मा अहिले उनको काँधमा छ। घरको जिम्मेवारीले गर्दा पनि डकर्मी पेशामा लाग्न बाध्य पारेको उनले सुनाइन्। 

४२ दिने डकर्मी तालिम लिएर उनी काममा लागेकी हुन्। डकर्मीले दिनको ८ सय देखि १४ सय रुपैयाँसम्म कमाउँछन्। ‘डकर्मी पेशाले घर खर्च चलाउने उद्देश्य उनले राखेकी छिन्। 

आजकाल जिल्लाभर तालिम प्राप्त महिला डकर्मी पुनर्निर्माणमा जुटेका छन्। पुनर्निर्माणलाई गति दिन पुरुषसरह काम गर्नसक्ने साहस जुटाएर ग्रामिण भेगका महिला पुनर्निर्माणमा जुटेका हुन्।

विभिन्न संघसंस्थाको सहयोगमा तालिम लिएका महिला डकर्मीले आफूले सिकेको सिपलाई पेशाकै रुपमा निरन्तर अघि बढाउने निधो गरेका छन्।   भूकम्पपीडितको घर बनाउन उनीहरु व्यस्त छन्। पुरुषमात्रै होइन महिला पनि पुनर्निर्माणमा उत्तिकै सक्षम छन् भन्‍ने उदाहरण उनीहरुले प्रस्तुत गरेका छन्। 

जिल्लाका विकट गाउँमा पुनर्निर्माणले तिव्रता पाएको छ। डकर्मी र ज्यामीको अभाव भएको अवस्थामा तालिम प्राप्त महिला घर निर्माणमा लागेकोले पुनर्निर्माणमा गति पैदा भएको छ।  सयौं महिलाले अहिले तालिम लिइरहेका छन् भने कतिपय महिला डकर्मी प्रमाणपत्र पाएर नयाँ घर निर्माणमा व्यस्त बनिसकेका छन्।

गाउँमा कामदारको अभाव भएकोले सामाजिक संघसंस्थाले प्रदान गरेको तालिमपछि महिलाहरु डकर्मी पेशामा अग्रसर भएका हुन्। ती संघसंस्थाले दिएको डकर्मी तालिममा पुनर्निर्माण प्राधिकरणले तोकेको एसएमसी १२ मोडलको घर निर्माण गरिएको थियो।

महिलालाई जनहित ग्रामिण सेवा समिति, अक्सफाम, जाइका लगायतले तालिम प्रदान गरेको थियो। आइएनजिओसँग साझेदार गरी जिल्लामा विभिन्न गैससले महिलालाई डकर्मी तालिम दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.