'८४ प्रतिबद्धता पूरा भए, अरू पनि गर्छौं'

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनताका मतदाताको घरदैलोमा पुगेर भनेको थिए,‘मलाई चुनावमा जिताउनुस्। सय दिनमा १०१ काम गरेर देखाउँछु।’

उनको यो सबै प्रतिबद्धता लागू भएको भए सायद आज संघीय राजधानी काठमाडौंले अर्कै स्वरूप लिने थियो। हरियाली र फरक सडक बन्थ्यो। काठमाडौंलाई मास्कमाण्डु भन्दै सर्वसाधारणले ठट्टा गर्दै हिँड्नुपर्ने थिएन।

०७४ जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट काठमाडौं महानगर प्रमुखमा शाक्य निर्वाचित भएका हुन्। त्यसयता उनले कार्यभार सम्हालेको तीन वर्ष बितिसकेको छ। 

के के थिए त शाक्यका प्रतिबद्धता?

नगरप्रमुख शाक्यका २४ घण्टे ‘जीवन्त शहर’का योजनादेखि स्मार्ट सिटी बनाउनेसम्मका योजना थिए। त्यस्तै, उनले आफ्नो प्रतिबद्धतापत्रमा  गोंगबु बसपार्कको मास्टर प्लान, अपांगमैत्री पार्क निर्माण, तीनकुनेको जग्गाको समस्याको समाधान गरी अत्याधुनिक पार्क निर्माण, धरहरा प्रिमिसेशको मास्टर प्लान बनाई

कार्यान्वयन, ‘सही समय सही ठाऊँ, नो ट्राफिक जाम’को अभियान शुरु गर्ने, साइकल सिटी निर्माण, महानगरलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स सिस्टम सुरु गर्ने आदि प्रतिबद्धता जनाएका थिए।

त्यस्तैगरी खाल्डाखुल्डी पुर्ने, प्रविधिको प्रयोग गरी धुलो र खाडलरहित सडक बनाउने, धुवाँधुलो न्यूनीकरण गरी ‘नो मास्क सिटी’को अभियान सञ्चालन गर्ने, सडक बाटोमा थुपारिएका निर्माण सामग्री हटाउनेलगायत १०१ प्रतिबद्धता उनले व्यक्त गरेका थिए।

८४ वटा प्रतिबद्धता पूरा गरेको दाबी

काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार शाक्यले प्रतिबद्धता गरेको ८४ वटा चुनावी प्रतिबद्धता पूरा गरिसकेका छन्। ‘मेयरज्यूले सही समय सही ठाऊँ, नो ट्राफिक जाम’को अभियान सुरु गर्ने, साइकल सिटी निर्माण, महानगरलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन ई–गभर्नेन्स सिस्टमलगायत ८४ वटा प्रतिबद्धता पूरा गरिसकेका छन्,’ उनले भने,‘अहिले पनि चुनावी योजनाअनुसार काम गरिरहनु भएको छ। बाँकी काम गर्दै जानुहुने छ।’ काठमाडौं महानगरका लागि अन्तरिक तथा सरकारी गरी वार्षिक १५ अर्ब बजेट छुट्याएको छ। 

किन प्रभावकारी भएनन् प्रतिबद्धता?

शाक्य निर्वाचित भएको तीन वर्ष बितिसकेको छ। तर, उनले प्रतिबद्धता पूरा गरे पनि योजना प्रभावकारी हुन सकेको छैन। उनी आफैंले प्रतिबद्धता गरेअनुसार नो मास्क सिटी, सडकका खाल्डाहरू पुर्ने जस्ता काम गर्न सकेका छैनन्।

अहिले पनि पुरातत्व विभागअगाडि ढल व्‍यस्थापन हुन सकिरहेको छैन। शाक्यको वातावरण हरियाली पार्ने प्रतिबद्धता पनि अलपत्र छ। रोपिएका विरुवाको समेत उनले संरक्षण गर्न सकेका छैनन्। बागदबारमा रहेको काठमाडौं महानगरपालिका कार्यालय गेटअगाडि रोपिएका विरुवा संरक्षण नहुँदा मरिसकेका छन्।

प्रविधिबाट सडक सफा गर्न ब्रुमर खरिद गरिए पनि सडक सफा हुन सकेको छैन। शहरबासीको समस्या ज्यूँका त्यूँ छ। सय दिनभित्रमा सम्पदा क्षेत्रको विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाउने प्रतिबद्धता गरेका नगरप्रमुख शाक्यले अहिलेसम्म पनि भूकम्पले भत्काएका सम्पदा उठाउन सकेका छैनन्।

बरु उनी ऐतिहासिक सम्पदा रानीपोखरी र बागदरबारको पुनर्निर्माणको विवादमा मुछिए। काष्ठमण्डप पुननिर्माणको काम पनि सुस्त छ। उनले प्रतिबद्धता सुरुवात गरे पनि पछि फलोअप नगरेकै कारण कुनै पनि योजना प्रभावकारी बन्न नसकेको हो।

यस्ता छन् बाँकी काम

नगरप्रमुख शाक्यका महानगरपालिकाको आफ्नै काठमाडौं मेट्रोपोलिसियन कन्ट्रक्सन (केयमसिसि)स्थापना गर्ने, जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीहरु सहितको ‘मिनी असन बजार’ विभिन्न ठाउंहरुमा स्थापना गरी सञ्चालन गर्ने प्रतिबद्धता अहिलेसम्म पूरा हुन सकेको छैन। ‘घरघरमा अचम्मको सियो र घरघरमा गज्जबको चुलो’ कार्यक्रम सञ्चालन गर्ने, घर–घरमा अत्याधुनिक प्रविधियुक्त थोरै जग्गामा पनि जडान गर्न सकिने सेफ्टीट्याङकी जडानको अभियान प्रतिबद्धता पनि अलपत्र छ।

त्यस्तैगरी, ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरूको ‘नयाँ ललितपत्तनम’ नामको आर्ट एण्ड क्राफ्ट सिटी’ निर्माण प्रक्रिया, पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गोठाटारस्थित बालुवाखानीलाई व्यवस्थापन गरी ‘पाशुपत सरोवर’ निर्माण कार्य, नेपाललाई

संसारको उत्कृष्ट ‘अल सिजन क्रिकेट भेन्यु’बनाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहल गर्ने,अव्यवस्थित र असुरक्षित भविष्यको कारण जीवनदेखि निराशाका कारण बढ्दै गइरहेको मानसिक समस्याहरुको रोकथाम र उपचारको लागि उचित प्रबन्ध गर्ने शाक्यको प्रतिबद्धता अहिलेसम्म पूरा हुन सकेको छैन।

त्यस्तैगरी, राजधानी महानगरलाई देशका सबै नेपालीको साझा मैत्रीनगरको रूपमा विकास गर्न सातै प्रदेशको लागि ‘प्रदेश भवन’ निर्माण अलपत्र परेको छ। हाइड्रोजन फ्युल को सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन गरी कार्यारम्भ गर्नेलगायत प्रतिबद्धता पूरा हुन सकेको छैन। 

तीन वर्षमा महानगरकै भवन बनेन

 नगर प्रमुखको कार्यकाल अब दुई वर्ष मात्रै बाँकी छ। मुख्य त उनले आफ्नै भवनसमेत बनाउन सकेका छैनन्। अहिलेसम्म पनि महानगरको आफ्नै भवन छरपष्ट रहँदा जनताले सास्ती खेप्न बाध्य छन्। वसन्तपुरका गणपतिलाल श्रेष्ठले महानगरपालिकाको भवन एकैठाउँमा नहुँदा सानो कामका लागि पनि चारैतिर धाउनुपर्ने बाध्यता रहेको बताए।

उनले भने, ‘मेयरज्यूले अहिलेसम्म पनि आफ्नो महानगरको भवन बनाउन नसक्‍दा हामी सेवाग्राही मारमा परेका छौँ।' आफ्नै कर्मचारीसमेत व्यवस्थापन गर्न नसकेको महानगरले अरू विकासका ठूला काम गर्ला भनेर विश्वास गर्न नसकिने उनको धारणा छ।

 महानगरपालिकाले मध्यकालीन र दीर्घकालीन ढंगले विकासका काम गर्न नसकेको उनले आरोप लगाए। उनले भने,‘मेयरले १०१ योजना ल्याए पनि तत्काल गर्न सकिने काम पनि गरेनन्। कतिपय दीर्घकालीन योजनाका काम त छुन पनि सकेका छैनन्।’ 

वडा र कर्मचारीकै समन्वय हुन नसक्दा एउटै सडक बारम्बार खन्ने र पुर्ने काम मात्रै भइरहेको उनले बताए। विकास निर्माणको काममा नगर प्रमुख गम्भीर भएर नलागेको पनि उनले बताए। महानगर प्रमुख बजेट दिएर जहाँ पनि शिलन्यास गर्नमै मात्र व्यस्त रहेको उनको पनि उनले आरोप लगाए। 

जनतालाई समय नै दिँदैनन् नगरप्रमुख

नगर प्रमुख शाक्यले जनतालाई समय नै नदिएको सेवाग्राहीको गुनासो छ। श्रेष्ठ भन्छन्, ‘कार्यालयमा प्रमुखलाई दुई बजेपछि भेट्न सकिने सूचना टाँसिएको भए पनि कहिल्यै उहाँलाई भेट्न सकिँदैन।' नगर प्रमुख सबैको साझा मान्छे हुन्। उनीप्रति गुनासा गर्ने जनताको अधिकार भए पनि भेट्न नपाउँदा दु:ख लागेको उनको भनाइ छ।

नगर प्रमुखको काम गराइ र व्यवहारले काठमाडौं शहर झनै कुरूप बन्दै जाने पनि उनले ठोकुवा गरे। नगर प्रमुख शाक्‍यले पुरानो घरलाई वैधानिकता दिने नाममा सबैलाई फाइदा पुर्‍याउने कम्प्लेक्स निर्माणको मापदण्डमा जनताको मन जित्नेगरी काम गर्नुपर्ने श्रेष्ठको बुझाइ छ।

भाषण बढी, काम थोरै

नगर प्रमुख शाक्यले काम छाडेर भाषण मात्र गरेर समय व्यतित गरिरहेको उनकै मतदाताहरूले बताउने गरेका छन्। सुन्धारामा भेटिएकी असनकी लक्ष्मी श्रेष्ठले जनताको अपेक्षाअनुसार शाक्यले काम गर्न नसकेको बताइन्।

‘चुनावअघि राजधानी हरियाली, स्वच्छ, धुलोरहित बनाउँछु भन्दै भोट मागेका थिए,’उनले थपिन्,‘हामीले जिताएको तीन वर्ष बितिसक्यो उनले खै त प्रतिबद्धताअनुरूप काम  गरेको?' उनले राजधानी काठमाडौंलाई सुन्दर सहर बनाउनेगरी काम गर्न नगर प्रमुख शाक्यलाई सुझाव दिइन्।

प्रतिबद्धताभन्दा बढी नै काम गर्छु : विद्यासुन्दर

जनताले कामै नगरेको भनेर लगाएको आरोप महानगर प्रमुख शाक्‍य स्वीकान तयार छैनन्। उनी आफूले प्रतिबद्धताअनुसारै काम गरिरहेको र आफ्नो कार्यकालभरिमा १०१ प्रतिबद्धताभन्दा बढी नै काम गर्ने दाबी गर्छन्।

‘जनतालाई प्रतिबद्धता गरेको काम अहिले गरिरहेको छु,’ कार्यकक्षमै थाहाखबरसँग उनले भने,‘मेरो कार्यकालभित्र सबै प्रतिबद्धता पूरा गरिसकेर बाँकी अरू पनि काम गर्छु।’

महानगरले जनता सन्तुष्ट हुनेगरी काम गर्न नसकेको हो? भन्‍ने थाहाखबरको  प्रश्नमा शाक्यले आफू जनप्रतिनिधि भएर आएपछि जनताको मर्मअनुसार नै काम गरिरहेको दाबी गरे।

आफूले गरेको कामप्रति जनताले कुनै गुनासो गर्ने ठाउँ नै नरहेको उनको तर्क छ। आक्रोशित हुँदै उनले भने,‘मेरो काममा को असन्तुष्टि छन्? सबै जनता खुसी छन्। कोही कसैले गुनासो गरेको मैले सुनेको छैन।'  त्यसपछि थप विषयमा कुराकानी गर्न खोज्दा बहाना बनाएर उनी यत्तिकै पन्छिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.