माधव नेपालले मुन्टो हल्लाए, केही बोलेनन्

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता एकजना व्यक्तिका लागि संविधान संशोधनको कुरा कल्पना गर्न नसकिने बताएका छन्। सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीका उपाध्यक्ष वामदेव गौतमका लागि संविधान संशोधन गर्न नेकपाले कोसिस गरेको सन्दर्भमा यस्तो बताएका हुन्। 

नेकपको सचिवालय बैठकले संविधान संशोधनबारे कार्यदल बनाएकोबारे प्रतिक्रिया दिँदै नेम्वाङले आफूले पनि सञ्चारमाध्यमबाटै थाहा पाएको प्रतिक्रिया दिए। 

‘यसमा अलिकति पनि यताउती पनि छैन। पार्टीबाट कसैले जानकारी गराएको छैन। कार्यदल बनेकोमा मलाई विश्वास छैन’, कार्यदलकै सदस्य भनिएका नेम्वाङले अगाडि भने, ‘सचिवालयमा हुन चाहिँ कुरा भएको हो, तर औपचारिकरुपमा यस्तो भएको भन्ने मलाई कुनै विश्वास छैन।’ 

उनले कार्यदलका संयोजक भनिएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग सोमबारै कोटेश्वरमा भेट भएको पुष्टि गर्दै त्यहाँ कार्यदलको बैठक नभइ नेता खिमलाल देवकोटासहित कुराकानी भएको जानकारी दिए। 

‘यही सिलसिलामा आज बिहान माधव नेपालसँग कुराकानी भएको छ। अर्का नेता खिमलालजीसहित हामीले छलफल गरेका हौँ’, उनले भने, ‘हाम्रो वरिष्ठ नेता हुनुहुन्छ उहाँ। उहाँको फोन आएपछि सोधेँ ११ बजे भेटौँ भन्नुभयो। सार्वजनिक सञ्चारमाध्यममा कार्यदलको कुरा आएको छ, हामी बस्दा कार्यदल बस्यो भन्लान्। त्यसैले कार्यदलबारे बैठक नबसौँ भनेको हुँ।’

भिडियो

त्यहीकारण आफूहरुले अनौपचारिकरुपमा बसेर छलफल गरेको उनले सुनाए। ‘उहाँले नै अनौपचारिकरुपमा हामी बसौँ भन्नु भयो। ११ बजे उहाँकहाँ गएर आफ्ना कुरा राखेँ’, नेम्वाङले भने, ‘खिमलालजी र मेरो कुरा एउटै थियो। समग्रमा सञ्चारमाध्यममा आएका कुरा सही हुन् भन्ने लाग्दैन। जिम्मेवार पार्टीले यो ढंगले यो प्रक्रियालाई अगाडि बढाउन लागेको छ भन्ने हामीलाई लाग्दैन।’

नेम्वाङले संविधान संशोधन जस्तो कुरा सारै गम्भीर रहेको बताए। ‘यसलाई जिम्मेवारपूर्वक लैजानपुपर्छ। आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुनुपर्छ’, उनले भने, ‘यो व्यक्तिगत कुरा होइन। पहिले संविधान कार्यान्वयन हुनुपर्छ। आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुन्छ। अहिलेसम्म त्यो स्थापित हुन सकेको छैन।’

उनले राजपा र समाजवादीको हकमा पनि आवश्यकता र औचित्य स्थापित नभएको बताए। ‘आवश्यकता र औचित्यका आधारमा मात्रै पारदर्शीरुपमा संविधान संशोधनन हुनुपर्छ’, नेम्वाङले भने, ‘सिंगो देश र जनताले बुझ्ने गरी संविधान संशोधन हुनुपर्छ।’ 

उनले अहिले चर्चामा आए जसरी संविधान संशोधन नहुने अडान राखे। ‘यो कसैको हितमा छैन। वरिष्ठ नेता माधव नेपाललाई यो प्रक्रिया होइन होला यदि यो हो भने बेठीक हो भन्यौँ’, उनले भने, ‘उहाँले हाँस्नु भयो टाउको हल्लाउनुभयो अनि हामी फर्कियौँ। उहाँले अरु केही भन्नु भएन हाम्रो कुरा सुन्नु भयो। तपाईंहरुको कुरा जायज छ, गम्भीर छ, पार्टीमा लैजान्छु भन्नुभयो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.