खेलकुद

सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा

गोर्खा ब्वाइज पनि अन्तिम आठमा प्रवेश

फागुन १२, २०७६

    डडेल्धुराः नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ। धनगढी रंगशालामा सोमबार भएको खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो।

    गोल्डकपको चौथो दिन सोमबार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देही आफ्नै जिल्लाको सुनौलो संगम युवा क्लबलाई टाइब्रेकरमा हराउँदै अन्तिम आठमा पुगेको हो। सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको सर्वाधिक धनराशिको गोल्डकपअन्तर्गत सोमबार भएको खेलमा गोर्खा ब्वाइजले सुनौलो संगमलाई टाइ ब्रेकरमा ५–३ ले हरायो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइ ब्रेकरमा गोर्खाले सफलता हात पार्‍यो। 

    टाइ ब्रेकरमा गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रन्दिप पौडेल, निशान न्यौपाने र उत्तम गुरुङले पेनाल्टीमा गोल गरे। टाइ ब्रेकरमा गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ नायक बने। उनले सुनौलोका कप्तान मोहन थापाको पेनाल्टी बचाए। 

    सुनौलोका लागि रन्जित थापा, अजित थापा, शंकर राईले भने गोल गरे। खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ चुनिए। उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे।

    अब गोर्खा ब्वाइजले सेमिफाइनल प्रवेशका लागि हिमालयन शेर्पा क्लबको सामना गर्नेछ। यसअघि भएका खेलमा जित हात पार्दै  विभागीय टिम एपीएफ क्लब, भारतको कंचनजंघा एफसी र नव जन जागृति क्वाटरफाइनलमा पुगिसकेका छन्। 

    यस्तै आयोजक सुदूरपश्चिम–११, साबिक विजेता नेपाल पुलिस, थ्री स्टार र हिमालयन शेर्पा क्लब भने वाइ पाएर सिधै क्वाटरफाइनलमा पुगेको हो। मंगलबारदेखि प्रतियोगितामा क्वाटरफाइनलका खेलहरू सुरु हुनेछन्। मंगलबार हुने पहिलो क्वाटरफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र कंचनजंघा एफसी भारतबीच खेल हुनेछ।

    फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।

    धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिनेछ। 

    सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम–११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]