|

जनकपुरधाम : प्रदेश २ सरकारले किसानलाई कृषिजन्य उत्पादन गर्न अनुदान दिने योजना ल्याउन लागेको छ। 

योजना अन्तर्गत प्रदेश सरकारले किसानको बैंक खातामा सिधा रकम जम्मा गर्ने तयारी थालेको हो। जनकपुरमा आयोजित खाद्य मेलाको समापन समारोहमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले गरिब तथा विपन्न किसानलाई लक्षित गरेर अनुदान दिने योजना ल्याउन लागेको बताए। 

बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तरगत विमित छोरीको खातामा रकम जम्मा गरिरहेको जस्तै किसानको खातामा पनि सिधा रकम पठाइदिने योजना रहेको सुनाए।  उनले किसानको खातामा सिधा अनुदान रकम पठाइदिने विशेष कार्यक्रमको चाँडै घोषणा गर्ने पनि बताएका छन्। उनले भने, ‘पाँ कट्ठामा खेती गर्ने किसान होस् वा १०/१५ कट्ठामा खेती गर्ने। सबै किसानको खातामा सिधा रकम पठाउँछौं।’ किसानले बैंक मार्फत रकम पाउँदा कमिशनको खेल अन्त्य हुने उनको भनाइ छ।

मुख्यमन्त्री राउतले सुरुमा प्रदेशका आठ जिल्लाका आठ स्थानीय तहबाट किसानलाई अनुदान दिने कार्यक्रमको सुरुवात गर्ने संकेत गरेका छन्। उनले एकैपटक सबै स्थानीय तहमा कार्यक्रम शुभारम्भ गर्न समस्या पर्न सक्ने भन्दै ८ स्थानीय तहबाट सुरुवात गरिने बताए। 

संघीय सरकारले प्रदेशलाई मात्र २ प्रतिशत बजेट उपलब्ध गराइरहेको भन्दै थोरै भएपनि किसानलाई राहत मिलोस् भनेर अनुदान दिने उनले बताए। ‘संघीय सरकारले किसानको नाममा अनुदानको रकमले माफिया पाल्ने काम मात्र गरिरहेको छ’, मुख्यमन्त्री राउतले भने, ‘जुन किसानले खेती गरेर गुजारा गर्छन्। त्यसले कहिल्यै अनुदान पाएनन्। त्यसैले उनीहरुलाई अब प्रदेश सरकारले सिधा बैंकमा रकम पठाउँछन्।’

संघीय सरकारको कृषि मन्त्रालयमा करोडौं बजेट भएपनि खेती गर्ने किसानले सहुलियत (अनुदान) नपाउन गरेको मुख्यमन्त्री राउतले औल्याए। उनले संघीय सरकार जसले दलाली गर्छन उसैलाई कृषि अनुदान दिने गरेको गुनासो पोखे। उनले संघीय सरकारकै कारण किसानले खेती गर्न छाडेको र उत्पादन घटेको दाबी गरे।

‘किसानले समयमा न मल पाउँछन् न बिउविजन पाउँछन्, मुख्यमन्त्री राउतले भने, ‘खेतमा सिंचाइ पनि छैन। धन्य, भगवान। जसले समयमा वर्षाइदिन्छ। अनी किसान जसोतसो खेती गरिरहेको अवस्था छ।’ नेपालमा सबैभन्दा खराब अवस्था कसैको छ भने त्यो किसान हो। उनले थपे ।

उत्पादन घटेकोमा मुख्यमन्त्री चिन्तित

मधेस उर्वर भुमि हो। यद्यपी वर्षेनी उत्पादन घट्दै गएको छ। यसको प्रमुख कारण हो। समयमा किसानले मल, विबविजन नपाउनु र सिंचाईको समेत व्यवस्थापन मिलाउन नसक्नु।

मुख्यमन्त्री राउत भन्छन्, ‘प्रदेश २ को कृषि उत्पादनले सातवटै प्रदेश पाल्न सक्छ। तर त्यो क्षमता हुँदाहुँदै पनि अहिले प्रदेश २ कै किसान पारी (भारत) बाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको छ। यसको मुख्य कारण हो– संघीय सरकारको माफिया र दलाल पाल्ने सोच।’

उत्पादन गरिएका वस्तुलाई पनि व्यवसाय, उद्योग र बजारसँग जोड्न नसकिएका कारण किसान एकदमै पीडा सहन् बाध्य भएको पनि मुख्यमन्त्री राउतको गुनासो छ।  उनले साना–साना कुरालाई ‘ब्रान्डिङ’ गर्ने शिप नहुँदा किसान पछाडी परेको र अब त्यो शिप सिक्नुपर्नेमा जोड दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.