'एउटा कम्प्युटर बेच्‍न पनि सगरमाथा चढेजत्तिक्कै कठिन थियो'

|

बाँके : आइटी र इलेक्ट्रोनिक्समा चर्चा कमाएका नेपालगञ्‍जका सञ्‍जय थापाले कम्प्युटरको औपचारिक र अनौपचारिक शिक्षा लिएका छैनन्। व्‍यवसाय सुरु गर्नेबेला उनलाई सूचना र प्रविधि (आइटी) को ‘अ’ पनि ज्ञान थिएन। कम्प्युटर देखे पनि चलाउने सीप उनमा थिएन। तर, तिनै सञ्‍जय थापाले पश्चिम नेपालमा सूचना र प्रविधि भित्र्याउने आँट गरे। अहिले उनी सूचना र प्रविधिका ज्ञाताका रूपमा चिनिन्छन्।

२ कात्तिक, ०२५ सालमा काठमाडौँमा जन्मिएका थापाले नेपालगञ्‍जमा पहिलो पटक कम्प्युटर मात्र भित्र्याएनन् कम्प्युटर शिक्षाको सुरुवातसमेत गरे। उनको अगुवाईमा नेपालगञ्‍जमा कम्प्युटर साइन्सको अध्ययन सुरुवात भएको थियो। सुरुवाती अवस्थामा उनले कक्षा ११ र १२ का विद्यार्थीलाई कम्प्युटर साइन्स पढाए। शिक्षकले जाँचेका कपी उनले पुनः चेक गरेर मात्र नम्बर दिन्थे। त्यसैले त पश्चिम नेपालमा इन्फरमेशन टेक्नोलोजी भित्र्याउने श्रेय उनले पाएका छन्। ‘ए पाउनेलाई बी र बी पाउनेलाई शिक्षकले ए ग्रेड दिएको फेला पारेपछि मैले पुनः कपी चेक गरेर नम्बर दिने गर्थेँ,’ उनले भने।

उनले नेपालगञ्‍जमा रहँदा ०४२–०५५ सालसम्म काठको व्‍यापार गरे। ‘अप्रेशन किलोशेरा टु’ चलेपछि काठको व्‍यापारमा सुरक्षा देखेनन्। र, लामो अनुभव बटुलेको व्‍यवसाय छोडेर कम्प्युटर शिक्षा एवं इन्फरमेशन टेक्नोलोजीसम्बन्धी व्‍यवसायमा हात हाले। तर, त्यतिबेला कम्प्युटरको व्‍यवसाय गर्न सजिलो थिएन।

पसल राखेर व्‍यवसाय सञ्‍चालन गर्ने अवस्था पनि थिएन। साबिक मध्य र सुदूरपश्चिम क्षेत्रमा कम्प्युटरको ज्ञान भएका व्‍यक्ति औँलामा गन्न सकिने मात्र थिए। ‘त्यतिबेला एउटा कम्प्युटर बिक्री गर्नु भनेको सगरमाथा चढेजस्तै कठिन थियो,’ उनले भने।

व्‍यवसाय सञ्‍चालन गर्नुअघि उनले नेपालगञ्‍जका क्याम्पस एवम् विद्यालयमा पढाउने प्रोफेसर र शिक्षकलाई कम्प्युटरको महत्व बुझाए। बल्लतल्ल २० जनालाई कन्भिन्स गरेपछि उनले प्रतिमहिना एक जनाको लागि कम्प्युटर किन्ने योजना बनाए। आलोपालो कम्प्युटर खरिदका लागि प्रतिव्‍यक्ति दुई हजार पाँचसय रुपैयाँ उठाएको उनले विगत सम्झिए।

त्यतिबेला कम्प्युटर किनेका छोराछोरी अहिले उच्च पदमा पुगेका छन्। कतिपयका छोराछोरी विदेशमै बस्ने गरेका छन्। त्यतिबेला कम्प्युटर किन्नेहरूसँग विरलै भेट हुने गरेको बताउँदै थापाले भने, ‘तिमीले दिएको कम्प्युटरको डिब्बा अहिले पनि घरमा छ भन्दा खुसी लाग्छ।’

जागिरभन्दा व्यापार रोजे

संजय थापाको परिवार व्‍यापारी नभएकोले उनलाई सुरुमा व्‍यापार गर्न साह्रै कठिन भयो। बाबु नेपाल प्रहरी र बाजे भारत सरकारको सुवेदार भएकोले उनको परिवारले उनलाई व्‍यवसायमा लाग्न प्रेरित गर्ने कुरा भएन। तर, उनले जागिरेभन्दा व्‍यापार रोजे। काठको व्‍यापार गर्ने क्रममा सिकेका सीपलाई इन्फरमेशन टेक्नोलोजीको विजनेशमा प्रयोग गरे। ‘व्‍यवसायलाई एउटा गन्तव्‍यमा पुर्‍याउ पर्छ भन्ने एकमात्र उद्देश्य थियो,’ उनले भने।

उत्कृष्ट करदाताको रूपमा सम्मानित

साथीभाइसँग मिलेर कम्प्युटर किन्दै बिक्री गर्दै व्‍यवसाय सुरु गरेका थापा उत्कृष्ट कर दाताको रुपमा सम्मानित भएका छन्। उनले नियमित रुपमा सरकारलाई कर तिरेको कदर गर्दै राज्यले उनलाई उत्कृष्ट कर दाताको रुपमा सम्मान गरेको हो।

राज्यलाई नियमितरूपमा कर तिरेर सम्मानित भएकोमा उनलाई इमानदारीसाथ काम गरे कामको सम्मान हुने प्रमाणित भएको उनले बताए। ‘सोर्सफोर्सको आधारमा मैले राज्यबाट उत्कृष्ट करदाताको सम्मान पाएको होइन। इमानदारीसाथ राज्यलाई कर तिरेको फल पाएको हुँ,’ उनले भने।

भारतबाट आयात हुने आइटीका सामान रोके

सूचना र प्रविधि भित्र्याउने भूमिकामा उनी सीमित भएनन्। उनले भारतबाट आउने इन्फरमेशन टेक्नोलोजीका सामान भित्रिने क्रमलाई पनि रोक्न सफल भए। उनले भारतबाट आउने इलेक्ट्रोनिक्स र आइटीसम्बन्धी सामान भित्रिन नदिन तस्कर र व्‍यापारीलाई धम्कीसमेत दिए।

सरकारलाई सचेत गराए र भारतबाट साबिक मध्य र सुदूरपश्चिम क्षेत्रमा भित्रिने आइटीका सामान भित्रिने क्रमलाई पूर्ण रुपमा रोक्न सफल भए। ‘पूर्वका जिल्लामा अहिले पनि भारतबाट आइटीका सामान आउने क्रम जारी छ, तर नेपालगञ्‍ज नाकाबाट आउने क्रमलाई पूर्ण रुपमा बन्द गराउन सफल भएको छु,’ उनले भने।

आधिकारिक बिक्रेता

कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान) बाँकेका संस्थापकसमेत रहेका थापाले काठमाडौंका व्‍यापारीलाई भ्यालीबाहिर पनि व्‍यापार व्‍यवसाय हुन्छ भन्ने जानकारी दिने पहिलो व्‍यक्ति हुन्। व्‍यापारको शिलशिलामा उनी कम्प्युटरको आधिकारिक विक्रेताका लागि काठमाडौँ गए।

उनले काठमाडौँका व्‍यापारीलाई आधिकारिक बिक्रेताका लागि आएको आफ्नो कुरा सुनाए। तर, ती व्‍यापारीले उनीमाथि विश्वास नगरेर शैक्षिक प्रमाणपत्र मागे। ‘भ्यालीबाहिर व्‍यापार हुन्न भन्ने लागेर काठमाडौँका व्‍यापारीले मसँग शैक्षिक प्रमााणपत्र मागेको भन्ने पछि मात्र थाहा पाएँ,’ उनले भने।

क्यान बाँकेको संस्थापक

एउटा कम्प्युटर बिक्री गर्दा सगरमाथा चढेको जस्तो महसुस गरेका सञ्‍जय थापाले क्यान बाँकेको संस्थापक सदस्य, उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य भई एक कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्।

उनी नेपालगञ्‍ज उद्योग वाणिज्य संघको प्रवक्ता भई कार्य सम्पादन गरिसकेका छन्। राजनीतिमा चासो राखे पनि व्‍यापारमै बढ्दा चासो छ उनमा। ‘राजनीतिक चेतनासँगै हरेक नागरिकलाई चासो हुनु स्वाभाविक हो, राजनीतिमा चासो छ, तर राजनीतिमा लाग्ने मेरो चाहना छैन,’ उनले भने। उनले राजनीतिका लागि व्‍यवसाय आवश्यक भएको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.