|

मोरङ : स्थानीय तह पुनर्संचना आयोगको प्रतिवेदन सच्याउन माग भैरहेका बेला मोरङको रंगेलीका स्थानीयले रंगेली नटुक्र्याउन माग गरेका छन्। सोमबार जिल्ला विकास समिति मोरङमा क्षेत्र नम्बर ४ का सांसद शिवकुमार मण्डलको नेतृत्वमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले रंगेली नगरपालिकाको तीन वटा वडालाई सुनवर्सी नगरपालिकामा मिसाएको विरोधमा ज्ञापन पत्र बुझाएको छ।

स्थानीयको सहमति विपरित जिल्लास्थित आयोगको प्राविधिक समितिले रंगेली नगरपालिकाको तीन वडा विभाजन गरेर सुनवर्सी नगरपालिकामा मिलाएको सांसद मण्डलले बताए। तत्काल त्यसको विरोध गर्दा सच्याउने प्रतिबद्धता गरेपनि आयोगले अन्तिम प्रतिवेदनमा नसच्याएको पाएपछि विरोध गरेको उनको भनाइ छ।

केही राजनीतिक दलको प्रभावमा परेर वडा विभाजन भएको स्थानीयको आरोप छ। उनीहरुले प्रतिवेदन सच्याउन माग गर्दै आन्दोलन घोषणा गरेका छन्। 
नेकपा माओवादी केन्द्रका स्थानीय नेता तथा क्षेत्र नम्वर ४ का इन्चार्ज दिलिप अग्रवालले चुनाव जित्ने र हार्ने अनुमानका आधारमा स्थानीय जनताको सहमतिलाई तोडमोड गरिएको बताए। त्यसमा केही राजनीतिक दलका अमुक नेताहरु दोषी रहेको उनले बताए। 

दबाबका लागि पुनर्संरचना प्रक्रियामै विरोध जनाइरहेका संयुक्त मधेशी मोर्चा आबद्ध सबै राजनीतिक दलका प्रतिनिधिसहित नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका नेता तथा कार्यकर्ता जिविस पुगेका थिए। एकीकृत रंगेली नगरपालिका संघर्ष समितिका संयोजक शंकरप्रसाद साहले स्थानीय जनमतलाई बेवास्ता गर्दै मधेसीमाथि विभेद गर्ने गरी वडा विभाजन भएकोले सच्याउनुपर्ने बताए। 

कार्यक्रममा संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले रंगेली नगरपालिकालाई कमजोर र कुरुप बनाउने आयोगको कदमको विरोधमा जस्तोसुकै कदम चाल्न तयार हुने बताए। ज्ञापनपत्र बुझ्दै जिविसका योजना अधिकृत डमरुबल्लभ बरालले प्राविधिक रुपमा मिलाउन कठिन भएकोले त्यस्तो सिमांकन गर्नुपरेको बताए। उनले  जनताका गुनासा आयोगमा पठाउने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.