|

डडेल्धुरा : नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत मंगलबारदेखि क्वाटरफाइनलका खेलहरू सुरु भएका छन्। धनगढी रंगशालामा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो चरणमा वाइ पाएर क्वाटरफाइनल पुगेको सुदूरपश्चिम–११ भारतको कञ्चनजंघा फुटबल क्लबलाई ४–२ ले हराउँदै अन्तिम चारमा पुगेको हो। सुदूरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले दुई गोल गरे भने फिलिप तामाङ र दिपेश श्रेष्ठले एक एक गोल गरे। कंचनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले एक÷एक गोल फर्काए।

खेलको १०औं मिनेटमा विक्रमको गोलबाट घरेलु टिमले अग्रता बनायो। उद्धव खत्रीको पासमा विक्रमले डिबक्स भित्रबाट दोस्रो बारमा उत्कृष्ट गोल गरे। १९औं मिनेटमा फिलिपले गोल गर्दै आयोजकको अग्रता २–० को बनाए। कंचनजंघाका गोलरक्षक निगम सिंह अगाडि बढेको अवस्थामा फिलिपले सहजै खाली पोष्टमा गोल गरे।

खेलको २३औं मिनेटमा विक्रमले व्यक्तीगत दोस्रो गोल गर्दा आयोजक सुदूरपश्चिम–११ ३–० ले अघि रह्यो । उनले पुन उद्धबको पासलाई सदुपयोग गरे। २८औं मिनेटमा अभिषेकको पेनाल्टी गोलबाट कंचनजंघाले अग्रता ३–१ मा झार्‍यो।

सुदूरपश्चिमका धनबहादुर थापाले डिबक्स भित्र अमीर लामालाई खराब ट्रयाकल गरेपछि पाएको पेनाल्टीलाई अभिषेकले गोलमा परिणत गरे। खेलको ३९औं मिनेट कंचनजंघाका छिरिङले गोल गर्दा पहिलो हाफ ३–२ को अवस्थामा सकिको थियो। डिबक्स नजिकै आयोजकका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई छिरिङले जाली चुमाए। खेलको ४६औं मिनेटमा दिपेशले गोल गर्दै सुदूरपश्चिमलाई ४–२ को सहज जित दिलाए।

दिपेशले गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा आकर्षक गोल गरे। त्यसपछि दुबै टीमले गोल गर्ने प्रयासहरु गरे पनि सफल हुन सकेनन्। खेलको म्यान अफ दि म्याच आयोजकका जिक्रम चुनिए। उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरे।

अब सुदूरपश्चिम–११ ले फाइनल प्रवेशको लागि विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा बुधबार थ्री स्टार र नव जन जागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ।

फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिनेछ।

सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम–११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.