शक्तिको आडमा उम्किने प्रयास

|

काठमाडौं : एकजना राज्यमन्त्रीका सल्लाहकारलाई प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार किशोरी बलात्कार अभियोगमा पक्राउ परेका हुन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२ वर्षीय अमृतकुमार घलेलाई १४ दिन अघि पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको हो। 

बलात्कार अभियोगमा पक्राउ परेका घलेले शक्तिको आडमा प्रहरीलाई दबाब दिन खोजे पनि उनीमाथि म्याद थप गरेर कारवाही अघि बढाइएको हो। किशोरीलाई घलेले माघ २७ गतेदेखि फागुन १ गतेसम्म फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ। 

'घलेलाई १४ दिनअघि पक्राउ गरेका हौँ। उनीविरुद्ध शरीर बन्धक तथा बलात्कार केसमा अदालतबाट जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ', महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले थाहाखबरसँग भने, 'किशोरीले आफूलाई घलेकै घरको कोठामा बन्धक बनाएर बलात्कार गरेको उजुरी दिइसकेकी छन्। उनको स्वास्थ्य जाँचसहितको प्रक्रिया पूरा गरिसकेका छौं।' 

प्रहरीका अनुसार ती किशोरी काभ्रेको बनेपाबाट काठमाडौं आउन बस पर्खिरहेका बेला घले गाडी लिएर आएका थिए। काठमाडौंबाट बनेपा पुगेका घलेले बाटोमा बस कुरिरहेकी ती किशोरीलाई लिफ्ट दिएर ल्याएपछि घरमै बन्धक बनाएको बताइएको छ। 

किशोरीले प्रहरीमा दिएको उजुरीमा घलेले आफूलाई घरैमा बन्धक बनाएर बलात्कार गरेको जनाएकी छन्। टोखास्थित एक घरमा फ्ल्याट भाडामा लिएर एक्लै बस्दै आएका घलेका परिवार अमेरिकामा रहेको प्रहरीले जनाएको छ। डिएसपी बोगटीका अनुसार घलेले १२ कक्षामा अध्ययनरत ती किशोरीलाई अमेरिका पठाइदिने लोभ देखाएर बलात्कार गरेको खुलेको छ। 

चार दिनसम्म बन्धक बनेकी किशोरीले फागुन १ गते एकजना आफन्तलाई घटनाबारे खबर गरेकी थिइन्। आफूले प्रयोग गर्ने मोबाइलबाट खबर गरेकी उनलाई त्यही आधारमा प्रहरीले पत्ता लगाएर घलेको फ्ल्याबाट निकालेको थियो। 

कानुन के भन्छ?

पीडित नाबालिक भएकाले यसमा सजायको पनि कडा व्यवस्था छ।  फौजदारी मुद्दामा उमेर नपुगेकी किशोरीसँग मञ्जुरी लिएरै यौन सम्पर्क गरिए पनि त्यो अपराध ठहरिन्छ। 

मुलुकी ऐनले १६ वर्षभन्दा कम उमेरकी बालिकालाई मन्जुरी लिई वा नलिई करणी गरेमा अभियुक्तले जबरस्ती गरेको ठहर्छ । ऐनको महल १४ अनुसार १० वर्षभन्दा मुनिका बालिका बलात्कार गर्ने अभियुक्तलाई १० देखि १५ वर्षसम्म,१० वा सोभन्दा माथि उमेर भएकी बालिकालाई बलात्कार गर्नेलाई ६ देखि १० वर्षसम्म, १६ देखि २० वर्ष उमेरकी युवती बलात्कार गर्नेलाई ५ देखि ८ वर्षसम्म र २० वर्षभन्दा बढी उमेरकी महिला बलात्कार गर्नेलाई ५ देखि ७ वर्षसम्म कैद हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.