|

जनकपुरधाम : आंशिक प्राध्यापकको आन्दोलनले जनकपुरस्थित राम स्वरूप राम सागर बहुमुखी (राराब) क्याम्पसमा पठन पाठन प्रभावित बनेको छ।

माघ ८ देखि १३ गतेसम्म पेनडाउन गरेका आंशिक प्राध्यापकले बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। उनीहरू क्याम्पस प्रमुखकै कार्यकक्ष अगाडि धर्नासमेत सुरु गरेका हुन्। त्रिभुवन विश्वविद्यालयको ऐनबमोजिम आफूहरूलाई करारको नियुक्ति नदिएको भन्दै आंशिक प्राध्यापकले आन्दोलन सुरु गरेको जनाइएको छ।

नेपाल आंशिक प्राध्यापक संघ राराब क्याम्पस इकाई समितिका अध्यक्ष इन्द्रदेव यादवले विगत १४ वर्षदेखि कार्यरत आंशिक प्राध्यापकलाई समेत करारको नियुक्ति नदिएकोले आफूहरू आन्दोलित भएको बताए। उनले यसअघिको सरकारको पालामा आन्दोलन भएको सम्झौतासमेत कार्यान्वयण नभएको गुनासो गरेका छन्।

हाल राराब क्याम्पसमा ६४ आंशिक प्राध्यापक छन्। उनीहरू करिब १३/१४ वर्षदेखि आंशिक प्राध्यापकको रूपमा सेवा गरे पनि करारको नियुक्ति पाएका छैन। अहिले ४५ मिनेटको प्रतिघण्टी (कक्षा) लिँदा मात्र ३५० रुपैयाँ पाउँछन्। एउटा आंशिक प्राध्यापकले दैनिक १ देखि ४ वटा कक्षा मात्र लिन पाउँछन्।

ज्यालादारीको रूपमा पढाउँदै आएका आंशिक प्राध्यापकले मासिक मात्र ५ देखि ६ हजार कमाइ हुने गरेको उनीहरूको गुनासो छ। संघका अध्यक्ष यादव भन्छन्, ‘ज्यालादारी रूपमा काम गरेको १४ वर्ष बितिसक्दा पनि त्रिविको ऐनअनुसार करार नियुक्ति नपाउनु विडम्बना हो। पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि बाध्य भएर तालाबन्दी गरी आन्दोलन गर्न बाध्य भएका छौँ।’

यस्तै आंशिक प्राध्यापक शम्भुनारायण साहले ज्यालादारीको रूपमा सेवा दिँदा आफ्नो पेट पाल्न पनि धौधौ परिरहेको गुनासो गरे। ‘महिनाको ५/६ हजार कमाइ हुन्छ। यसले खाना र नास्ता खान पनि पुग्दैन' उनले भने, 'परिवार पाल्नु त टाढाको कुरा हो।’

उनले आफूहरू स्थायी गर्न पनि नभनेको भन्दै त्रिविको ऐनअनुसार आफूहरूलाई करारको नियुक्ति दिनुपर्ने माग मात्र गरेको बताए। उनले आफू १४ वर्षदेखि आंशिक प्राध्यापकको रूपमा रहेर सेवा दिने गरेको भन्दै आज करारमा नियुक्ति भोलि हुन्छ सोचे पनि त्यो सपना हालसम्म पूरा नभएको सुनाए।

प्राध्यापकले करारमा नियुक्ति पाउनुपर्ने माग माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने आंशिक प्राध्यापकले चेतावनी दिएका छन्। उनीहरूको आन्दोलनका कारण पढन आएका विद्यार्थी त्यतिकै फर्केका छन्। तर, प्राध्यापकले भने विद्यार्थी संगठनको समेत आफूहरूको आन्दोलनमा साथ रहेको बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.