समाज

दिलबहादुर रम्तेलकी आमाले भनिन् : छोरालाई नसम्झेको दिन छैन

फागुन १४, २०७६

    गोरखा : आजभन्दा ठ्याक्कै २५ वर्षअघि अर्थात २०५२ सालको फागुन १४ गते बारपाक सुलिकोट गाउँपालिका ८ जराङका १४ वर्षीय दिलबहादुर रम्तेलको तत्कालीन सरकारका सेनाबाट गोली हानेर हत्या भयो। 

    आफ्ना गुरुलाई राजतन्त्रका रक्षकले विद्यालय हातामा आई पक्राउ गर्ने, कुटपिट गर्ने तथा दुःख दिने गरेको भन्दै प्रतिरोधमा उत्रिएपछि रम्तेले शहादत प्राप्त गरेका हुन्। रम्तेलको हत्यापछि झनै चर्किएको जनयुद्ध २०६३ सालमा तत्कालीन सरकार र माओवादी विद्रोहीबीच भएको बृहत् शान्ति सम्झौतापछि विधिवत रूपमा अन्त्य भयो। 

    २०५२ देखि ०६३ सम्म चलेको १० वर्षे जनयुद्धमा देशभर सशस्त्र विद्रोही माओवादी, नेपाल प्रहरी, नेपाली सेना तथा सर्वसाधारण जनता गरी १५ हजार भन्दा बढीको मृत्यु भयो। अनि हजारौँ बेपत्ता भए। गोरखाका रम्तेलसहित १८८ जना मारिए  भने २० जना बेपत्ता भए। 

    तत्कालीन नेकपा माओवादीले रम्तेललाई जनयुद्धका प्रथम सहिद घोषणा गरेको छ। जनयुद्धमा सँगै बन्दुक बोकेर भूमिगत जीवन बिताएका तत्कालीन माओवादीको नेतृत्वमा रहेका नेता-कार्यकर्ताहरू अहिले छुट्टाछुट्टै पार्टीको कमाण्ड सम्हाल्दै जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको २५ औं स्मृति दिवस मनाइरहेका छन्। 

    तत्कालीन माओवादीका अधिकांश नेता-कार्यकर्ताले प्रथम शहिद रम्तेललाई फागुन १४ अर्थात् उनको स्मृति दिवसका दिन मात्रै सम्झिन्छन्। अनि, ‘देशका बिभिन्न ठाउँमा भएका औपचारिक कार्यक्रममा पुगेर चर्काे भाषणसँगै रम्तेलको सम्झनामा बिभिन्न काम गर्ने प्रतिबद्धता गर्छन्।’ त्यसलगत्तै गरेका भाषण र गरेका प्रतिबद्धता सबै बिर्सन्छन्। तर, उनै रम्तेललाई जन्म दिने ७६ वर्षीय सेते अनि ६९ वर्षीया सरिमाया हरेक दिन छोराको सम्झनामा आँखाभरि आँसु पार्दै जीवन बिताइरहन्छिन्। 

    छोराको मृत्युपछि जनयुद्धको नेतृत्व गरिरहेका तत्कालीन नेकपा माओवादीका नेताले रम्तेलकै घरमा पुगेर, ‘अब तपाईको छोराको नाममा तपाईँको घरको छेउमा पार्क (शहीद स्मृति पार्क) बनाउने, सालिक बनाउने, यो डाँडो भत्काएर यहाँ फुटबल खेल्ने ठाउँ बनाउने, यहाँ धेरै मान्छेहरू आउँछन्।

    आउने जाने मान्छे बस्नलाई ठूलो घर बनाउने, तपाईँको घरलाई तारबार गरेर जोगाउने’ भन्दै देखाएको सपना यी जोडिको मष्तिष्कमा ताजै छ।

    ‘छोराको मृत्युपछि घरमै आएर बोल्न नसक्दा पनि हामीलाई क्यामराले खिचेर पार्टीका मान्छेले हामी छम। हामी पाल्छम् भन्नुहुन्थ्यो। तर उहाँहरु संसदमा नपुगुञ्जेल मात्र रहेछ। संसदमा पुगेपछि त हामी जाबो, यस्तो जाबोलाई कसले सम्झिने? उबेला त्यत्रो भनेका मान्छे त्यसपछि फर्केर आएका छैनन्’, रम्तेलकी आमा सरिमाया भनिन्। 

    ‘अहिले त सुन्छु, मेरो छोराको स्मृति (स्मृति पार्क) कहाँ कहाँ डाँडा कटाएर लाने रे। मेरो इच्छा यसै पूरा भएको छैन। उसै भएको छैन। अब पार्टीलाई दुख पोख्ने कुरा पनि केही छैन। के दुख पोख्नु छ र? त्यही पार्टीले मेरो छोराको स्मृति अन्तै पुर्‍याइकाे हो’, सरिमायाले आँखाभरि आँसु पार्दै  भनिन्। 

    पार्टी अनि पार्टीका नेताले उनलाई देखाएका अनेकौँ आशा पूरा नगरे पनि  सरिमायालाई अझै पार्टीको माया लाग्छ। ‘पार्टीकै लागि मेरो छोराले रगत बगायो। मेरो छोराले गर्दा खेरिमा कतिको ज्यान गयो। मेरो छोरो पहिलो भाथ्यो र पो ए। म पनि त्यसैमा लाग्छु। म पनि त्यसैमा लाग्छु भन्दै पछि लागे। जान त अरु पार्टीको आमाको कोख पनि रित्तियो। जहाँ एउटै पार्टी भनेर मिस्सिए। माओवादीलाई हराइदिन्छन् होला जस्तो लाग्छ’, उनी चिन्तित हुँदै भन्छिन्, ‘हुँदै जाँदा माओवादी त हराउँछ होला है? सिध्दिएला? जहाँ एउटै पार्टी भनेर लागे। अब माओवादी सिध्याउनलाई यस्तो गरेका हुन् जस्तो लाग्छ। हुन न नेताले पनि लाइन छाडेका छन्। लोभमा लागेका हुन् कि जस्तो लाग्यो।’ 

    बिगतमा घरमै आएर आश्वासन दिने नेताले अहिले आफूलाई बिर्सिएको भन्दै उनले गुनासो गरिन्।  ‘अब म नेताहरुलाई केही पनि भन्दिन। यो भन्दा पहिला पनि अर्ति त मैले जत्ति पनि दिएको हो। नेता सबै आउँथे यहाँ। आमा, आमा भन्थे। के छ, कसो छ भन्थे। भनुञ्जेल लललल हुन्छ हुन्छ हुन्छ भन्छन्। अहिले कुर्ची ठटाउने ठाउँमा पुगेका छन्। उतै रमाएर बसेका छन्। हामीलाई वास्ता गर्न छोडे’, उनले भनिन्।

    ‘हाम्रो शासन आएपछि जनताका छोराछोरीलाई यहीँ रोजगारी दिन्छम्  भन्थेँ । अहिले खै त  रोजगारी?’,  दिलबहादुरका बुबा रम्तेलले गुनासो गर्दै भने, ‘अहिलेका नेता आफैँआफैँ ठेकदार भएर आफैँआफैँ पैसा कमाउन थाले। प्रचण्डले भने जनताका छोरा खाडीमा गए?’

    जनयुद्धको समयमा नेताले भनेजस्तो विकास नभएको भन्दै सरिमायाले चिन्ता ब्यक्त गर्दै भनिन्, ‘विकास त गरेका छन् नि। तर तीन कडोरमा दुई कडोर आफ्नै खल्तीमा, एक करोड सामाजिक काममा। हाम्रो यहाँ केही भा’ छैन। लोभ चाहिँ देखाउने। तर हाम्रो यहाँचाहिँ लोभ देखाएअनुसार गरेका छैनन्। अरु ठाउँमा गरेका छन् कि त्यो चाहिँ थाहा छैन। नमूना बनाउने हुम् भन्थे। तर केको नमूना, कहाँको नमूना? हामी मरेपछि गर्छन् कि? नेताकै भण्डार  भरिएको छैन। होला, जनतालाई के हुनी ? खाउन् जति खान्छन्। आफ्नै घर बनाउन्। आफ्नै इष्टमित्र बनाउन्। आफैँ बनून्।’

    सरिमायालाई बाँचुञ्जेल छोरामै स्मृति कुरेर बस्ने रहर छ। ‘सँगै जान नसकिने रहेछ। बाँच्नै पर्ने रहेछ। आफ्नो मनलाई आफैले सम्झाएर हिड्छु। हिड्न त तर दिनमा एकपल्ट, दुईपल्ट, तीनपल्ट नसम्झेको दिनै छैन’, उनले आँसु झार्दै भनिन्, ‘कति बाँचिएला र? मेरो परान पनि यहीँ जान्छ। म बाँचुञ्जेल मेरो छोराको स्मृति मै कुरेर बस्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]