जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश सरकारलाई स्थायित्व प्रदान गर्न आवश्यक रहेको बताएका छन्।
जनकपुरमा आयोजित पार्टीको निर्वाचन अभिमुखीकरण बैठकमा बोल्दै अध्यक्ष थापाले स्थानीय र प्रदेश सरकारले नै विकास गर्न सक्ने भएको बताए। 'स्थायित्व प्रदान गर्न आवश्यक छ' उनले भने, '२ वर्षको अवधिमा प्रदेश सरकारले खासै काम गर्न नसके पनि ५ वर्ष सरकार चलाउने दिन पनि आवश्यक छ।'
उनले नेकपाको संघीय सरकारले समेत जनताको भावना अनुसार केही काम गर्न नसकेको बताए। अध्यक्ष थापाले भने, ‘५ वर्षमा जनताको अपेक्षा बमोजिम काम गर्न सकेन भने जनताले आफैँ दलहरूको विकल्प पनि खोज्छन्।’ उनले संघीय सरकार पनि दुई वर्षको अवधिमा कुनै उपलब्धि हासिल नगरेको टिप्पणी गरे।
अध्यक्ष थापाले जनताले दिएको मतको सदुपयोग नेकपा सरकारले गर्न नसकेको समेत बताए। उनले अहिले भ्रष्टाचार मौलाएको र धर्मपरिवर्तन व्यापकता पाएको गुनासो समेत गरे। उनले हिन्दु राष्ट्रका लागि र मधेसी जनताको जायज माग सम्बोधन गर्न संविधान संशोधन समेत गर्न आवश्यक भएको बताए।
चर्चामा रहेको एमसीसी प्रकरणमा अध्यक्ष थापाले केही बुँदा संशोधन गरी जनताको हितका लागि एमसिसी सम्झौता गर्नुपर्ने धारणा समेत राखेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।