|
फाइल तस्बिर

काठमाडौं : शेयर बजारमा  बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ।

शेयर बाजरमा कारोबार रकम अहिलेसम्मकै उच्च ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको भएको छ। १ सय ८० कम्पनीको ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर खरिद बिक्री भएको छ। परिसूचक नेप्से पनि ५०.९३ अंकले बढेर १ हजार ५ सय ९६.१३ अंकमा बन्द भएको छ। सेन्सेटिभ परिसूचक ९.४९ अंकले बढेर ३ सय ३६.०५ को छ।

बुधबार शेयर बजार समान्य रहने आकलन लगानीकर्ताले गरिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीले अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि लगानीकर्ता उत्साहित हुँदा कारोबार रकम बढेको देखिन्छ। जसको कारण शेयरको माग बढ्न गई नेप्सेमा पनि उच्च वृद्धि भएको छ।

अर्थमन्त्री खतिवडा लगानीकर्ताले नरुचाइएका अर्थमन्त्री भएका कारण राष्ट्रिय सभाबाट बाहिरिँदा अर्थमन्त्रीबाट समेत बाहिरिनुपर्ने अवस्था आउने र शेयर बजारप्रति विरोधिका रुपमा चिनिएका व्यक्ति बाहिरिदा बजारलाई फाइदा पुग्ने विश्लेषण लगानीकर्ताहरुको छ। जसका कारण केही दिन देखि बजारको कारोबार रकमसँगै नेप्से परिसूचक बढ्दै आएको छ।

बाजरमा एभरेष्ट बैंक,राष्ट्रिय बीमा कम्पनी र युनिलिभर नेपालको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने कालिका पावर, गुरास लाईफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, शिभिल लघुवित्त र जोशी हाइड्रोपावरको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत कम्पनीका शेयरधनीले ८.२९ प्रतिशतले गुमाएका छन् ।

बजारमा सबै समुहका सूचकहरू बढेका छन्। सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६.१२ प्रतिशतले बढेको छ। बैंकिङ समूह पनि ३.८६ प्रतिशतले बढेको छ। उत्पादन तथा प्रशोधन समूह ४.६३ प्रतिशत, होटल समूह ३.७७, निर्जीवन बीमा समूह ४.१८ प्रतिशतले बढेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सबैभन्दा धेरै २१ करोड ९९लाख ४७ हजार २ सय ५७ रुपैयाँको भएको छ। शिवम् सिमेन्टको साढे १८ करोड रुपैयाँको कारोबार भएको छ । १० करोड भन्दा माथि कारोबार हुने ८ कम्पनी रहेका छन् ।

बजारमा ठूला लगानीकर्ताको प्रवेश हुन थालेपछि कारोबार रकम बढेको र साना लागनीकर्ताले पनि ठुला लगानीकर्ताको पछि लागेको देखिएको छ। त्यस्तै शेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरुले पनि सजिलै कर्जा उपलब्ध गराउन थालेपछि बजारमा कारोबार बढेको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.