प्रवक्ता श्रेष्ठ भन्छन् : निर्णय कार्यान्वयनमा जान्छ

|
फाइल फोटो

काठमाडौं : उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी सचिवालय बैठकले निर्णय गरेपछि सत्तारुढ नेकपा भित्र तीव्र विवाद भएको छ। 

आफूलाई राष्ट्रिय सभामा लानै पर्ने अडानमा रहेका गौतमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा लाने निर्णय गरिएपछि नेकपाको विवाद छताछुल्ल भएको हो। 

बैठकले वामदेवलाई राष्ट्रियसभामा लाने निर्णय गरेसँगै असन्तुष्टि जनाएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भन्दै बुधबारै सचिवालय सदस्यहरुलाई फोनमार्फत जानकारी गराएका थिए। 

ओलीले सचिवालय बैठकको अन्तिममा करिब एक मिनेट बोल्दै आफूलाई पेल्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए। 

पछिल्लो समय नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको पनि साथ पाएका अध्यक्ष दाहालले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने प्रस्ताव सचिवालय स्वीकार गरेको थियो। संविधान संशोधन नभए पनि राष्ट्रियसभामा जान वामदेव तयार भएपछि सचिवालयले यस्तो निर्णय लिएको हो। 

वामदेवलाई लैजान्‍न ः ओली

सचिवालयले वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गरिसकेको अवस्थामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यो निर्णय कार्यान्वयन नगर्ने कुरामा आफू दृढ रहेको सन्देश दिएका छन्। उनले आफूलाई सबै शक्ति लागेर पेलेको भन्दै राष्ट्रियसभामा गौतमलाई नलाने बताएका छन्। 

बालुवाटारमै बसेको सचिवालय बैठकको अन्त्यमा ओलीले यस्तो बताएका हुन्। ‘मलाई घेराबन्दी गर्ने खेल भएको छ। यो कुरा मलाई मान्य हुँदैन’, ओलीले सचिवालय सदस्यहरुलाई फोन गरेर भनेका थिए, ‘म वामदेवलाई राष्ट्रियसभामा पठाउदिनँ।’

निर्णय उल्टिँदैन : प्रवक्ता श्रेष्ठ

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको असन्तुष्टि बाहिरिएका बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय अब कार्यान्वयनमा जाने बताए। 

‘मैले पहिले पनि भनिसकेँ, सचिवालयले सर्वसम्मतरुपमा वामदेव कमरेडलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो’, उनले भने, ‘अब त्यो निर्णय फिर्ता होइन, कार्यान्वयनमा जान्छ। वामदेव कमरेड राष्ट्रियसभामा जानुहुन्छ।’

माधव नेपाल बालुवाटारमा 

प्रधानमन्त्री ओलीले आफूलाई घेराबन्दी गरिएको भनेर बताएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका छन्। उनी करिब ३ घण्टादेखि बालुवाटारमै छन्। 

जहाँ प्रधानमन्त्री ओलीले नेता नेपालसँग सचिवालयको निर्णय र नेकपाको नयाँ विवादबारे परामर्श गरिरहेका छन्। 

दुई वर्षअघि प्रधानमन्त्रीमा निर्वाचित भएयता ओलीले नेता नेपाललाई निरन्तर पेलिरहेका छन्। तर अफ्ठ्यारो परेको अवस्थामा उनै ओलीले नेपालसँग आशा र भरोसा गर्छन्। ओलीले आफ्नो गुटका अन्य नेतालाई नबोलाई नेता नेपाललाई मात्र बालुवाटारमा बोलाएका हुन्। 

उनले आफूलाई घेराबन्दी गर्न खोजेको गुनासो गरेपछि नेता नेपाल बालुवाटार पुगेका हुन्। उनी करिब ३ घण्टादेखि ओलीसँग बालुवाटारमै छलफलमा छन्। 

यसअघि गत शनिबार बसेको सचिवालय बैठकले वामदेवलाई प्रधानमन्त्रीको ढोका खोल्ने गरी संविधान संशोधन गर्ने उपाय खोजीका लागि नेता नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको प्रचारमा आएको थियो। 

तर कार्यदलका दुई सदस्य सुवास नेम्वाङ र खिमलाल देवकोटाले त्यो कार्यदलको औचित्यमाथि प्रश्न उठाउँदै बस्न अस्वीकार गरेका थिए।

त्यसपछि आजै बसेको सचिवालय बैठकले उक्त कार्यदल पनि विधिवत मान्यता पाई नसकेको जानकारी महासचिव विष्णु पौडेलले दिइसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.