प्रहरी : मापदण्ड लत्याउनेमाथि कारबाही हुन्छ, चालक : प्रहरीको दुःख दिने नियत

|

जनकपुरधाम : धनुषामा एम्बुलेन्स चलाउने सामाजिक संघसंस्था कमाउ धन्दामा लागेको पाइएको छ। सेवाको नाममा सरकारबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी संघसंस्थाले कमाउ धन्दा चलाएका हुन्।

गाउँघरमा सेवा दिने भनेर संचालनमा ल्याएको एम्बुलेन्सको जनकपुरस्थित बारहविघा मैदानमा लाइन देखिन्छन्। प्रादेशिक अस्पताल र अन्य सयौँ अस्पताल बारहविघा मैदान वरिपरि छन्। यहाँ दैनिक हजारौँ बिरामी उपचारका लागि आउने गर्छन्। त्यसैले बढीभन्दा बढी भाडा पाउने भनेर गाउँघरका एम्बुलेन्स पनि यहाँ नै राख्ने गरेको छ।

जिल्ला प्रशासन कार्यालयले मापदण्ड पालना नगर्ने एम्बुलेन्सलाई कारबाही गर्नुपर्ने हो। तर, पछिल्लो पटक जनगुनासो बढेपछि मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालयले मापदण्डको पालना नगर्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिएर कारबाही थालेको छ। मंगलबार ट्राफिकले ज. १ च. १७१६ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।

उक्त एम्बुलेन्स मिथिला स्वास्थ्य सहकारी संस्थाको नाममा दर्ता छ। धनुषाको विदेह नगरपालिका-३ मा राखेर सेवा गर्ने नाममा निकालिएको उक्त एम्बुलेन्स जनकपुरमा राख्ने गरेको गुनासोपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। ट्राफिक प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले जहाँबाट सेवा दिने भनिएको छ त्यसको ठीकविपरीत कार्य गरिरहेकाले उक्त एम्बुलेन्स नियन्त्रणमा लिएको बताए।

नियन्त्रणमा लिएका एम्बुलेन्स राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का महासचिव राजिव झाको रहेको नाममा छ। अरूलाई सामाजिक सेवा गर्न सिकाउने र सामाज सेवी भनेर परिचय दिँदै आएका झाकै कतुर्त भने छर्लङ भएको छ। यतिसम्मकी उनले संस्थामार्फत चलाएको उक्त एम्बुलेन्सको 'रिनु'समेत फेल छ। 'रिनु' फेल भएको एक वर्ष बितिसक्दा पनि एम्बुलेन्स चलाउने गरेको ट्राफिक प्रमुख घिमिरेको भनाइ छ।

यस्तै जनकपुरस्थित रामानन्द युवा क्लबको ज. १ च. ६४७ नम्बरको एम्बुलेन्स पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार एम्बुलेन्सको चेचिस र इन्जिन नम्बर कागजातमा मेल नखाएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। ट्राफिक प्रमुख घिमिरेले एम्बुलेन्समाथि छानबिन भइरहेको र नक्कली ठहर भए कानूनबमोजिम कारबाही गर्ने बताए।

‘मापदण्ड लत्याउने सबैलाई कारबाही हुन्छ’

ट्राफिक प्रमुख घिमिरेले पालना गर्नुपर्ने मापदण्ड लत्याउने सबै एम्बुलेन्सलाई कारबाही गर्ने बताए। उनले सेवाको नाममा लुट ठगी गर्ने काम भइरहेको जनगुनासो बढेपछि कारबाही अभियान चलाएको समेत बताए।

‘३० लाख पर्ने गाडी एम्बुलेन्सको नाममा सरकारबाट भन्सार छुट पाएर १० लाखमै खरिद गर्न पाउँछन्’, उनले भने, ‘तर, जनताले सहज सेवा पाउने गरेका छैन। जहाँबाट एम्बुलेन्स चलाउने भनेर निकाल्छ। त्यहाँ नराखी जनकपुरमा राख्ने गरेको पाइएको छ।’ बाहिरको एम्बुलेन्स जनकपुरमा ल्याएर राख्ने जुनसुकैलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ।

एम्बुलेन्सले भाडासमेत बढी लिने गरेको गुनासो आएको ट्राफिक प्रमुख घिमिरे बताउँछन्। ‘भाडाको विषयमा पनि अनुगमन हुन्छ। भाडाको रकम लिए पनि बिरामीलाई बिल दिने गरिएको छैन। अब बिल नदिने एम्बुलेन्समाथि पनि कारबाही गर्छौं’ उनले भने।

आन्दोलन गर्ने चालकको चेतावनी

विदेह नगरपालिकाबाट निकालिएको एम्बुलेन्स जनकपुरमा राखेर चलाउँदा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि चालकहरू आन्दोलनको धम्की दिएका छन्।

एम्बुलेन्स नियन्त्रणमा लिनेबित्तिकै मंगलबार दर्जनौं चालक एम्बुलेन्स ट्राफिक प्रहरी कार्यालय अगाडि थन्काएका थिए। उनीहरूले ट्राफिक प्रमुख घिमिरेसँग छलफलसमेत गरे। ट्राफिक प्रमुख घिमिरेले नियन्त्रणमा लिएको कारण बताएपछि चालकहरू एम्बुलेन्स लिएर फर्केका थिए। तर, उनीहरू एम्बुलेन्स जहाँको भए पनि जनकपुरमा राख्न नदिए आन्दोलन गर्ने चेतावनी दिए।

एम्बुलेन्स चालकहरूले ट्राफिक प्रमुख घिमिरे दुःख दिने नियतले नै मापदण्डको कुरा गरिरहेको आरोप लगाएका छन्। चालक मो. मुस्तफा खानले लामो समयदेखि जनकपुरमा एम्बुलेन्स राखेर बिरामी ओसार्ने काम गरिदै आए पनि अहिले मापदण्डको कुरा गरेर दुःख दिन थालेको बताए। उनले दुःख दिने काम नरोकिए आन्दोलन गर्ने चेतावनी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.