|

पर्सा : ठेकदारमार्फद वीरगन्ज महानगरपालिकाले पटके सवारी व्यवस्थापन शुल्कबापत अत्याधिक रकम असुल्न थालेको भन्दै त्यो शुल्क खारेज गर्न वीरगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ। संघले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै त्यो शुल्क खारेज गर्न माग गरेको हो।

ज्ञापनपत्र मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको बताउँदै अतिरिक्त उठाउँदै आएको कर खारेजीको माग गरिएको वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधवलाल राजपालले बुधबार पर्साका पत्रकारसामु बताए।

वीरगन्ज महानगरपालिकाले पटके सवारी शुल्क असुल्न खटाएको एच एण्ड जे ट्रेडर्सले शर्त बाहिर गई जबरजस्ती शुल्क असुलेकोले कार्वाहीको जोडदार माग गरिएको वीरगन्ज उद्योग वाणिज्य संघको दावी छ।

यो विषयमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीसँग पनि कुरा गर्दा उनीबाट पनि समाधान नभएपछि स्थानीय प्रमुख जिल्ला अधिकारीसम्म पुगेको महासचिव राजपालले बताए।

पटके सवारी करमा ४५ रुपैया २० पैसा लिनुपर्ने तोकिएको सवारीको लागि पनि १७० रुपैयासम्म असुल्न थालेको भन्दै अति भएको महासचिव राजपालको तर्क छ।

महानगरले जिम्मा दिएको एच एण्ड जे ट्रेडर्स वीरगन्ज २१ ले आफूले संकलन गर्नुपर्ने क्षेत्र नाघी अनावश्यक रूपमा सवारी चालक, सह चालकसँग सधैँ झै-झगडा गरी अतिरिक्त शुल्क उठाउँदा उद्योगी व्यवसायीसमेत आर्थिक भारमा परेको संघको दाबी छ।

तराई यातायात व्यवसायी संघ, नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ,  लगायतका संघ संस्थाबाट संघमा महानगरको अतिरिक्त कर शुल्कको सम्बन्धमा विभिन्न गुनासा आएपछि संघ आन्दोलनमा जान परे पनि तयारी रहेको उद्योगी व्यापारीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.