स्वास्थ्य

बैतडीका २७ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदै

फागुन १५, २०७६

    बैतडी : बैतडीमा २७ हजार ४३४ बालबालिकाहरुलाई दादुरा-रुबेला खोप लगाइने भएको छ। दादुरा-रुबेला खोप अभियान अन्तर्गत आगामी चैत १ गतेदेखि चैत १४ गते सम्म ९ महिना भन्दा माथिका र ५ बर्ष मुनिका बालबालिकाहरुलाई सो खोप लगाइने भएको हो।

    दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा-रुबेला खोप अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए। 'जिल्लाका ८४ प्रतिशत बालबालिकाहरुको मात्रै खोपमा पहुँच देखिएकाले दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको हो,' उनले भने, 'बच्चालाई १५ महिना हुँदा दादुरा-रुबेला खोप दोश्रो पटक लगाउनुपर्ने भएपनि त्यो खोप लगाउने बालबालिकाहरुको संख्या कम रहेको छ।'

    बैतडी पूर्ण खोपयुक्त जिल्ला भएकाले बालबालिकाहरुले पाउनुपर्ने खोप पूर्ण रुपमा पाउनुपर्ने हुन्छ। बैतडीलाई २०७२ साल असार ६ गतेका दिन पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो। दादुरा-रुबेला खोप अभियानका लागि दुई सय बढी स्वास्थ्यकर्मी र १ हजार २६० स्वयंसेवक परिचालन गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

    चैत १ देखि ७ गतेसम्म पहिलो चरण र ८ देखि १४ गतेसम्म दोश्रो चरण गरी दुई चरणमा खोप अभियान सञ्चालन हुने जनाइएको छ। पहिलो चरणमा जिल्लाको दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका,सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ।

    दोश्रो चरणमा पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। जिल्लाका ६३० खोपकेन्द्रबाट दादुरा-रुबेला खोप दिइनेछ।

विनोद सिंह विष्ट

विष्ट थाहा खबरका बैतडी समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]