|

कालीकोट : जिल्ला अस्पताल कालीकोटमा बायोग्यास प्लान्टको निर्माण हुने भएको छ। जिल्ला अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन गर्न बायोग्यास प्लान्टको निर्माण गरिने जिल्ला अस्पताल कालीकोटले जनाएको छ।

सुत्केरी गराउँदा निस्कने प्लासेन्टा र अन्य सड्ने फोहरबाट बायोग्यास प्लान्ट जडान गरिने र बायोग्यास प्लान्टमा सालनाल, विभिन्न मानवजन्य अंग, मासुका टुक्राहरू, अन्य सड्ने फोहर सबै प्लान्टभित्र राखिने जिल्ला अस्पतालका प्रमुख अलीले बताए। ‘हामीले अस्पतालबाट निस्कने मानवजन्य फाहोर र सड्ने खालका अन्य फाहोर बायोग्यास प्लान्टमा प्रयोग गर्ने तयारी गरेका छौं ,’ उनले भने,‘अस्पतालको आफ्नै लगानीमा ३ लाख रुपैयाँको लागतको टेन्डर आह्वान समेत गरिसकेका छौं।’

बायोग्यसबाट उत्पादित ग्यास अप्रेशन कक्षमा पानी उमाल्न तथा अन्य उपकरण निर्मलीकरण गर्न प्रयोग गरिने जिल्ला स्वास्थ्य कार्यालय अधिकृत मैजेर मोहमद आलमले बताए। ‘अप्रेशन कक्षमा पानी उमाल्न र निर्मलीकरण गर्ने प्रयोजनका लागि अस्पतालले एलपी ग्यास खर्च गर्दै आएको छ ,’ उनले भने, ‘बायोग्यास प्रयोगबाट ग्यास किन्ने रकम जोगिनेछ भने सड्ने फोहरको दीर्घकालिन व्यवस्थापन पनि हुनेछ ।’

बायोग्यास प्लान्टको प्रयोगपछि फोहोरका कारण दुर्गन्ध फैलिने अवस्थाबाट मुक्ति पाइने अस्पताल विकास समितिका अध्यक्ष दयाराम सिंम्खडाले बताए। ‘बायोग्यास प्रयोगले अस्पतालको फोहोर फैलने दुर्गन्ध निमूल पार्ने छ,’ उनले भने,‘अस्पतालमा प्रयोग हुने अन्य इन्धनको समेत प्रयोग कम हुने रकम बचत समेतको यसले राम्रो काम गर्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.