थाहा संवाद : स्थानीय सरकार

समस्याको भुमरीमा छौँ, सोचेजति काम गर्न सकेनौँ

फागुन १५, २०७६

    सदरमुकाम बागलुङ बजारबाट भौगोलिक दूरीका हिसाबले नजिकै रहेको भए पनि विकासका दृष्टिले जिल्लामै पछि परेको स्थानीय तह हो– ‘बरेङ गाउँपालिका।’ अग्ला पहाड र गहिरा खोँचको समिश्रण रहेको यहाँको भूभागमा सडक, खानेपानी, सिँचाइ जस्ता विकासका पूर्वाधारको कमी छ। नमिलेको भू–भागमा पूर्वाधार निर्माण र विकासका काम सञ्चालनमा कैँयौं कठिनाइ आउने गरेका छन्।

    नेपाल सरकारले ०७३/११/२७ गते राजपत्रमा प्रकाशित गरी नेपालभरी ७४४ स्थानीय तहको गठन गर्दा साबिकका धुल्लुबास्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गरी ५ गाविसलाई समावेश गरी बरेङ गाउँपालिका बनेको हो। बरेङ गाउँपालिकामा जम्मा ५ वडा सडक सञ्‍जालसँग जोडिएका छन्। साबिकका ५ गाविसलाई नै ५ वडा बनाइएको छ। कुल जनसंख्या १४४९२ रहेको यो गाउँपालिका ७५.२८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

    चालु आर्थिक वर्षमा जिल्लाभरमै पहिलोपटक यहीँ गाउँपालिकाको वडा नं ५ सुखौराले आफ्ना योजनाहरूको काम सकेर फरफारक गरेको छ भने अन्य वडाका कामसमेत द्रुत गतिमा भइरहेका छन्। एक मिटर कालोपत्रे सडकसमेत नरहेको यो गाउँपालिकाको आयात र निर्यात दुवैका लागि निर्भर रहने बजार गुल्मीको शान्तिपुर हो। सदरमुकाम र जिल्लाकै अन्य बजारमा बरेङको आउजाउ निकै कम हुन्छ। मगर जातिको बहुल्यता रहेको बरेङमा ब्राहमण, क्षेत्री, थकाली तथा दलित समुदायको बाक्लो उपस्थिति छ। बरेङमा जिल्लाकै प्रसिद्ध साग्दी सत्यवती मन्दिर छ।

    स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित भए। शर्मासहित निर्वाचित जनप्रतिनिधि आएको झण्डै तीन वर्ष पूरा हुने चरणमा छ। बरेङको विकासका लागि भएका काम र आगामी योजनाका विषयमा थाहाखका लागि सहकर्मी तारानाथ आचार्यले अध्यक्ष कृष्णप्रसाद शर्मासँग गरेको कुराकानीको सम्पादित अंश :

    बरेङको विकासका लागि के के गर्दै हुनुहुन्छ?

    बरेङका सर्वसधारणले चाहेको जस्तो विकासका काम अझै गर्न सकिएको छैन। हिजोको जनजीवन निकै कष्टकर थियो, त्योभन्दा फरक महसुस हुनेगरी केही काम भएका छन्। जनस्तरमा चित्त बुझ्नेगरी काम हुन नसकेको भए पनि विकासको आधार बन्ने तरखरमा रहेको छ। काम धेरै भएका छन्।

    सबै काम एकपछि अर्को प्राथमिकतामा रहने र जनताका समस्या पहिलो सकिँदा दोस्रो प्रधान बनिरहने भएकाले भए गरेका कामबाट देखिने नतिजाभन्दा हुँदै गरेका कामहरूमा चासो राख्‍नु जायज नै हुन्छ जस्तो लाग्छ। 

    हामी धेरै समस्याहरूको भुमरीमा छौं। जिल्ला सदरमुकाम र जिल्लाकै अरू स्थानीय तहसँग जोड्ने भरपर्दो सडक सञ्जालसमेत हामीसँग छैन। यो बरेङका आम नागरिकले अनुभूत गरेको मुख्‍य समस्या हो। त्योभित्र पनि अझ बरेङमा गम्भीर र जटिल प्रकृतिका समस्या छन्।

    बरेङवासीला परिवर्तनको अनुभूति हुनेगरी काम गर्न सक्नुभएको छ त?

    मान्छेका आवश्यकताहरू तत्कालीन र दीर्घकालीन हुन्छन्। जनताहरूले दुईखाले समस्या भोगिरहनु भएको छ। पहिलो हो जीवनका न्यूनतम समस्या सम्बोधन गरिदिए हुन्थ्यो भन्ने। दोस्रो हो, जनताका विकास निर्माणको चाहना।

    विकास र निर्माण भन्‍ने कुरा निरन्तर चलिरहने प्रक्रिया हो। सबै मेरै कार्यकालमा पूरा हुन्‍छ भन्‍ने पनि होइन। जनताका एकपछि अर्को समस्या प्रधान बन्दै जाने हुन्छन्। ती समस्या समाधानका लागि प्रयास गरिरहेका छौं। हामी जनतामाझ गएर काम गर्ने गरेका छौं। उहाँहरूले स्तरीकरण गरेकै आधारमा पहिलो, दोस्रो र तेस्रो गर्दै ती समस्या समाधानका लागि काम भइरहेका छन्। जुन कामहरूबाट जनता सन्तुष्ट पनि हुनुहुन्छ।

    बरेङका जनताका मुख्‍य समस्या पहिचान त भए होलान् नि?

    हो यहाँले भनेको जस्तै हामी धेरै समस्याहरूको भूमरीमा छौं। जिल्ला सदरमुकाम र जिल्लाकै अरू स्थानीय तहसँग जोड्ने भरपर्दो सडक सञ्जालसमेत हामीसँग छैन। यो बरेङका आम नागरिकले अनुभूत गरेको मुख्‍य समस्या हो। त्योभित्र पनि अझ बरेङमा गम्भीर र जटिल प्रकृतिका समस्या छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइको समस्या छ। पोषण र चेतनाको समेत समस्या छ। सबै समस्याको पहिचान भएको छ।

    हामीले सबै समस्या क्रमागत रुपमा निधानका विधि खोज्दै छौं। विशेष गरेर अहिले पालिका केन्द्रबाट जिल्ला सदरमुकाम जोड्ने एउटा बाटोलाई स्थायी बाटोका रूपमा विकास गर्दैछौं। केही भू–भाग यो वर्ष कालोपत्रे गर्दैछौं। जुन कुरा सडक सुधारको सुरुवात हुने छ। यो वर्ष पालिका केन्द्रदेखि जैमिनी नगरपालिका जोड्ने सडकलाई चार खण्ड बनाएर दुई खण्ड कालोपत्रे र दुई खण्ड स्तरोन्नति हुनेछ।

    बरेङमा खानेपानीको धेरै नै समस्या, कहिले पुग्‍ला त जनताका घरमा खानेपानी?

    पानीको स्रोत नभएका ठाउँहरूमा लिफ्टिङ गरेर पानी पुर्‍याउने प्रयास गरेका छौं। सौर्य ऊर्जाको प्रयोग गरेर पानी तान्ने काम थालेका छौं। जस्तो वडा नं ५ सुखौराको कुरा गरौं। काठेखोला गाउँपालिकाको तंग्रामदेखि सिग्दी अर्लातुङ र बरेङ बजारको उचाइका बस्तीसम्म पनि अत्यन्तै टाढा वा ठूलो मिहिनेतपछि खानेपानी ल्याएका छौं। सुखौराको लिफ्टिङ आगामी वर्ष पूरा हुनेछ। त्यस्तैगरी, अबको एक वर्षपछि गाउँका सबै समस्याग्रस्‍त क्षेत्रमा खानेपानी पुर्‍याइसक्छौं।

    शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको सुधारका लागि के कस्‍ता प्रयास गर्नु भएको छ?

    स्वास्थ्यको कुरामा पनि केही प्रयास थालेका छौं। हामीकहाँ पाँच स्वास्थ्य चौकी मात्र थिए। जनसंख्याको चाप र भौगोलिक हिसाबले कठिन रहेका क्षेत्रमा तीनवटा स्वास्थ्य इकाइ थपेका छौँ। शिक्षामा पनि त्यस्तै समस्या छ। धेरै ठाउँमा विद्यालय व्यवस्थापन समिति होस् वा नागरिक विद्यालयको पूर्वाधारलाई मात्रै प्राथमिकता दिइरहेको अवस्थामा हामीले धेरै पूर्वाधार निर्माणका काम सकेर अब शैक्षिक गुणस्तर वृद्धिको खोजीमा लागेका छौं। गत दुई वर्षमा शिक्षामा सुधारका लागि धेरै विकास भएको छ। यहाँबाट पलायन भएका प्रतिभा रोक्न र शैक्षिक वातावरण बनाउने प्रयास गरेका छौं।

     त्यस्‍तै कृषि तथा पशुपालनको क्षेत्रमा विगतमा सदरमुकामका कार्यालयहरूले छनोट गरेका किसानले मात्रै सुविधा पाउने अवस्था तोडेर वास्तविक किसानको हातमा पुर्‍याएका छौँ। कृषिमा जुन ठाउँमा जे सम्भावना छ त्यो पकेट क्षेत्रको घोषणा गरेर हामीले लगानी गर्ने र प्रतिफल लिने तरिका अपनाएका छौँ।

    मेरो विचारमा हामीले हिजो धेरै ठूला सपनाहरू पनि बाँडेको छैनौं। हामी सरकारबाट जे जति अनुदान पाउँछौं। त्यो दुरुपयोग नहुनेगरी जनताको बीचमा ल्याउँछौं भनेका थियौं। हिजो गरेका प्रतिबद्धता पनि हामीले पूरा गर्न नसक्ने खालका थिएनन्।

    आलु, अलैँची जस्ता पकेट क्षेत्रको घोषणा गरेका छौं। त्यहाँ उत्पादन भएका वस्तुले बजार पाएका छन्। किसानले राहतको महसुस गरेका छन्। गत वर्षदेखि हाम्रो स्थानीय तह दूधमा आत्मनिर्भर भएर केही दूध बाहिर बजारमा पठाउन थालेका छौं।

    अहिले हाम्रो गाउँबाट उत्पादन भएको केही दूध कुश्मीशेरा बजारमा निर्यात हुन्छ। किसानका विभिन्‍न समस्या छन्। बाटोमै दूध फाट्ने समस्या छ। दुधको लागि चिलिम भ्याटको व्यवस्था मिलाएका छौं।

    किसानले उत्पादन गरेका स्तुको बजार अवस्था कस्तो पाउनु भएको छ?

    हाम्रो गाउँपालिका बुटवल बजारदेखि नजिकै छ। यहाँका किसानले उत्पादन गरेको सामग्रीको मूल्य उत्पादनमै धेरै पर्ने र छिमेकी देश भारतको सीमा रहेको बुटवल बजार हुँदै भित्रिने सामानको मूल्य कम पर्ने भएकाले बजारमा तीव्र प्रतिस्पर्धा छ। उताबाट निकै सस्‍तोमा सामानहरू पाइने हुँदा हाम्रा किसानले उत्पादन मूल्य नै उठाउन नसक्‍ने अवस्था छ। त्यसको व्यवस्थापनको लागि पनि हामी प्रयास गरिरहेका छौं।

    तपाईंको अहिलेसम्मको कार्यकाल कस्तो रह्‍यो र बाँकी समयमा के कस्ता कामको योजना बनाउनु भएको छ?

    मेरो विचारमा हामीले हिजो धेरै ठूला सपनाहरू पनि बाँडेको छैनौं। हामी सरकारबाट जे जति अनुदान पाउँछौं। त्यो दुरुपयोग नहुनेगरी जनताको बीचमा ल्याउँछौं भनेका थियौं। हिजो गरेका प्रतिबद्धता पनि हामीले पूरा गर्न नसक्ने खालका थिएनन्। यो बीचको अवधिमा हामीले प्रतिबद्धता पूरा गरेका छौं।

    बाँकी रहेका र बाँकी अवधिमा पनि हामीले गरेका प्रतिबद्धता पूरा गर्छौं। नागरिकमा तीव्र विकासको चाहना तर हिजोको अवस्थाबाट नयाँ व्यवस्थामा जाँदा विधि र विधानमा चल्नुपर्ने अवस्थामा सोचेका वा नागरिकले चाहेको गतिमा काम नसके पनि धेरै सुधारका काम भएका छन्। नागरिकको चाहना स्वाभाविक हो र हामीले गरेका काममा पनि उहाँहरू स्वभाविक रुपमा सन्तुष्टि छ भन्ने लाग्छ।

    कर्मचारी र जनप्रतिनिधिबीचको तीक्तताले जनताले दुःख पाएको भन्‍ने गुनासो सुनिन्छ नि?

    स्वाभाविक रुपमा नयाँ संरचना बन्दा कर्मचारीको संख्‍या निकै कमी थियो। दरबन्दीमा कर्मचारी नभएर काम नहुने अवस्था बन्‍यो। हामीले नीति बनाउने हो। कार्यान्वयन गर्ने कर्मचारीले नै हो। हामीबीच तीक्तता छैन बरु कर्मचारी नै नभएका कारण समस्या चाहिँ भएको हो। अहिले समायोजन भएर र नयाँ केही साथीहरू आउनुभएको छ। तालिममा हुनुहुन्छ। उहाँहरू आएपछि सबै दरबन्दीमा कर्मचारी पूरा भएपछि सहज सेवा प्रवाहमा शंका छैन।

     विकासको मुख्‍य बाधकमा के पाउनु भयो?

    जिल्लाकै दूरदराज मानिने पालिकाभन्दा हाम्रोमा भएका पूर्वाधारको कमी नै हाम्रा बाधक हुन्। प्राकृतिक बिपत्ति र भौगोलिक अवस्थाले हामीलाई चुनौती दिइरहन्छ तर राजनीतिक रुपमा कुनै बाधा छैन।

तारानाथ आचार्य

 आचार्य थाहा खबरका बाग्लुङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]