|

बुटवल : प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारकर्मीले सूचना सम्प्रेशणको नाममा व्यक्तिगत दृष्टिकोण सम्प्रेषण नगर्न आग्रह गरेका छन्। समाचार सामग्री तयार गर्दा सञ्चारकर्मीले आफ्नो दृष्टीकोणबाट मूक्त भई सूचना मात्रै सम्प्रेषण गर्न उनको आग्रह गरेका हुन्।

सिद्धार्थ पब्लिकेशन प्रालिद्वारा प्रकाशित दैनिक लुम्बिनी पत्रिकाको ३२ औं वार्षिकोत्सवमा बुटवलमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारकर्मीको जिम्वेवारी नागरिकलाई आफ्नो दृष्टीकोण बनाउन सहयोग गर्नुमात्रै भएको बताए।

‘सञ्चारकर्मीले निष्कर्ष निकाल्न हतार गर्छ। निष्कर्ष निकाल्ने काम जनताको हो। दृष्टीकोण बनाउन नागरिकलाई सहयोग गर्ने हो। पत्रकारले आफ्नो दृष्टीकोण प्रस्तुत गर्ने होइन’ उनले भने। मुख्यमन्त्री पोखरेलले आम सञ्चार माध्ययममा यस्तो खालको मान्यता स्थापीत गर्नसमेत आग्रह गरेमा समाचारको स्तर माथि उठ्ने बताएका हुन्।

मुख्यमन्त्री पोखरेलले राज्यप्रतीको विद्रोही चेतले सूचना सम्प्रेशण भएको बताउँदै त्यस्तो चेतले पत्रकारिता गरेर बलियो राज्य निर्माण नहुने बताए। उनले भने, ‘पहिलेको जस्तो विद्रोही चेतले पत्रकारिता गरेर पुग्दैन। राज्य र हामी अलग हौँ भन्ने चेत सचेत तप्कामै छ।’

साथै उनले कार्यक्रममा राज्यलाई कमजोर पार्ने चिन्तनको मात्रै पैरवी गरेर राज्यलाई बलियो बनाउन नसकिने बताउँदै सचेत तप्कामा समेत राज्यलाई आफ्नो ठान्ने चिन्तनको खाँचो रहेको औँल्याए।

मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिको आधार पर्यटनको विकास भएकाले त्यसअघि कृषिको आधुनीकिकरण र औद्योगिकीकरण जरुरी रहेको बताए। प्रदेश ५ का ७० प्रतिशत जनता कृषिमा आवद्ध भए पनि त्यसले प्रयाप्त लाभदिन नसकेको उनको भनाई छ। उनले औद्योगिकीकरणका लागि निजी क्षेत्रलाई लगानी गर्न आग्रहसमेत गरे। 

पर्यटन विकासका लागि लुम्बिनीलाई ‘मिनि ठमेल’का रूपमा विकास गर्नुपर्ने बताए। ‘ठूला होटेल खोल्दैमा पर्यटक आउने होइनन्। होटेल व्यवसायीले ठमेल र लेकसाइडबाट सिक्न जरुरी छ’ उनले भने, ‘लुम्बिनीमा मायादेवी घुम्ने पर्यटक धेरै हुँदैमा आर्थिक विकास हुन सक्दैन। अब लुम्बिनीलाई पनि मिनि ठमेलका रूपमा विकास गर्नु पर्छ।’

उनले ठमेलमा पर्यटकले पाउने सुविधा लुम्बिनीमा हुन सक्यो भने आर्थिक गतिविधि बढ्ने बताए। ‘पर्यटक बढ्ने तर अर्थतन्त्र सुक्ने  हुनु हुँदैन’ उनले भने।

लुम्बिनीको विस्तृत गुरुयोजना कार्यान्वयनमा बाधा पुर्‍याउनेका विरुद्धमा कलम चलाउन सञ्चार माध्ययमलाई आग्रह गरे। विकास विरोधीप्रति मिडियाहरू निर्मम बने मात्रै समृद्धिको लक्ष्यमा पुगिने भन्दै उनले राज्यलाई आक्रमण गर्ने नीति अवलम्बन नगर्न आग्रह गरे।

मुख्यमन्त्री पोखरेलले लुम्बिनीसहितका क्षेत्रको अध्ययन अनुसन्धानका लागि प्रदेश सरकारले अनुसन्धानवृत्ति उपलब्ध गराए पनि अनुसन्धानकर्ता आउन नसकेकोप्रति निराशा व्यक्त गरे। यस क्षेत्रको पर्यटन विकासका लागि अनुसन्धान पहिलो शर्त भएको उनले बताए।

साथै मुख्यमन्त्री पोखरेलले थोरै लगानीमा सञ्चालन गरिएको भएपनि लाङमा सञ्चालन गरिएको प्रदेश एक्पो सफल भएको समेत दावी गरे । उनले प्रदेशमा लगानी भित्र्याउनका लागि बैशाखमा लगानी सम्मेलन गर्न लागिएको समेत जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले ३२औँ वार्षिक उत्सवको अवसरमा दैनिक लुम्बिनीले प्रकाशन गरेको ‘गन्तव्य’ विशेषाङ्कको प्रशंशा गरे। प्रदेशको लुम्बिनी भ्रमण बर्ष र नेपाल भ्रमण बर्ष सफल पार्नमा महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिए।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईले मुलुकको समृद्धि यात्रामा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए। दैनिक लुम्बिनीले पञ्चायकालदेखि गणतन्त्रसम्मको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे।

त्यस्तै, प्रदेशसभा सदस्य रमा अर्यालले जनताको अधिकार र लोकतन्त्रको लागि मिडियाले सशक्तरूपमा कलम चलाउन पर्ने बताइन्। मिडिया बलियो भए मात्रै लोकतन्त्र बलियो हुने उनको भनाई थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.