|

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन्। प्रेस सङ्गठन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए। पत्रकारको प्रश्नमा उनले भने, 'प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिनँ, उहाँले गर्नुहुन्छ। मैले त्यति बुझेको हो।'

'सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नुहुन्छ'

प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो, 'म अहिले त्यतातिर जानै चाहन्न। मलाई विश्वास छ, उहाँले पार्टीको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुने छैन।' आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको दाहालको भनाइ थियो।

अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै उनले ६ महिनासम्म सांसद नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने उल्लेख गरे। संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको शर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो।

उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी पनि दिए। उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित मात्र भएको उनले बताए।

दाहालले भने, 'त्यो नियोजित, भ्रामक र कपोलकल्पित छ। त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु।' प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको बताए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति र नेतासँग भएको भेट सामान्य राजनीतिक प्रक्रिया मात्र भएको उनले टिप्पणी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.