|

पर्सा : आफ्नै १ वर्षीय छोरोका हत्या गरेको अभियोगमा पर्सामा एक आमा पक्राउ परेकी छन्। पर्साको सिर्सिया नदीमा बालक प्रमोद साहको शव फेला परेपछि उनी पक्राउ परेकी हुन्। 

बिहीबारबाट एकै घरका तीन जना बालबालिका हराएको हल्ला चलिरहेको समयमा वीरगन्ज महानगरपालिका १६ सिर्सिया खोलामा त्यसै मध्येका एक वर्षीय बालकको शव फेला परेको हो। दुई जनाको भने अवस्था अझै अज्ञात नै रहेको पर्सा प्रहरीले जनाएको छ। फेला परेको शवलाई भने पोष्ट मार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। 

मृतक बालककी दिदी अनुषा कुमारीले दिएको बयानका आधारमा उनकै आमा उर्मिला देवीमाथि प्रहरीले आशंका गरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। उर्मिला देवीकै चार सन्तान मध्ये पाँच वर्षीय अमरदीप र ३ वर्षीय आसु कुमारीको भने अझै अवस्था अज्ञात रहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए। 

पक्राउ परेकी उर्मिलाको माइती बारा जिल्लाको गढिमाईनजिकै भए पनि उनको घर भने भारतको पूर्वी चम्पारण रतनपुरमा रहेको पर्सा प्रहरीले जनाएको छ। उर्मिलाका श्रीमान वीरगन्ज महानगरपालिका ड्राइपोर्ट नजिक कुनै लेथ कारखानामा काम गर्ने भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ। 

मृतक एक वर्षीय प्रमोद साह पनि उर्मिला देवीकै कान्छो छोरो भएको खुल्दै छ। उर्मिलाकी जेठी छोरी आठ बर्षकी अनुषासँग सोधपुछ गर्दा आमाकै कर्तुत भएको जस्तो देखिन्छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। ठोस जानकारी भने थप अनुसन्धानपछि मात्र दिन सकिने पर्साको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.