१० फर्म छनोट, प्रत्येकलाई तीन किस्तामा १ करोड प्रदान गर्ने

|

हेटौँडा : बागमती प्रदेश सरकारले कृषि क्षेत्रलाई विशेष महत्वका साथ विविध कार्यक्रम अगाडि सारेको छ। विभिन्न अनुदान र साझेदारीमार्फत हुने कार्यक्रम कृषि मन्त्रालय र कृषि विकास निर्देशनालयमार्फत भइरहेको छ।

चालु आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशले अर्को एक महत्वाकांक्षी कार्यक्रम अगाडि सारेको छ। प्रदेशले एकीकृत मोडेल कृषि फार्म विकास तथा विस्तार कार्यक्रम ल्याएको हो। सो कार्यक्रमका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

एकीकृत मोडेल कृषि फार्म विकास तथा विस्तारका लागि प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयले मकवानपुरसहित प्रदेशका १० कृषि फार्म छनोट गरेको छ। निर्देशनालयले प्रस्तावका लागि सूचना आह्वान गर्दा ३६ वटा प्रस्ताव परेको छ। त्यसबाट १७ वटाको स्थलगत अनुगमन गरेर मूल्यांकन गरी चालु आर्थिक वर्षका लागि १० वटा कृषि फार्म छनोट गरेको हो।

मकवानपुरको थाहा नगरपालिका-३ मा रहेको जीके कृषि फार्म प्राइभेट लिमिटेड छनोटमा परेको छ। त्यसैगरी, सिन्धुपाल्चोक र रामेछापको भने २/२ वटा कृषि फार्म छनोटमा परेका हुन्। सिन्धुपाल्चोकको हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टर र बिग एग्रीकल्चर प्रालि छनोटमा परेका छन् भने रामेछापको सप्तभूमी एग्रो एण्ड रिसर्च सेन्टर र एग्रो एण्ड लाइभस्टक नेपाल छनोटमा परेको छ।

नुवाकोटको मध्यपहाडी कृषि फार्म, चितवनको केरुङ्ग सामुदायिक तरकारी कृषि फार्म, सिन्धुलीको सिन्धुली एग्रो कम्पनी प्रालि, धादिङ्गको केवलपुर एग्रो फार्म प्रालि र काभ्रेको गोल्डेन फार्म प्रालि गरी प्रदेशको १३ वटा जिल्ला मध्ये ८ वटा जिल्लाका १० वटा कृषि फार्महरु एकीकृत मोडेल कृषि फार्म विकास तथा विस्तारका लागि छनोट भएको हो।

एकीकृत मोडेल कृषि फार्म हुनको लागि दुई वा दुईभन्दा बढि किसिमको कृषि तथा पशुपालन गरेको हुनुपर्ने छ। जसमा तरकारी खेति, पशुपालन, पुष्प व्यवसाय, फलफुल खेती, च्याउखेती, दलहन बाली, मसला खेती लगायतका व्यवसाय दुईभन्दा बढी गरेको हुनुपर्ने मान्यता रहेको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ। क्षेत्रफल भने पहाडी तथा हिमाली क्षत्रका लागि न्यूनतम ४ सय रोपनी र तराई तथा भित्रि मधेसका लागि २ सय रोपनी जग्गा हुनुपर्ने मापदण्ड रहेको छ। 

प्रदेशले प्रत्येक फार्मलाई तीन किस्ता गरेर १/१ करोड रुपैयाँ बजेट प्रदान गर्ने छ। प्रदेशको कृषि क्षेत्रको सार्वङ्गिण विकास गर्नको लागि एकीकृत मोडेल कृषि फार्म विकास तथा विस्तार कार्यक्रम ल्याएको निर्देशनालयका वरिष्ठ बागवानी विकास अधिकृत राजन चौलागाईंले जानकारी दिए।

यस कार्यक्रमले कृषि उत्पादनहरु वृद्धि हुनुको साथै रोजगारीको अवसर प्राप्त हुँदै युवा विदेशिने समस्या समाधानमा पनि भूमिका खेल्ने अपेक्षा प्रदेश सरकारको रहेको उनले बताए। यस्ता कार्यक्रमले कृषि पर्यटनको पनि विकास हुने अधिकृत चौलागाईंको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.