|

कपिलवस्तु: जिल्लाको एकमात्र चिनी कारखाना कच्चा पदार्थ अभावमा बन्द हुने अवस्थामा पुगेको छ। शिवराज नगरपालिका–१३, जवाभारीस्थित महालक्ष्मी सुगर मिल बन्द हुन लागेको हो।

मिल कपिलवस्तुबाट विस्थापन गरी सर्लाहीमा स्थापना गर्न लागेको व्यवस्थापनले बताएको छ। सर्लाही उखुको पकेट क्षेत्र रहेकाले कच्चा पदार्थको सहज आपूर्ति हुने भन्दै मिल स्थानान्तरण गर्न लागिएको हो। सुख्खाग्रस्त क्षेत्रका कारण जिल्लामा उखुखेती खासै राम्रो नभएको र भारतीय उखुमा भर पर्दा पनि वर्षेनि  घाटा व्यहोर्नुपरेकाले मिल बन्द गर्नुपरेको प्रबन्ध निर्देशक वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए।

मिलको क्रसिङ क्षमता दैनिक २५ हजार क्विन्टल भए पनि भारतीय उखुलाई प्राथमिकता दिँदासमेत क्रसिङ क्षमताजति उखु पुर्‍याउन नसकिएको व्यवस्थापनले जनाएको छ। पर्याप्त मात्रामा कच्चा पदार्थ नहुँदा २१ वर्षको अवधिमा १५ प्रतिशतदेखि ६० प्रतिशत क्षमतामा मिल चलाउन बाध्य भएको व्यवस्थापनले बताएको छ।

मिलको दैनिक क्रसिङ क्षमता २५ हजार क्विन्टल भए पनि क्षमताअनुसारको कच्चा पदार्थ नहुँदा यो वर्ष १२ हजार क्विन्टलमात्र क्रसिङ भएको मिलले जनाएको छ। २७ मंसिरमा सुरु भएको क्रसिङ कच्चा पदार्थ अभावका कारण माघ १० मै बन्द भएको मिलले जनाएको छ। गत वर्ष ११ पुसमा सुरु भई ११ फागुनसम्म क्रसिङ हुँदा ७ लाख १४ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.