‘गएँ है!’ भन्न नपाई छुट्टिनुपर्यो त्यो दिन
बिदाइको हात हल्लाउन पनि पाइएन
न पाइयो एकफेर
शुभयात्राको कामना गर्न तिमीलाई
न दिनै पाइयो
स्मृतिको चिनुस्वरूप
वर्षौं साँची राखेको बुट्टे रुमाल
यसै छुट्यो
अङ्गालो हाल्ने मनको रहर
आँशु पुछिदिँदै निधार चुम्ने रहर
उदासलाग्दो त्यो गोधुलीमा
रोएछ गोलसिमल पनि एकबार!
आज स्मृतिको घाउ बल्झाउँदै
बर्षौंपछि सोच्दैछु–
व्यर्थै भेटेछु तिमीलाई त्यो दिन
कि आँखा दोबाटोमै टिकाएर
छुट्टिनुपर्यो त्यो दिन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।