|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको मेयर कप  टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि दनपा १० बाराकोटले हात पारेको छ। फाइनल भिडन्तमा बाराकोटले दनपा ४ खलंगालाई ३७ रनले स्तब्ध पारेको हो। 

बाराकोटले दिएको १२८ रनको लक्ष्य पन्छाएको खलंगा १८ ओभरमा ९३ रनमा सीमित भयो। जसमा सन्तोष चन्दले २० र सुरज बोहराले १८ रन बनाए पनि हार भने टार्न सकेन। बाराकोटका लागि किसन बुडालले एक्लैले ४ विकेट हात पारे।

शुक्रबार बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा यसअघि पहिला ब्याटिंग गरेको बाराकोटले २० ओभरमा १२७ रनमा समेटियो। उसका लागि प्रेम बुडालले १६ तथा उत्तम चन्दले १४ रनको योगदान गरे। खलंगाका प्रदीप चन्दले ३ तथा मोहित भण्डारीले २ विकेट हात पारे। म्यान अफ द फाइनल बाराकोटका किसन बुडाल भएका नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए।  

उपाधिसँगै बाराकोटले ७५ हजार पुरस्कार प्राप्त गर्यो भने खलंगाले ५० हजारमा चित्त बुझायो। यस्तै म्यान अफ द सिरिज दनपा ११ नागार्जुनका राम चन्द भएका छन्। यसका साथै नागार्जुनकै मदन चन्द बेष्ट बलर चुनिए भने दनपा ४ का सुरज बोहराले बेष्ट ब्याट्सम्यानको उपाधि जिते। 

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापा, नेपाल क्रिकेट संघका क्यानका अध्यक्ष चतुरबहादुर चन्द, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे। 

यस अघि मेयर कपको दोस्रो संस्करणको उपाधि दनपा ५ दशरथचन्दले हात पारेको  थियो भने पहिलो संस्करणको च्याम्पियन दनपा ४ खलंगा भएको थियो।  
प्रजातन्त्र दिवसको उपलक्ष्यमा दशरथचन्द नगरपालिकाको आयोजना तथा नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालनमा भएको हो।

फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा ११ टोली सहभागी रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.