|

काठमाडौं : समता स्कुलका संस्थापक हुन् उत्तम सञ्जेल। उनलाई एक शिक्षासेवीका रूपमा पनि लिइन्छ। सञ्जेलले २१ वर्षदेखि अंग्रेजी माध्यममा नर्सरीदेखि माष्टर डिग्रीसम्म मासिक एक सय रुपैयाँमै शिक्षा दिँदै आएका छन्।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सस्तो र सुलभ दरमा शिक्षा दिने उद्देश्यले २० वर्षअगाडि स्थापना गरेका हुन्। त्यसो त उनी शिक्षाका माध्यमबाट उनलाई नचिन्‍ने सायद कोही नहोला।

आर्थिक कमजोर भएका विद्यार्थीका अभिभावकले झनै उनलाई भगवानसरह मान्दै आएका छन्। उनले देशभर मासिक सय रुपैयाँमै समता स्कुल सञ्चालन गर्दै आएका छन्।

विभिन्‍न विदेशी मुलुकमा समेत समता स्कुल सञ्चालनमा छन्। कुनै समय मुम्बईमा फिल्म हिरो बन्न गएका सञ्जेल अहिले आर्थिक कमजोर भएका विद्यार्थीहरूको हिरो बनेका छन्। उनले समता स्कुल सञ्चालनको सोच कसरी बनाए? अहिले मासिक एक सय रुपैयाँमा स्कुल कसरी चलिरहेको छ? यस विषयमा थाहाकर्मी श्याम राईले गरेको कुराकानीको सम्पादित अंशः

समता स्कुल सञ्चालन सञ्‍चालन गर्ने सोच कसरी आयो?

हाम्रो देशमा दुई खालको शिक्षा छ। एउटा सरकारले दिने शिक्षा र अर्को निजी विद्यालयले दिने शिक्षा।  दुईवटाको समस्याको खाडल चाहिँ के हो भन्दा  प्राइभेट स्कुल महँगो छ।  सरकारी स्कुलको क्वालिटी कम हुँदा जनताले मन पराएनन्। यो सत्य नै हो। जुन यो बीचमा खाडल बन्यो। त्यो खाडलको बीचमा उभिएका हौँ हामी। 

त्यस्तै आर्थिक अवस्था कमजोर भएका कोही बालबालिका पनि  शिक्षाबाट वञ्चित नहोऊन् भन्‍नका लागि समता स्कुल खोलिएको हो। 

अहिले पनि मासिक १०० रुपैयाँमै शिक्षा दिइरहनु भएको छ। बढ्दो महँगीमा विद्यालयको व्यवस्थापनमा यो रकम समय सान्दर्भिक छ त? 

आर्थिकको बलियो सहयोगी भनेकै वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुन्। डा. उपेन्द्र महतोहरूको पनि ठूलो मद्धत छ। जिवा लामिछानेलगायत देशमा धेरै यस्ता मान्छेहरू छन्। जसले हामीलाई आर्थिक सहयोग गरिरहेका छन्। विदेशमा बस्ने नेपालीहरूले पनि मद्धत गरेका छन्, त्यही पैसाबाट अहिलेसम्म स्कुल चलिरहेको छ।


समता स्‍कुलमा कति कक्षासम्मको पढाइ हुन्‍छ? 

यहाँ नर्सरीदेखि मास्‍टर डिग्रीसम्म नै पढाइ हुन्‍छ। बालबालिका, युवायुवतीलगायत सबैले पढ्न पाउँछन्।   
समता स्कुलमा अहिले बिबिएस, बिए र एमबिएस संकायमा पढाइ हुन्‍छ। 

स्कुल फी मासिक १०० रुपैयाँ  मात्रै तोक्नुको खास कारणचाहिँ के होला? 

आर्थिक अवस्था कमजोर भएका अभिभावकहरूले पनि आफ्ना बालबच्‍चालाई पढाउन सकून् भन्‍न उद्देश्‍यले नै स्कुलको फी एकसय रुपैयाँ मात्र तोकिएको हो।

बालबच्‍चालाई गाउँबाट काठमाडौं पढाउन ल्याएका कतिपय अभिभावकले शुल्क बुझाउन नसकेर बीचैमा विद्यालय छोडाउनुपर्ने अवस्थासमेत छ।

जहाँ हामी चाहन्छौँ, यस्तो ठाउँ होस्,शिक्षा अत्यन्तै गुणस्तरीय होस् तर शुल्क असाध्यै न्यून होस्। त्यही सोचले हामीले सय रुपैयाँ मात्रै शुल्क तोकेका हौँ।

त्यस्तै नि:शुल्‍क पढाएको हैन भनेर अभिभावकहरूलाई आत्मा स्वाभिमान गर्ने ठाउँ पनि रहोस् भनेर पनि थोरै शुल्‍क चाहिँ तोकेका हौँ।

अहिले समता स्कुलमा पढ्ने विद्यार्थीहरू कति छन्?

अहिले नेपालमा मात्रै ६५ हजार विद्यार्थीहरू समतामा अध्ययनरत छन्। अहिले ७७ जिल्लामै गरेर ८० वटा समता स्कुल सञ्‍चालनमा छन्। कुनै जिल्लामा दुई–दुई वटा स्कुल छन्। विदेशका बंंगलादेश,श्रीलंका थाइल्याण्ड गरी २० वटा विदेशमा समता स्कुल छन्। त्यहाँ पनि मासिक सय रुपैयाँमै पढाइ हुन्छ। 

खास यो स्कुल कस्ता विद्यार्थीका लागि हो? 

वास्तवमा समता स्कुल आर्थिक विपन्‍न वर्गहरूका लागि खोलिएको हो। अहिले नेता र दलाल मात्रै धनी भए। सबै जनता आर्थिक विपन्‍न भए। त्यसैले यो स्कुल सबैका लागि हो। अहिले मध्यम वर्गकाहरूलाई पनि परिवार चलाउन गाह्रो भएको छ। त्यसैले यो स्कुल अहिले विशेषगरी मध्यम वर्गका लागि हो भन्छु। देश सक्षम र सबल नहुन्जेलसम्म यो स्कुल सबैका लागि हो। 

समतामा पढेका विद्यार्थीलाई के कस्ता अवसर छन्? र यहाँका विद्‍यार्थी कति ठूलो पोस्टसम्म पुगेका छन्? 

समतामा पढ्ने विद्यार्थीहरूले जहाँ पनि राम्रै अवसर पाएकै छन्। उनीहरूलाई विदेशमा पनि राम्रै अवसर छ। यही वर्ष दुईजना विद्यार्थी उच्‍च अध्‍ययनकै लागि स्वीटजरल्यान्ड जाँदै छन्। सुरुमा यहीँ पढेका विद्यार्थी अहिलेसम्म ४५ जना बिबिएस डाक्टर भइसकेका छन्। जसमध्ये २३ जना महिला एमबिएस र बिबिएस डाक्टर भएका छन्।

९५ जना विद्यार्थीहरूले इञ्‍जिनियरिङ सकाएका छन्। युरोप जापानमा पनि धेरै हाम्रा धेरै विद्यार्थी छन्। समतामा पढ्ने धेरैजसो विद्यार्थीहरू राम्रो अंग्रेजी भएकाले स्कलरसिपमा उच्‍च शिक्षाका लागि विदेश पढ्न गएका छन्।  

विद्यार्थीमा पढ्ने वातावरण चाहिँ कस्तो छ? 

यो स्कुल अंग्रेजी माध्यम हो। अंग्रेजी माध्यममै पढाउँछौँ। नृत्य सिकाउँछौँ। समताका विद्यार्थीहरू फुटबलमा च्‍याम्पियन छौँ। समताले राम्रै वातावरणमा गुणस्तरीय शिक्षा दिएकोले यसपालि समता स्कुल बिबिएसको टियुको नेपाल टपर बन्‍न सफल भएको छ। हामीले उनीहरूलाई कहिल्यै आर्थिक अभावकै कारण पढ्न पाइँदैन कि भन्‍ने महसुस हुनै दिएका छैनौँ। 

अलिकति विगततिर पनि फर्कौं, स्कुल खोल्नुभन्दा अगाडि कलाकार बन्‍न मुम्बई जानुभएको थियो हैन? 

सफलताको लोभ मान्छे सबैले गर्छ। केही फरक काम गर्न मान्छेहरू चाहन्छन्। केही चिजहरू फरक होस् भन्‍ने लाग्छ। यो स्कुल खोल्नुभन्दा २१ वर्षपहिले त्यही फरकपनाको खोजीमा म जहिले पनि थिएँ। कहाँ गएर रोकिन्छ भन्‍नेमा समय लाग्यो। मैले जहाँ जेजे काम गरेँ सबै असफल भए। सफलताको नजिकमा पुगेर पनि मैले चाहेका इच्छा पूरा गर्न सकिनँ। बरु मेरा सबै साथीहरू सफल भए। 

सफलताको नजिक पुगेर पनि म सफल हुन सकिनँ। एउटा काम नहुँदैमा जिन्दगी सकिँदैन। एकतिर सफलता नहुँदैमा हामी सकिएका हुदैँनौँ। मान्छेले हरेक कुराको प्रयोग गरिरहेको हुन्छ। यस्तो समय आउँछ कि त्यसले किनारा लगाउँछ। सबै युवाहरुलाई मेरो के अनुरोध छ भने जीवनमा सफलता असफलता हाम्रो हातमा हुँदैन।

हाम्रो हातमा कर्म गर्ने अधिकार  हुन्छ। कर्म राम्रोसँग गरौँ फल पाइन्छ। संघर्ष भनेको अनुभव हो। जसले अनुभवलाई आत्मसाथ गर्न सक्छ। त्यसले सफलतालाई राम्रोसगँ सदुपयोग गर्छ। मिहिनेत गरेर आएका सफलतामा स्थिरता हुन्छ। कसैले दिएको सफलतामा अस्थिरता हुन्छ।   

विद्यार्थीहरूबाट कत्तिको सन्तुष्टि पाउनुभएको छ? 

मेरो कामले विद्यार्थीहरू खुसी हुनु नै मेरो सन्तुष्टि हो। उनीहरूको अनुहारमा उज्यालो देख्दा मलाई आनन्द लाग्छ। यो राष्ट्रिय दायित्व पनि हो। कसै न कसैले काम त थालिदिनुपर्छ। अहिले सय रुपैयाँको स्कुल खोल्दा सेवाभन्दा पनि मेरो दायित्व र कर्तव्‍य जस्तो महशुस गर्छु।  यति काम गर्न पाउँदा म भाग्यमानी पनि सम्झिन्छु।

 

अहिलेसम्म समता स्कुल सञ्चालन गर्दै गर्दा कस्तो चुनौती सामना गर्नुभयो? तत्कालीन माओवादीले स्कुल भत्काइदिएको विषय पनि चर्चामा आएको थियो के भन्‍नुहुन्छ?

अहिले हामीकहाँ करिब १० हजार शिक्षक,शिक्षिका छन्। सबैभन्दा ठूलो चुनौती भनेकै शिक्षकलाई तलब र घर भाडा तिर्न पनि सकिँदैन। अरू दैनिक भइपरी आउने समस्या हो। मेरो ७७ जिल्लाको ८० वटा डेरा छ। हरेक वर्ष डेराको पैसा तिर्नुपर्छ।

अहिलेसम्म चन्दा खोजेरै पालिरहेका छौँ। ठिकै छ हेरौँ अगाडिका दिनहरू राम्रा निक्लिएला कि। पहिला माओवादीहरूको एउटा इन्टेन्सन के थियोभन्दा आफूले पनि केही नगर्ने अरूले लिएकोमा प्रतिशोध लिन चाहने खालका थिए।

त्यो उनीहरूको सिद्धान्त नै थियो। उनीहरू अन्डा नखाने कुखुरा नै खाएर सकाउने खालका थिए। पहिलाको त्यो समयमा अशिक्षाकै कारणले उनीहरूले समता स्कुल भत्काएका हुन्। उनीहरूमा शिक्षा भएको भए त्यस्तो सोच्दैन थिए। शिक्षा भएको भए विद्रोह नै  हुने थिएन। स्कुल भत्काउन सजिलो छ। तर, बनाउन गाह्रो छ। उनीहरुसित मेरो जहिले पनि के विवाद हुन्यो भने भाइ हो धनीलाई गाली नगर धनी बनेर देखाउ भन्नेमा थियो। अहिले उल्टो भएको छ। 

स्कुल सञ्चालन गरेको २१ वर्षपुग्दै गर्दा ८ वर्ष सडकमै सुत्‍न बाध्य भए भन्‍ने कुरा पनि सुनिन्थ्यो?

नेपाल यस्तो स्थितिबाट गुज्रिएका छौँ कि हरेक मिनेटमा नेपाल बन्द हुने ठेगान हुँदैन। कहिले गल्ली बन्द भएको छ। कही चोक बन्द भएका छन्। कही जिल्ला बन्द भएका छन्। अनि कहाँ बस्नेभन्दा बाटोमै सुत्ने। त्यसैले देशको अस्थिरताको सिकार भइयो। कुनै कामलाई लक्षित गरी हिँड्दा  लक्षितसम्म पुग्‍न नपाएपछि बाटोमा सुत्नुको विकल्प भएन। त्यसैले काम भ्याउनको लागि सडकमै भए पनि  सुत्नै पर्‍यो। 

सबैतिर समता स्कुल बाँसैबाँसले बनाउँनुको रहस्य चाहिँ के हो? 

बाँसको खास रहस्य केही छैन। विदेशीले दिएको चिज सदुपयोग गर्नुभन्दा हाम्रो देशमा जे छ त्यही सदुपयोग  गर्नुपर्छ भनेर बाँसको स्कुल बनाएका हौँ। नेपालमा प्रसस्तै बाँसहरु पनि छन्।

समता अस्पताल कर्मचारी मृत्यु प्रकरणले तपाईंलाई धेरै विवादमा उत्पन्न गरायो,यस विषयमा तपाई के भन्नुुहुन्छ? 

समता अस्पतालमा करिब ६० जना कामदार छन्। यसभित्र विमला तामाङ पनि थिइन्। उनी चौथौ श्रीमती रहिछिन्। पहिला काम गर्न कोइलाखानतिर उनी गएका रहेछन्। उनको श्रीमानले  उनलाई झुक्याएर वा अरू केही जुक्ति गरेर श्रीमती बनाई नेपालमा ल्याएका रहेछन्।

उनलाई नेपालमा आएपछि मात्रै अरू पनि श्रीमती रहेको थाहा पाइनँ। त्यो समस्याले गर्दा उनी मानसिक रूपमा तनावमा थिइन् होला। अर्को उनले के फिल गरिन् भन्दा म मरेँ भने मेरो छोरो समताले पढाइदिन्छ। भविष्य राम्रो बन्छ भनेर उनले कुनैबेला सुसाइट गरिछन्। हामीलाई  थाहा भएन। विनासित्तिमा हामीलाई धेरै दु:ख दिए। उनको श्रीमानलाई एउटा ग्रुपले उचालेछन्।

त्यो ग्रुपले नेपाललगायत विदेशमा चन्दा उठाउने गर्ने गरेको पाइयो। पछि उनको श्रीमानलाई चेतना आयो। अन्तत: प्रहरीसँगै हामीकहाँ आएर निवेदन दिए। लास जलाइयो। मृतकको श्रीमानले पनि अरूले मलाई उचालेको स्वीकार गरे। ठूलो गल्ती गरिएछ भनेर उनले माफ पनि मागे। उनले बरु म जे सक्छु अस्पताललाई सहयोग गर्छु भनेपछि अहिले यो विवाद टुंगिएको छ। सबै मिलीसकेका छौँ। 

फेरि शिक्षामै जोडियौँ,अहिले नर्सिङ पनि पढाइ भइरहेको छ कि छैन?, यसको फि भने कति छ? 

अहिले असारबाटै नर्सिङ पढाइ हुनुपर्ने थियो। केही प्रक्रिया नपुर्‍याएकाले सञ्चालन गरिएको छैन। अबको सेसनमा नर्सिङ पढाइ सञ्चालन गछौँ। यसको फी पनि सय रुपैयाँ नै हुन्छ। बिएसी नर्सिङ पढाएको १२ देखि १५ लाखसम्म लिन्छ। हाम्रोमा चार वर्षको ४०देखि ५० हजार लाग्ला। 

सबै जिल्लामा समता स्कुल सञ्चालनमा ल्याएपछि सरकारलाई जिम्मा दिने सोच बनाउनु भएको थियो हैन?
सरकारले समता स्कुल जिम्मा लिएपो दिनु। सरकारले भएका सरकारी स्कुल कसलाई दिऊँ भनेर हिँडिरहेको छ। सरकारले जिम्मा लिए त हुन्थ्यो नि।

सरकारबाट केही सहयोग पाउनुभयो कि भएन?

सरकारले सहयोग गर्दैन। सहयोग गर्नुको साटो सरकारका मान्छेहरूलाई प्राइभेट स्कुलका  साथीहरूले उचालेर दुःख दिन्छन्। मेरो खट्टा तान्‍ने धेरै छन्। तर, म पछि हट्दिनँ। सरकारले दरबार हाइस्कुल जस्ता हरेक जिल्लाको चल्ने स्कुल हामीलाई दिए त्यही नाम राखेर रत्नपार्क वरिपरिमा बस्‍ने,लुगा बेच्‍ने लगायतका पाँचदेखि १० हजार विद्यार्थीलाई शिक्षा दिन्थे। सरकारलाई काम गरेर देखाउँथे। यस विषयमा धेरै लागे। तर, सरकारले  चासो देखाएन।  


 

तपाईं अहिले पनि सामाजिक सेवामा सक्रिया हुनुहुन्छ। अबको तपाईंको योजना के–के छन्? 

यो वर्ष र अर्को वर्षसम्ममा ५० वटा देशमा समता स्कुल खोल्ने मेरो योजना छ। ५० वटा देशमा जुनदिन नेपालमा एसइई सुरु हुन्छ। त्यहाँ पनि एकैपटक सुरुवात गराउने लक्ष्य छ। अबको दिन यस्तो आउने छ, कि नेपालको एसइईको बोर्ड टप ल्याउने समता स्कुलबाट एउटा घानाको हप्सी पनि हुन सक्छ।

नेपालको पनि हुन सक्छ। यसपालि जापानको टोकियोमा समता कलेज खोल्दै छौँ। त्यहाँ जसले पनि पढ्न पाउनेछन्। यो वर्ष नै न्युयोर्क,क्यानडा र अष्ट्रेलियमा कलेज खोल्छौँ। यो कलेज एक सयको होइन। राम्रै पैसा लिएर चलाउँछौँ। त्यहाँको कमाइले यहाँको स्कुल चलाउने योजनामा छौँ। 

निजी स्कुल वा सरकारलाई के सुझाव दिन चाहनुहुन्छ? 

म निजी स्कुललाई आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई २०/२० जना भए पनि पढाइदिनुस् भन्‍न चाहन्छु। ता कि कोही पनि शिक्षाबाट वञ्चित नहोस्। यसबाट सामाजिक सेवा गरेको पनि देखिन्छ। अभिभावकलाई पनि समता स्कुल वा पायक पर्ने स्कुलमा आफ्नो छोराछोरीलाई पढाउनुस्। सरकारसित मेरो हार्दिक अनुरोध छ, मलाई ७५ वटै जिल्लामा देखिने ठाउँको सरकारी स्कुल जिम्मा दिए हुन्थ्यो। म काम गरेर देखाउन चाहन्थे।


अन्तमा केही विषय छुटेका छन् कि? 

देशकोे मेरुदण्ड भनेको शिक्षा हो। शिक्षा विना देश उभिन सक्दैन। जतिसुकै हालत भए पनि बालबच्चालाई अभिभावकले पढाइदिनुस् पढाइभन्दा अरू विकल्‍प छैन। पछि उनीहरू देशका कर्णधार बन्‍नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.