|

डडेल्धुराः नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। धनगढी रंगशालामा शुक्रबार भएको चौथो क्वाटरफाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। प्रतियोगितामा शेर्पासँगै आयोजक सुदूरपश्चिम ११, एपिएफ क्लब, थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन्। 

चौथो क्वाटरफाइनलमा जित हात पार्दै हिमालयन शेर्पा क्लब अन्तिम चारमा पुगेको छ। पहिलो चरणमा वाइ पाएर क्वाटरफाइनल पुगेको हिमालयन शेर्पाले गोर्खा ब्वाइज रुपन्देहीलाई टाइ ब्रेकरमा ५–४ ले पराजित गरेको हो।

निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेलेपछि टाइ ब्रेकरबाट निर्णय लिदै त्यसमा हिमालयन शेर्पा सफल भएको हो। टाइ ब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने। उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाए। त्यही पेनाल्टी बचाऊले शेर्पा अन्तिम चारमा पुग्यो। गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रुपबहादुर लामा र उत्तम गुरुङले गोल गरे। 

शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र विकास राईले गोल गरे। खेलको म्यान अफ द म्याच शेर्पाका टेकेन्द्र थापा भए। उनले नगद १० हजारसहित ट्रफी पाए। 

शनिबार प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब र विभागीय टीम नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै आइतबार दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख एक रुपैयाँ तथा उपविजेतालाई १० लाख एक रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिनेछ। 

प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकमध्येबाट गोलाप्रथाद्वारा एक जनाले १३ हजार पाँच सय मूल्य पर्ने रियलमी मोबाइल पाइरहेका छन् भने एक/एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधासमेत पाइरहेका छन्। वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक वर्षमा तीन महिना निःशुल्क इन्टरनेटकोसमेत सुविधा दिइरहेको छ। 

सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.