|

गोरखा : गोरखा बारपाक सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएर ठेकेदारले तीनबर्षदेखि अलपत्र पारेको भन्दै गोरखामा सांसदकै नेतृत्वमा चक्काजाम गरिएको छ।

शनिबार गोरखा क्षेत्र नं. २ को 'ख' बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीको नेतृत्वमा स्थानीयबासीले तीनघण्टा सडक जाम गरेका सिरानचोक गाउँपालिका ६ का वडा अध्यक्ष नारायण दानीले जानकारी दिए।

‘आज बिहान आठ बजेदेखि ११ बजेसम्म बाह्रकिलो-बारपाक सडक खण्डको नयाँसाँघुमा स्थानीयले सडक जाम गरेका थिए’, वडाध्यक्ष दानीले भने, ‘ठेकेदारले ठेक्का सम्झौता गरेको लामो समयसम्म काम अलपत्र पारेको भन्दै स्थानीयस्तरमा गठित आन्दोलन समितिले शनिबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेका हुन्।’

एक हप्ताभित्रै माग सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी

मध्यपहाडी आयोजनाले सो सडकखण्डको जिम्मा लिए पनि अहिलेसम्म नापजाँच गर्न नआएको र ठेक्का प्रक्रिया सुरु नगरेको स्थानीयबासीको गुनासो छ।

‘एउटा कार्यालयले ठेक्का सम्झौता रद्द गरेको छ, अर्कोले ठेक्का प्रक्रिया सुरु नै गरेको छैन’, आन्दोलन समितिका संयोजक कञ्चनकुमार श्रेष्ठले भने, ‘हिउँदभरि धुलो, बर्खाभरि हिलोले हामी हैरान भइसक्यौं, अब पनि कालोपत्रे नभए बर्खामा गाडी गुड्दै सक्दैन।’ 


प्रदेश सांसद प्रकाशचन्द्र दवाडीको नेतृत्वमा सिरानचोक ६ नयाँसाँघुमा तीनघण्टासम्म गरिएको चक्काजामका सहभागीहरु।

‘सडक कालोपत्रेको प्रक्रिया सुरू नहुञ्जेल हामी चरणबद्ध आन्दोलनमा छौं’, आन्दोलन समिति संयोजक श्रेष्ठले भने, ‘यो हप्ताभित्र प्रक्रिया सुरू नभए आउँदो २५ गते दिनभर चक्काजाम गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए गोरखा-बारपाक सडक नियमित बन्द गर्नेछौं।’ अझै माग सम्बोधन नभए आँबुखैरेनी-गोरखा सडकमा पनि चक्काजाम गर्ने उनले बताए। 

सबै आन्दोलनमा सांसदले साथ दिने

चक्काजामको समापन गर्दै सांसद दवाडीले सबै चरणको आन्दोलनमा आफू सहभागी हुने प्रतिवद्धता जनाएको सिरानचोक गाउँपालिका ६ का वडाअध्यक्ष दानीले बताए।

‘यो खण्डभन्दा अगाडि पनि कालोपत्रे भएको छ, पछाडि पनि कालोपत्रे भएको छ’, उनले भने, ‘यत्ति नौ किलोमिटर मात्र पाँचबर्षदेखि अलपत्र छ, हामीले सिडियो'साबलाई पनि समस्या राखेका थियौं, सिडियोले ताकेता गर्दा पनि सुनुवाइ भएको छैन।’ 

चक्काजामले सर्बसाधरण नागरिकलाई नै सास्ती 

ठेकेदारलाई समयमै काम गर्न दवाव दिने उदेश्यले प्रदेश सांसदकै नेतृत्वमा आन्दोलन समिती बनाएर स्थानीयले चक्काजाम गरेपछि बारपाक, बालुवा, सौरपानी, सिम्जुङ, भच्चेक लगायत ठाउँबाट बाह्रकिलोहुँदै जाने सवारी तीन घण्टासम्म आउजाउ बन्द भएको छ।

जसका कारण उक्त सडकखण्ड हुँदै सदरमुकाम तथा बाह्य जिल्ला जाने यात्रुहरुले झनै सास्ती खेपेका छन्।

सडकको काम जिम्मा लिएर अलपत्र पारेपछि ठेक्का रद्द

२०७३ सालमा दुई बर्षभित्रै कालोपत्रे गर्छु भन्दै नागार्जुन त्रिशुली जेभी कन्स्ट्रक्शनले गोरखास्थित '११ किलो छेवेटार भालुस्वारा बारपाक सडक आयोजना'सँग उक्त सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो।

तर, ठेक्का हात पारेर काम नै नगरेपछि गत साउनमा कार्यालयले ठेक्का रद्द गरेको योजना कार्यालयका इञ्जिनियर राजेश यादवले जानकारी दिए। 

कामको जिम्मा लिएर अलपत्र पारेपछि ठेक्का रद्द गरी अहिले उक्त खण्डको करिब १३ किलोमिटर सडक मध्येपहाडी लोकमार्गमा पर्ने उनले बताए।

दुई बर्षअघि नै सक्नुपर्ने कामको फेरी ठेक्का लगाउने तयारी 

पहिलो पटक ठेक्का हात पारेको नागार्जुन त्रिशुली जेभी कन्स्ट्रक्शनले समयमै काम गरेको भए दुई बर्ष अघि नै उक्त सडक कालोपत्रे भईसक्थ्यो।

तर, ठेकेदारको लापरबाहीका कारण प्रथम पटकको ठेक्का रद्द गरेर पुन: अर्काे ठेक्का लगाउने तयारी गरिएको छ। अहिले उक्त सडक खण्डको जिम्मेवारी पाएको मध्यपहाडी सडक आयोजनाको गोरखास्थित कार्यालयले अब छिट्टै ठेक्का प्रक्रिया सुरू गर्ने जनाएको छ। 

‘सडकको डिपिआर भइसकेको छ, अब केहीदिनभित्र निर्देशनालयले ठेक्काको सूचना निकाल्छ’, मध्यपहाडी सडक आयोजना कार्यालय गोरखाका प्रमुख रमेश दृष्टिले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.