|

गुल्मीः स्थानीय तहहरूले सवारीसाधनको विवरण पठाउन अटेरी गरेका छन्‌। जिल्ला प्रशासन कार्यालय गुल्मीले एक बर्षअघि नै जिल्लाका १२ वटै स्थानीय तहलाई सरकारी सवारी साधनको विवरण पठाउन निर्देशन दिएपनि अहिलेसम्म नपठाएका हुन्।

१२ वटा स्थानीय तहमध्ये मुसिकोट नगरपालिका, गुल्मीदरवार , छत्रकोट, सत्यवती र चन्द्रकोट गाउँपालिकाले सरकारी सवारीसाधनको विवरण नपठाउनु दुःखद भएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ । 

तत्कालीन प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले बिदाको दिनमा सरकारी सवारीसाधन दुरुपयोग भएको भन्ने गुनासो आएपछि २०७५ साल फागुन महिलाको २ गते सवारी साधनको विवरण मागेको थियो। कुन स्थानीय तहमा कति सवारी साधन र कति नम्बर प्लेटका सवारी साधन छन् भन्ने स्पष्ट जानकारी लिनका लागि सवारी साधनको माग गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।

कार्यालय प्रमुखहरुको बैठकमा पनि बारम्बार कुरा उठाउँदा समेत स्थानीय तहहरुले सवारी साधनहरुको विवरण नपठाएको पाण्डेले बताए। जिल्लामा रहेका सरकारी सवारी साधनहरुको संरक्षण गर्नु र कुन स्थानीय तहमा कति सरकारी सवारी साधन छन् भन्ने बारेमा एकीकृत तथ्यांक तयार पार्नका लागि सवारी साधनको विवरण माग गरिएको उनको भनाइ छ।

स्थानीय तहहरु आफैं स्वायत्त भएको भन्ने धारणाले विवरण नपठाएको हुन सक्ने  पाण्डेले बताउँछन्‌। उनले भने, 'अटेर गरेको भन्नेबारेमा आफूले अहिले केही भन्न नसक्ने भन्दै सरकारी सवारीसाधनको विवरण पठाउन बारम्बार गरिएको आग्रहलाई बेवास्ता गरिएको छ।' प्रमुख प्रशासकीय अधिकृतहरुलाई कार्यालय प्रमुखको बैठकमा समेत कुराहरु राखेको र बारम्बार आग्रह गर्दा पनि विवरण पठाउन अटेर गरेको उनले जानकारी दिए।

हालसम्म आफूलाई सवारी साधनको विवरण मागेको कुनै जानकारी नभएको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले दाबी गरे। जानकारी आएको भए तुरुन्तै सवारी साधनको विवरण पठाइने उनले बताए।

गाउँपालिका भन्छ-'विवरण पठायौं,' प्रशासन भन्छ-'आएकै छैन'

चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले आफूले सवारी साधनको विवरण पठाइसकेको बताए। तर, जिल्ला प्रशासन कार्यालय गुल्मीमा चन्द्रकोट गाउँपालिकाले सवारी साधनको विवरण पठाएको तथ्यांकमा छैन ।

ढाँचा मिचेर विवरण पठाउँदै स्थानीय तह

सत्यवती गाउँपालिकाले जिल्ला प्रशासन कार्यलयले पठाएको ढाँचामा सवारी साधनको विवरण पठाएको छैन।

गाउँपालिकाले आफूसँग भएको सवारी साधनको संख्यामात्रै पठाएको र जिल्ला प्रशासन कार्यलय गुल्मीले पठाएको ढाँचा अनुसार नपठाइ सवारी साधनको संख्या मात्रै सिफारिस गरेजस्तै गरी पठाएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादब भण्डारीले तोकिएको ढाँचामा नै विवरण पठाउने जानकारी दिए ।

छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले प्रशासनले पठाएको ढाँचामै चाँडै नै सवारी साधनको विवरण पठाउने बताएका छन्‌।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले आफूले 'मेल' मार्फत सवारीसाधनको विवरण पठाएको दाबी गर्दै कुनै प्राविधिक समस्याका कारण नगएको भए पनि फेरि पठाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.