|

  • रमेश रावल

कालिकोट : जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ४ की ५५ वर्षीया वर्षिया रामलिला बुढा आजभोलि कर्णालीका गाउँ–गाउँमा भेटिन्छिन्। उनको यो कर्णाली यात्राको उद्देश्य घुमफिर भने होइन। यसक्रममा उनले मुगु, जुम्ला र कालिकोटका बेरोजगार महिलाहरुलाई सीपमूलक तालिम दिइरहेकी छन्।

उनले यस्तो सीप १५ वर्षअघि मधेसीमुलकी एक महिलाबाट सिकेकी थिइन्। यही सीप अहिले उनले कर्णालीका गाउँ–गाउँमा पुगेर बाँडिरहेकी हुन्। यसक्रममा उनले तीन जिल्लाका २ सय ४० जना महिलालाई आलुको चिप्स बनाउन सिकाइन्। त्यसमध्ये झण्डै आधाले व्यवसायिक रुपमै यसलाई अंगालेका छन्।

‘मैले कर्णाली अञ्चलका मुगु, जुम्ला र कालिकोटका २ सय ४० जना महिलालाई आलुचिप्स बनाउने उद्यम सिकाएँ,’ उनले भनिन्– ‘त्यसमध्ये आधाले व्यावसायिकरुपमा आलुचिप्सको उत्पादन गर्ने गरेका छन्, आधाजसोले आवश्यकतामा उत्पादन गर्ने गरेका छन् ।’

पहिले-पहिले बजारको अभावमा डोकोमा बोकेर जुम्लाका विभिन्न बजारमा पुगेर बिक्री गर्ने गरेको सुनाउँदै उनले आजभोलि गाउँ–गाउँमा सडक पुगेकाले उत्पादित बस्तु बेच्न समस्या नरहेको सुनाइन्। जुम्लाका चौधबीस, झ्यारी, पुरु, रारा, मानेचौर र पदमारा कालिकोटका फोइमहादेव र राँचुली तथा मुगुका पिना र रुघा गाविस महिलालाई आलु चिप्स बनाउने तालिम दिइसकेको उनको भनाइ छ।

आलु चिप्स हिउँदमा बनाउन सहज हुने उनले जानकारी दिइन् । ‘हिउँदका महिनामा आलु चिप्स बनाउन सजिलो छ ।’ उनी भन्छिन्,–‘गर्मी महिनामा आलु चिप्स बनाउँदा कुहिने डर हुन्छ ।’ यसबाट महिनामा २० देखि ३० हजार रुपैयाँ घरमै बसेर कमाउन सकिने उनको भनाइ छ।

‘आलु सबै गाउँमा पाइन्छ,’ बुढा भन्छिन्, ‘आलुबाट चिप्स बनाउँदा महिनामा २० देखि ३० हजारमासम्म घरमा नै बसेर कमाउन सकिन्छ।’ कर्णालीमा उत्पादन हुने मुख्य बालीका रुपमा आलु रहेको र यसलाई राम्ररी प्रशोधन गरेर कुनै पनि परिकार बनाउने हो भने बजारीकरणमा कुनै समस्या रहेको उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.