|

  • अनिल खत्री-

गुल्मी : अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा गाउँ निकालामा परेका अर्वेनी गाविस–५ का ७८ वर्षीय लालबहादुर सुनार र ४३ वर्षीया सावित्रा न्यौपानेलाई भव्य समारोहकाबीच गाउँमा स्वागत गरिएको छ।

पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई देखेपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला गरेका थिए। अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र सावित्राका भतिज चिन्तामणि न्यौपानेको अगुवाइमा स्थानीयले उनीहरू दुवै जनालाई गाउँ निकाला गरेका थिए।

स्थानीयले भत्काएको घर बनाइदिएपछि जिल्ला प्रसासन कार्यालय, अर्वेनी गाविस कार्यालय, जिल्लाका दलित अगुवा, मानवअधिकारकर्मी सहितको टोलीले उनीहरुलाई बाजागाजाको साथ घर भित्र्याइएको दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य कृष्ण सुनारले बताए। साझा मञ्चले आयोजना गरेको लालबहादुर, सावित्रा पुनर्स्थापना कार्यक्रममा उनीहरुलाई सम्मान गर्नुका साथै घर प्रवेश गराइएको थियो।

गाउँ निकाला आरोपितहरुले भत्काएको घर निर्माण गरिदिएपछि उनीहरुलाई बाजागाजा सहित उनीहरुलाई घर भित्र्याइएको हो। पुनर्थास्थापित हुने जोडीलाई स्वागत गर्दै प्रजिअ कृष्णप्रसाद ढुंगानाले उनीहरुलाई ढुक्कसंग समाजमा जिउने वातावरण प्रदान गर्न स्थानीयहरुलाई आग्रह गरे। गाउँ निकाला गर्ने विरुद्ध पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा सामाजिक अपराध अन्तरगत उजुरी समेत दर्ता भएको थियो।

पीडितका छोरा अनुराम सुनारले गाउँ निकाला गर्ने र घर भत्काउन लगाउने सोही स्थानका करिव ४५ वर्षिय चिन्तामणि न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने विरुद्ध उजुरी दर्ता गरेका थिए। तर ३५ दिन काट्दा समेत आरोपितहरुलाई प्रहरीले गिरफ्तार गर्न सकिराखेको थिएन।

गाउँ निकालाको बिषयलाई लिएर विभिन्न सञ्चार माध्यममा समाचार तथा रिर्पोटहरु प्रकाशन तथा प्रसारण भएपछि दलित आयोगका सदस्य गोविन्द सुनार लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको थियो। जिल्लाका दलित अगुवा र पत्रकार एवं मानव अधिकारकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पुस १८ गते ज्ञापनपत्र समेत पठाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.