|

बोस्टन :  नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आफ्नो मुख्यालय भर्जिनिया, अमेरिकामा समुदायका प्रतिनिधिहरुबीच आफ्नो दोस्रो वार्षिकोत्सब भव्यताका साथ मनाएको छ। 

मार्च १ का दिन ईञ्जा दिवस मनाउदै आएको इन्जाले वाशिंटन डिसी मेट्रो क्षेत्रका सामाजिक सस्थाका प्रतिनिधिहरुलगायतका समुदायका व्यक्तित्वहरुको आतिथ्यमा रात्रि भोजसहितको पारिवारीक शुभकामना आदान प्रदानको भब्य कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै ईञ्जाका संरक्षक राम चन्द्र खरेलले छोटो समयमा ईञ्जालाई विश्वाश र भरोसा गरी अन्तराष्ट्रिय जगतमा परिचित गराउने सबैलाई धन्यबाद दिदै सस्थाले अबलम्वन गरेका नीति अनुरुपका गतिबिधिहरुलाई अगाडि बढाउन थप प्रेरणा मिलेको बताए।  

कार्यक्रममा यस वर्षको ईञ्जा श्रष्टा सम्मान पुरस्कार तथा ईञ्जा सामुदायिक पत्रकारीता पुरस्कारका लागि आर्थिक सहयोग प्रदान गर्ने वरिष्ठ गीतकार तथा साहित्यकार अम्बिका गुरुङ्ग तथा सुनिता खत्रीलाई वरिष्ठ पत्रकार तथा ईञ्जाका संरक्षकद्वय राम चन्द्र खरेल र योगेश उपाध्यायले सम्मान गरे।

ईञ्जाको अभियानमा आफुहरु सामेल हुन पाउदा र सहयोग गर्न पाउदा  खुशी लागेको बताउदै बरिष्ठ गीतकार तथा साहित्यकार अम्बिका गुरुङ्गले सन् २०२१ का लागि समेत १ हजार राशीको ईञ्जा श्रष्टा सम्मान पुरस्कारको सहयोगलाई निरन्तरता दिने घोषणा गरिन्। 

यसै गरी ग्रामिण पत्रकारहरुको अवस्था र उनीहरुको पिडामा आफु जानकाररहेको बताउदै समाजसेवी सुनिता खत्रीले असल र कर्मठ पत्रकारहरुलाई प्रोत्साहन गर्न  सन् २०२१ का लागी १ हजार राशीको  ईञ्जा सामुदायिक पत्रकारिता पुरस्कारलाई आफुले निरन्तरता दिने घोषणा गरिन्। 

काठमाडौंमा आयोजित ईञ्जा डे का दिन यस वर्षको ईञ्जा श्रष्टा सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा नेपाली झर्रोबादीका अगुवा चूडामणि रेग्मी (चुमरे) लाई प्रदान गरिएको थियो भने ईञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई प्रदान गरिएको थियो। 

यसैगरी ईञ्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले ईञ्जाले पत्रकारहरुको हितका लागि नीतिगत सहमति बनाएको र उपचार गर्न नपाएर कुनै पनि पत्रकारहरु मर्न नपरोस भन्ने अभियानलाई बिश्वब्यापी रुपमा व्यापकता दिएको बताउदै क्यान्सर पिडित पत्रकार कमल पौडेलको स्वास्थ उपचारमा सहयोग पुर्याउन ईञ्जा, डिसि नेपाल डट कम र इनेप्लिज डटकोसंयुक्त आयोजनामा संकलन गरिएको १४ लाख ११ हजार २ सय ४४  रुपैयाँ पत्रकार पौडेलको परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराए। 

वरिष्ठ पत्रकार तथा ईञ्जाका संरक्षक योगेश उपाध्यायले ईञ्जाका गतिबिधिहरुबाट आफु सन्तुष्ट भएको र कमि कमजोरीहरु सुधार्दै ईञ्जा अगाडि बढनु पर्ने धारणा राख्दै ईञ्जा दिवसमा उपस्थित समुदायका अगुवा तथा पाउनाहरुलाई धन्यवाद ज्ञापन गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.