|

  •  नमीन ढकाल

इलाम : सवारी साधन पार्किङ गर्ने व्यवस्थित पार्किङ्गस्थल नहुँदा इलामको ट्राफिक  व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ। प्राकृतिक सुन्दरताले हरेक नेपालीको मन लोभ्याउने इलाममा  पार्किङ्गस्थलको अभाव भएपछि धेरैले सास्ती पाएका छन्। इलाम आउनेहरु जथाभावी सवारीसाधन पार्किङ्ग गर्न बाध्य छन्।

सदरमुकाम इलाम बजार लगायत सुर्योदय नगरपालिका, मंगलबारे, बिब्ल्याँटे, पशुपतिनगर,कन्याम, कुटीडाँडा लगायतका क्षेत्रमा पार्किङ्गस्थलको अभाव छ। पार्किङ अभावका कारण घरायसी तथा व्यापारीक  प्रयोजनका लागी सामान खरिद गर्न आउने सर्वसाधारणले सडक छेउमै पार्किङ गर्ने गरेका छन्। सवारी व्यवस्थापनका लागि इलाम चोकबजारदेखि टुडिँखेलसम्मको क्षेत्रमा बाटाको एकतर्फी मोटरसाइकल पार्किङ गर्न ट्राफिक प्रहरी कार्यालयले नै निर्देशन जारी गरेको छ।

ट्राफिक प्रहरी प्रमुख पदम राई भन्छन्,‘सडक छेउमा पार्किङ गर्न नहुने हो तर इलाममा व्यवस्थित पार्किङ स्थल नभएपछि सडक आसपासकै क्षेत्रलाई मोटरसाइकल पार्किङ स्थलको रुपमा तोक्न बाध्य छौ। तै पनि सवारी अत्याधिक चापका कारण दुवै तर्फ पार्किङ गर्ने गरिएकाले दुर्घटनाको खतरा बढेको छ।’ यसरी सडक छेउमा मोटसाइकल लगायत साना सवारी साधन पार्किङ गर्दा ठुला सवारी साधन ओहोरदोहोरमा समस्या पर्ने गरेको छ।

नगरपालिका क्षेत्रमा ठुला सवारी साधन पार्किङ गर्न लामो दुरीको लागि बसपार्क र छोटो दुरीको लागी चोकबजार छेउमा पार्किङ स्थल बनाइएएको छ। तर यहाँ सबैै सवारी अटाउन सक्ने अवस्था छैन्। सवारी चालक देवेन्द्र बराइलीको भन्छन्,‘सानो पार्किङ स्थल भएकाले गाडी पार्किङ गर्न पाइ‘दैन,बाटो छेउमा राख्दा पनि ट्राफिक प्रहरीले कारबाही गर्ने डर हुन्छ। छिटो छिटो गरेर नआए स्टेन्डमा ठाँउ पाइदैन।’

सोयाङ, नाम्सालिङ लगायत उत्तरी गाविसबाट आउने सवारी साधनलाई व्यवस्थापन गर्न पार्किङस्थल नभएपछि अहिले मालापाथ छेउमा बाटो अवरोध हुने गरी पार्किङ गरिदै आएको छ। नगरपालिकाले पार्किङ शुल्क बापत वार्षिक २० लाख भन्दा बढी आम्दानी गर्ने गरेपनि पार्किङस्थल व्यस्थापनमा चासो नदिएको गुनासो पूर्वेली ट्याक्सी व्यवसायी संघका सोनाम ग्याल्माले गरे।

स्थानीय माधव भट्टराईको गुनासो पनि उस्तै छ। उनी भन्छन्,‘जथाभावी गाडी राख्नाले बाटो सॉघुरो भै गुडिरहेको गाडीले हान्छ कि भन्दै डराएर हिड्नुपर्ने अवस्था छ।’ सानो पार्किङस्थल भएकाले गाडी पार्किङको निहुँमा कहिलेकाँही यातायात व्यवसायीविच हात हालाहालको स्थिति समेत हुने गरेको छ।

बजेट अभावले अत्याधुनिक बसपार्क निर्माणमा ढिलाई 

इलाम सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण सुरू भएको पाँचवर्ष बितिसक्दा पनि अझै निर्माण पुरा हुनसकेको छैन। आव २०६८÷६९ मा नै निर्माण सुरू भए पनि अपेक्षित बजेट नहुँदा काम ढिलो भएको हो। इलाम नगरपालिका– ३ सेरामा निर्माणाधीन बसपार्कको काम पुरा गर्न कुल रु १० करोड लाग्ने अनुमान गरिएको छ। अहिलेसम्म ४ करोड रुपैयाँमात्र बजेट प्राप्त भएको सहरी विकास तथा अवाास डिभिजन कार्यालयले जनाएको छ।

कार्यालयले २ वर्षभित्र कामसक्ने लक्ष्य राखेर काम थालेपछि बजेट अभावका कारण निर्माणमा समस्या आएको जानकारी दियो। ग्रिन बिल्डिङको अवधारणा अनुसार बसपार्क निर्माण हुने कार्यालयले जनाएको छ। घेराबारा गर्नेसहित एप्रोज र इन्ट्रान्स रोडको काम सकिएको बसपार्कको तल्लो तहको काम भइरहेको छ। पानी व्यवस्थित गर्ने काम पनि यससँगै सम्पन्न हुने कार्यालयले जनाएको छ।

बसपार्क निर्माण पुरा भएपछि १८ वटा बस र १२ वटा ट्याक्सी पार्किङ गर्न सकिनेछ। बजारदेखि करिब दुई किलोमिटर टाढा रहेको बसपार्क बजारबासीका लागि अपायक भएको स्थानीयको गुनासो छ। नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङले भन्छन्,‘नगरपालिकाले समग्र भूगोललाई हेर्नुपर्छ, बजार क्षेत्रमा व्यवस्थित बसपार्क बनाउने ठाउँ नभएको र बढ्दो सवारी साधनका कारण पनि यो स्थान नै उपयुक्त हो।’  बजार क्षेत्रमा रहेको हालको बसपार्कलाई ट्याक्सी पार्कको रूपमा प्रयोग गर्ने इलाम नगरपालिकाले जनाएको छ।

सुर्योदय नगरपालिको समस्या पनि उस्तै

पूर्वाधार तयार नगरी नगरपालिका घोषणा गरिएको सुर्योदय नगरपालिकामा पनि समस्या उस्तै छ। मेची राजमार्ग र पशुपतिनगर जाने बाटो छेउमा पर्ने यो नगरपालिकाको सडकखण्डमा सर्वसाधारणले अव्यवस्थित रुपमा सयौं सवारी साधन पार्किङ गरेर राख्छन्। यसरी अव्यवस्थित रुपमा सडकमा पार्किङ गर्दा दुर्घटना बढ्ने गरेको नगरपालिकाका कार्यकारी अधिर्कत राजेन्द भट्टराईले बताए।

उनले नयाँ घोषित नगरपालिका भएकाले आगामी आर्थिक वर्षमा कार्ययोजना बनाइ उपयुक्त स्थानमा पार्किङ व्यवस्थापन गर्ने तयारी भैरहेको जानकारी दिए। 
सुर्योदय नगरपालिकाको ट्राफिक व्यवस्थापनका लागी छिपिटार पेट्रोल पम्प आसपासको क्षेत्रमा संभाव्यता अध्ययन गरिरहेको नगरपालिकाका कर्मचारी हरि गुँरागाईले बताए। अत्याधिक यातायातको चाप रहने मेची राजमार्गमा सवारी पार्किङ गर्दा पैदलयात्री समेत सास्ती भोग्‍न बाध्य छन्। 

पशुपतिनगरमा पनि छैन पार्किङस्थल

भारतसँग सिमा जोडिएको पशुपतिनगर व्यापारीक केन्द्रमा व्यवस्थित पार्किङ्गस्थलको अभाव छ। व्यवस्थित पार्किङ्गस्थल नहुँदा नेपाल मात्र नभएर भारतीय नम्बर प्लेटका सवारीसाधन समेत पशुपतिनगर व्यपारिक केन्द्रको सडकमै पार्किङ्ग हुन्छन्।

नेपालबाट भारतको पर्यटकीय क्षेत्र जाने र भारतीय पर्यटक पशुपतिनगर भ्रमण गर्न आउने हुनाले यस क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न समस्या हुने गरेको छ।
भारतीयहरुले बजारभित्र आएर सडकमै पार्किङ्ग गर्नाले ट्राफिक व्यवस्थापन हुन नसकेको स्थानीय कमल गदालले बताए। गाविसबाट निर्माण गरिएका दूई वटा पार्किङ्गस्थल सानो भएकाले चारमाइल सडक र बागबिरे चोकमा समेत गाडीहरु पाकिङ्ग हुन्छन्। 

पशुपतिनगरमा भारतको सिक्किम, दार्जिलिङ्ग, मिरिक, ग्यान्टोकबाट भारतीय पर्यटक सवारीसाधन लिएर आउने गरेका छन् भने नेपालबाट सबै जिल्लाका पर्यटक पशुपतिनगर र भारतको दार्जिलिङ्ग घुम्न जाने गरेका छन्। पर्यटक मोटरसाइकलमा आउने कतिपयले प्रहरी चौकीमा समेत पाकिङ्ग गर्दै आएका छन्।

भारतीय सवारीसाधन पशुपतिनगर बजारभित्रै आउने र नेपाली सावारीसाधन भारतीय बजारमा जान पाउँदैनन्। भारतीय सवारीसाधन पनि धेरैजसो नेपाली क्षेत्रमै पाकिङ्ग हुदै आएका छन्। गाडि पार्किङ्गस्थल गर्न समस्या रुपमा नभएपनि अन्य स्थान नभएकाले सडकमै पार्किङ्ग गर्दै आएको र यसको समाधानका लागि स्थानीयबासीको सहकार्यमा निश्चित स्थान तोकिएको ट्राफिक प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.